शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत सरकारको स्किमले नेपाली व्यवसायीलाई राहत

शनिबार, ३१ साउन २०७७, १५ : ०१
शनिबार, ३१ साउन २०७७

लन्डन । विश्व महामारी कोभिड-१९ बाट व्यापार व्यवसाय नराम्ररी प्रभावित भयो र यसबाट बेलायत पनि अछुतो रहेन । लकडाउनका कारण लामो समय ताला लागेका बेलायतका व्यवसाय अहिले सुचारु भएका 
छन् । 

सरकारले व्यवसायलाई गति दिन विभिन्न आर्थिक राहतका प्याकेज घोषणापछि नेपाली व्यवसाय आशावादी र लाभान्वित पनि बनेका छन् ।   

बेलायत सरकारद्वारा अगष्टभर लागू गरिएको ‘इट आउट टु हेल्प आउट’ स्किमले विशेष गरी नेपाली रेष्टुरेन्ट व्यवसाय लाभान्वित भएका हुन् । यस स्किमअन्तर्गत पहिलो हप्ताभित्र मात्र १ करोड ५ लाख ४० हजार ३ सय ९४ जनाले सरकारी स्किम दावी गरेका बताइएको छ । 

कोरोना भाइरस संक्रमणका कारण करिब ३ महिना लकडाउनपछि सबैभन्दा प्रभावित हस्पिटालिटी क्षेत्रलाई उकास्ने उद्धेश्यले बेलायती अर्थमन्त्री ऋषि सुनाकले अगष्ट महिनाभर प्रत्येक सोमबार, 
मंगलबार र बुधबार पब, क्याफे वा रेष्टुरेन्टभित्र खाएको खाना तथा सफ्ट ड्रिंक्स्को बिलमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका थिए । छुटको रकम प्रति व्यक्ति १० पाउण्डसम्म निर्धारण गरिएको छ । तर खान पाउने नियम भने अनलिमिटेड छ, अर्थात ग्राहकले जतिपटक पनि खान सक्नेछन् । 

सरकारको उक्त स्किममा बेलायतका लाखौं रेस्टुरेन्टहरुले सहभागिता जनाएका छन् । यस स्किममा फाष्टफुड चेन म्याक डोनाल्ड, केएफसी लगायत रेष्टुरेन्ट, पब तथा क्याफे छन् ।

यस किसिमको स्किमबाट नेपाली व्यवसायीहरु पनि लाभान्वित बनेका उनीहरुको भनाइ छ । तर भर्खरैमात्र शुरु गरिएको यस स्किमसँगै बेलायतमा कोरोनाको संक्रमणमा वृद्धि हुन थालेपछि मानिसहरु घरबाहिर गएर खान अझै डराइरहेको स्थिति छ । तर कतिपय रेष्टुरेन्टमा भने मानिसले कोरोनाको पर्वाह गर्न छोडिसके । 

अहिले बेलायतका नेपाली व्यवसाय पनि विस्तारै लयमा फर्किन थालेको व्यवसायीहरु बताउँछन् ।

लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा आवद्ध सरस्वती केसीले विगत ५ वर्षदेखि लन्डन 
ह्यारोमा सारस रेष्टुरेन्ट एण्ड बार सञ्चालन 
गर्दै आएकी छन् । कोरोनाको पीडा एकातिर भएपनि सरकारले दिएको राहत प्याकेज र सहयोगप्रति खुशी नै छिन् सरस्वती । सरकारको नीति अनुरुप हप्ताको तीन दिन सोमबार, मंगलबार र बुधबार ५० प्रतिशत छुट हुँदा व्यवसाय राम्रै चलेको उनले बताइन् ।
 पहिला  वीकेन्डमा हुने व्यापार उक्त तीन दिनमा हुने गरेको केसीले जनाइन् । टेकअवेमा छुटको सुविधा नभएको हुँदा सोमबार, मंगलबार र बुधबार बाहेकका अन्य दिनमा टेकअवे पनि राम्रैसँग चलेको छ उनको रेष्टुरेन्टमा । एक महिनाका लागि लागू गरिएको ‘इट आउट टु हेल्प आउट’ स्किम अझ लामो समयसम्म लागू हुनुपर्ने उनको धारणा छ । स्टाफका लागि सरकारले दिने
तलब (फर्लो स्किम), विभिन्न कर र भ्याटमा छुट, ग्रान्ट, सहुलियत ऋण लगायत सुविधाले आफ्नो व्यवसाय टिकाउन ठूलो सहयोग मिलेको केसीले बताइन् । तर जाडो याममा फेरि कोरोनाको दोस्रो लहर आउने हल्लाले भने उनी चिन्तित छिन् । सरकारको निर्देशनअनुरूप कोरोना संक्रमण नियन्त्रण गर्न आफ्नो रेष्टुरेन्टमा पर्याप्त सावधानी अपनाएको उनले बताइन् । 

