शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थापागाउँमा प्रचण्डको ब्रिफिङ : बालुवाटारको प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन

बिहीबार, २९ साउन २०७७, २१ : २१
बिहीबार, २९ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग दिउँसो भएको कुराकानीबारे आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् । 
 
काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र  प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए । 

‘अर्का अध्यक्षसँग भएको वार्ताबारे प्रचण्ड कमरेडले जानकारी गराउनुभयो’, ती सदस्यले प्रचण्डको व्रिफिङ उधृत गर्दै भने, ‘महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभयो । त्यसमा यो कार्यकालभर केपी ओली नै प्रधानमन्त्री हुने, पार्टीको कार्यकारिणी अधिकार प्रचण्डले लिने । अहिलेसम्म कमजोरी भएकै हो । त्यसमा आत्मालोचना गर्ने र अब हुने नियुक्तिहरु पार्टीको निर्णयमा मात्रै गर्ने भन्ने प्रस्तावहरु आए । तर ठोस प्रस्ताव आएको छैन ।’


बैठकमा बस्नेसम्मको कुरा आएकाले त्यसलाई सकारात्मक रुपमा आफूले लिएको पनि प्रचण्डले जानकारी गराएका थिए । अन्य प्रस्तावमा भने प्रचण्डले कुनै प्रतिकृया नदिएको जानकारी गराएका थिए । 

स्रोतका अनुसार बिहीबारको ओली प्रचण्ड बैठकमा पनि ओलीले केन्द्रीय समिति र स्थायी समितिभन्दा पनि सचिवालय बैठकबाटै सहमति खोज्न जोड गरेपनि प्रचण्डले जारी स्थायी समिति त्यसै अलपत्र छोड्न नहुने भनेपछि स्थायी समिति बैठकमा ओली बस्न तयार भएका थिए । 


‘उताबाट आएको प्रस्तावमा मैले कुनै जवाफ दिएको छैन । आज पहिलो दिन सुन्ने मात्रै काम भयो’, प्रचण्डले सहभागीहरुलाई बताएका थिए । त्यस्तै हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा बदल्ने भन्ने हल्ला बाहिर आएपनि त्यसबारे प्रस्ताव नआएको प्रचण्डको भनाई छ । 

त्यस्तै ओलीका तर्फबाट पौडेलले गरेको प्रस्तावमा पार्टी एकतालाई अझ मजबुत बनाउँदै अघि बढ्ने पनि उल्लेख गरिएको व्रिफिङका क्रममा प्रचण्डले सुनाएका छन् ।

‘पार्टी एकतालाई अझ बलियो र सम्मृद्ध बनाउने भन्ने कुरा छ । त्यो हामी सबैले भनेकै कुरा हो’, प्रचण्डले भनेका थिए । छलफलमा प्रचण्डसहितका नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव समेत मागेका थिए ।


सहभागी केन्द्रीय सदस्यहरुले विधि विधानको सबैले पालना गर्नुपर्ने भन्दै विधिभन्दा माथि कोही नहुने भएकाले ओलीले पुनः सहमतिका नाममा आफैमाथि पर्ने काम गर्नसक्ने भएकाले सचेत हुन सुझाव दिएका थिए ।

बिहीबार नौ दिनको मौनतापछि ओली प्रचण्डबीच चार घण्टा भेटवार्ता लगत्तै प्रचण्ड थापागाँउ पुगेर त्यसबारे जानकारी गराएका थिए । यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले  गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप