शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपचारको क्रममा बिरामीको मृत्यु, आक्रोशित आफन्तजनद्वारा अस्पताल तोडफोड

बिरामीलाई बचाउन हरसम्भव प्रयास गर्यौँ : अस्पताल
शुक्रबार, ३० साउन २०७७, १३ : १९
शुक्रबार, ३० साउन २०७७

जनकपुर । जनकपुरधामको एक अस्पतालमा चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको घटना नसेलाउँदै फेरि अर्को अस्पतालमा एक बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । निजी अस्पताल नवजीवन हस्पिटलमा एक विरामी महिलाको उपचारको क्रममै मृत्यु भएपछि मृतक पक्षले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका हुन् ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ११ भगवतीपुर बस्ने रुकमिणी सदाको रक्षाबन्धनको दिनदेखि पेट दुःख्ने, वान्ता आउने जस्तो समस्या शुरु भएको थियो । समस्या बढ्दै गएपछि उनलाई आइतबार जनकपुरधाम वडा नम्बर–९ स्थित नवजिवन हस्पिटलमा उपचारका लागि आइतबार लगियो, तर उपचारको क्रममा मृत्यु भएको मृतककी बुहारी शिवसति सदाले बताइन् । ‘अस्पताल भर्ना गराउँदा पेट दुख्ने समस्या थियो,’ शिवसतिले भनिन्– अस्पतालमा भर्ना गरेको ४ दिनसम्म चिकित्सकहरुले सामान्य उपचार गर्यो पछि शल्यक्रिया गर्नुपर्छ भने ।’

चिकित्सकहरुले ६ घण्टा लगाएर शल्यक्रिया गरे, तर पनि बाँच्ने अवस्था नदेखेपछि बिरामीको उपचार सम्भव नरहेको भन्दै बाहिर लग्न सल्लाह दिएको शिवसत्तिले बताइन् । उनले भनिन्, ‘चिकित्सकको सल्लाहपछि हामी गरिब छौँ, कहाँ बाहिर लाने ? फेरि यहाँ शल्यक्रिया भइसकेको छ, बाटोमा केही अप्रीय भइहाल्यो भने के गर्ने ? भने पछि चिकित्सकहरुले ६० हजार रुपैयाँ काउण्टरमा जम्म गर्न भन्यो र पुनः शल्यक्रिया गर्न थाल्यो । तर त्यसको केही घण्टा नबित्दै मेरो सासुको मृत्यु भयो । उनका अनुसार चिकित्सकहरुले उनलाई रुकमिणीको आँत फसेको र भित्रभित्रै सडेको कुरा भनेका थिए, त्यसैले शल्यक्रिया गर्नु परेको थियो ।


शिवसतिले भनिन्, ‘शल्यक्रियापछि सासुको श्वास फुल्न थाल्यो, मैले नर्सलाई बोलाएँ । नर्सले उल्टै हामीलाई हप्कायो । उनले अघि थप्दै भनिन्, ‘पछि सासुले आँखा बन्द गर्न थालेपछि एक जना चिकित्सक आए । त्यसपछि उनी अचेत भइन् । पछि चिकित्सकहरुले मृत्त घोषित गरे ।’ शिवसतिले चिकित्सकहरुले शल्यक्रियापछि अवस्था गम्भीर हुन थालेपछि मात्रै बाहिर लान भनेको भन्दै आक्रोश व्यक्त गरिन् ।

यता नवजीवन हस्पिटलका ईन्चार्ज अखिलेश कुमार साहले बिरामीमा पेट दुख्ने, खाएको खाना नपच्ने, वान्ता हुने, पेट फुुल्ने जस्ता समस्या देखेपछि सर्जन डा. संजय चौधरीको माध्यमबाट उपचार गराएको बताए । डा. चौधरीले यस्ता जटिल बिरामी आफै स्वस्थ भएर जाने समेत सम्भावना रहेको भनेपछि केही दिन औषधी चलाएरै हेरेको उनले बताए । त्यसपछि पनि सुधार नदेखिएपछि बिरामीको आफन्तजनको सहमतिमै शल्यक्रिया गरिएको बताए ।

शल्यक्रिया पछि चिकित्सकहरुले बिरामीको आँत पल्टिएको, गल ब्लडरमा क्यान्सर लागेको जस्तो देखिएको उनले बताए । ‘शल्यक्रिया पछि पनि हामीले बिरामीलाई बचाउने हर सम्भव प्रयास गर्यौँ, तर बिरामीलाई हामी बचाउन सफल भएनौँ,’ उनले भने ।

यसअघि, बिहीबार राति अस्पतालकै लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पतालमा ढुंगामुढा गर्नुका साथै तोडफोडसमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप