केन्द्रीय संस्करण

इजि ट्याक्सी प्रयोगकर्ताले माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने

person explore access_timeसाउन २९, २०७७ chat_bubble_outline0

काठमाडौं । इजि एस्योरेन्सअन्र्तगतको इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । विद्युतिय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सका प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका छन् । 

सो सम्झौतापछि इजि ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्सले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्झौतापछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । ‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक पौडेलले भने ।

मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई विद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो ।

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्यूआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् । 

पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ । रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नामलगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनैपनि क्यूआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्यूआर कोड अहिले ग्राहकको पहिलो रोजाइमा परेको छ ।  

इजि ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आइरहेको छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.