बेलायतमा करिब डेढ दशकदेखि हस्पिटालिटी क्षेत्रमा काम गर्दै आएका बल रायमाझीको अहिले लण्डन वेम्लीमा हिमालयन क्लब छ । सन् २००६ मा स्वान होटलबाट व्यवसाय शुरु गरेका रायमाझीले सन् २०१६ मा ब्लु अर्किड रेष्टुरेन्ट सञ्चालन गरेपछि सन् २०१७ देखि हिमालयन क्लब संचालन गर्दै आएका छन् । 
अहिले वीकेन्डमा बिजनेस् 
छैन्, सोमबार, मंगलबार र बुधबार टेकअवे 
चल्दैन् । सोमबारदेखि बुधबारसम्म निकै व्यस्त हुन्छ, 
रायमाझीले भने । राति अबेरसम्म लाइभ म्यूजिक संचालन हुँदै आएको हिमालयन क्लबमा कोरोना संक्रमणका कारण अहिले बन्द गरिएको छ । लाइभ म्यूजिक हुँदा राति अबेरसम्म ग्राहक बस्ने र व्यापार पनि सन्तोषजनक रहेको बताउने रायमाझी सरकारले दिएको एक महिनाको राहत पर्याप्त नभएको बताउंछन् ।

बेलायतको वकिंगमा संचालित न्यू हवेली रेष्टुरेन्टमा सबैजसो ग्राहकहरु विदेशी रहने रेष्टुरेन्ट संचालक सुनिल बाबु खड्काले बताए । सरकारद्वारा राहतस्वरूप ल्याइएको ‘इट आउट टु हेल्प आउट’ प्याकेजबाट सोमबार देखि बुधबार निकै बिजी हुने गरेको उनको भनाइ छ । बेलायतमा ३६ डिग्री तापक्रम भएको यो वर्षकै अत्यधिक गर्मीको समयमा पनि मानिसको भीड लागेको खड्काले सुनाए ।
 सामाजिक दुरी कायम गर्नुपर्ने कारण बस्ने ठाउं कमी भएको र मानिसको चाप धेरै भएकोले थुप्रै ग्राहक निराश भएर फर्किन बाध्य भएका उनी बताउँछन् । कहिल्यै बाहिर नखाने मानिसलाई पनि सरकारको यो नीतिले बाहिर गएर खाने बानी बसालेको खड्काको बुझाइ छ । बिगत तुलनामा वीकेन्डमा भने व्यापार कमी हुने गरेको उनले बताए । करिब ४० वर्ष यस क्षेत्रमा बिताइसकेका खड्काले विगत १० वर्षदेखि रेष्टुरेन्ट व्यवसाय सञ्चालन 
गर्दै आएका छन् ।

उता, बेलायतस्थित ग्रेसटमा सन् २००९ देखि संचालित द बेलीफ ग्रेसटमा विदेशी ग्राहकहरु बढी भीड लाग्ने गरेको संचालक बिष्णु खरेल बताउँछन् । सरकारको नयाँ नीतिले वीकेन्डको व्यापार सोमबारदेखि मंगलबारबीचमा हुने उनले बताए । कतिपय मानिसहरु अझै पनि सरकारको फर्लो स्किममा रहेकाले उनीहरु वीकेन्ड नकुरी वीकडेजको ५० प्रतिशत छुट लिन आउने गरेका उनको भनाइ छ । 
त्यस्तै टेकअवेमा छुट नपाउने हुंदा त्यस्ता ग्राहकहरु पनि इट इनप्रति नै आकर्षित भएका कारण टेकअवेमा भने कमी आएको खरेलले जनाए । छुटका कारण तीन दिन ग्राहकहरुको बढी भीड भएपनि अन्य दिनमा भने सामान्य रहेको खरेलले बताए  ।

बिगत ६ वर्षदेखि बेलायतको अल्डरसटमा मःम स्टेशन नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अनिल मल्ल आफ्नो व्यवसायमा खासै नखस्केको बताउँछन् । ‘इट आउट टु हेल्प आउट’ सरकारको स्किमले हप्ताको तीन दिन निकै भएको र मानिसहरुको भीड पनि उत्तिकै बढेको बताउँछन् मल्ल । ग्राहकले खाएका सबै बिलहरु अपडेट गरेपछि ५ दिनभित्र सरकारले ५० प्रतिशत रकम भुक्तानी गर्ने उनले बताए । बेलायत सरकारले गरेको राहत स्किम निकै सकारात्मक रहेको उनको धारणा छ ।
सन् २०१३ देखि लन्डनको हन्स्लोमा काठमाडौं जोन रेष्टुरेन्ट संचालन गर्दै आएका प्रकाश प्रधान सरकारको ‘इट आउट टु हेल्प आउट’ स्किमले आफूलाई भ्याई नभ्याई भएको बताउँछन् । अत्यधिक भीडले गर्दा राम्रो सेवा सुविधा दिन नसकेर ग्राहक भड्किन्छन् भन्ने चिन्ता उनलाई छ । 
समयमा अर्डर लिन गाह्रो भएकाले लिमिटेड मेनु राख्ने सोच रहेको उनले बताए । सोमबार, मंगलबार र बुधबार रेष्टुरेन्टमा नै बिजी भएकाले टेकअवेमा समय दिन नसकिएको र ति दिनमा अन्य माध्यमबाट गरिने अर्डरहरु समेत बन्द गर्नुपरेको उनले बताए । बेलायत सरकारले गरेको सहयोग र राहत रेष्टुरेन्ट व्यवसायीहरुका लागि एकदमै सरहानीय रहेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप