केन्द्रीय संस्करण

सामाजिक सञ्जालमा सीमित आर्थिक समृद्धि

person explore access_timeसाउन ३२, २०७७ chat_bubble_outline0

हाम्रो समाज कता जाँदैछ भन्ने हेर्न फेसबुकमा भाइरल हुने र युट्युबमा ट्रेन्डिङमा आउने विषयवस्तु हेरे पुग्छ । विषयवस्तु नै नलाग्ने विषयलाई लाखाैंले हेरेर हजाराैंले कमेन्ट गरिरहेका हुन्छन् ।
 अझ फेसबुके गाली त तथानाम गरिरहेका हुन्छन् । घरको कोठाभित्र बसेर दिनभर एउटा मोबाइल हेरेर अनि सुझाव दिन्छौँ यस्तो हुनुपर्ने नि उस्तो हुनुपर्ने नि । अझ विशेषगरी राजनीतिज्ञहरूलाई त यति नराम्रो अपशब्द प्रयोग गर्छौं ती न सुन्न लायक हुन्छन् न त सम्मान गर्न लायक नै । दिनभर आफू भने सिन्को नभाच्ने अनि राजनीतिज्ञको टाउकोमा दोष थुपारेर पन्छिन खोज्ने ? के नागरिकको चाहिँ राष्ट्रको लागि केही योगदान हुदैँन ? सामाजिक सञ्जालमा गाली गर्ने सट्टामा आफूले के गरे त ? भनेर पनि हेर्ने कि ?

यही प्रसङ्ग जोडिरहँदा मैले आफैले भोगेको एउटा घटनाको याद आयो । हतारमा अफिसको काम सक्न लाग्दैथिए । मोबाइलमा म्यासेजको घन्टी बज्यो । सोचे कसैले म्यासेज गर्याे होला पछि हेर्छु भनेर कामतिरै लागेँ । आधा घण्टापछि काम सकेर मोबाइल खोलेर हेरे एकजना नजिकैको साथीको म्यासेज रहेछ । म्यासेज पढ्छु त को युट्युबमा भाइरल भएको बाबाले बिहे गरेको हो ? भन्दै पो त्यो साथीले म्यासेज गरेको रहेछ ? आश्चर्य चकित भएँ । रिस उठ्यो, हासोँ पनि लाग्यो । को भाइरल बाबा ? म त्यतिबेलासम्म ती बाबाको विषयमा अनभिज्ञ रहेछु ।  एकपटक त साथीले मजाक गरेजस्तै लाग्यो । अनि म्यासेज फर्काए को बाबा हो ? के भन्छौ मलाई के थाहा को बाबाले बिहे गरे ? कसले व्रतबन्ध गरे । मेरो म्यासेजको तत्काल रिप्लई दिँदै उसले भन्यो, युट्युबमा अहिले बाबाको भिडियो कति लाखले हेरेका छन् । बिहे नगर्ने भन्थेँ अरे बिहे गरेछन् । म त अहिले नेट नचलेर तिमीलाई सोधेको केही अपडेट छौ कि भनेर । मलाई उसँग यो विषयमा धेरै डिस्कस गर्न मन लागेन, थाहा छैन मात्रै भने । अनि हतारलाई भुल्दै एकछिन घोरिएँ । कता जाँदैछ समाज ? त्यही साथी मैले राजनीतिको कुरा वा अन्य विकास निर्माणका कुरा गर्दा मुख थुन्नै आउथ्योँ । मलाई राजनीतिका कुरा नगर अरू जे विषयमा गरे पनि हुन्छ भनेर तर आज त्यही साथी एउटा व्यक्तिको पछि लागेर आफ्नो अमूल्य समय बर्बाद गरिरहेको छ । उसलाई प्रधानमन्त्रीको र राष्ट्रपतिको नामबाहेक अरू केही थाहा छैन । भविष्यको चिन्ता छैन । अनावश्यक विषय हेरेर समयको बरबाद गरेको छ । साथीको यस्तो म्यासेज देख्दा हाँसो लाग्यो । अनि नेपाली युवापुस्ताको रोजाइ र समयको दुरूपयोग देख्दा दया पनि लाग्यो ।

हामीले भन्ने गरेको समृद्धि नेताहरूको प्रयासले मात्रै सम्भव छ त? त्यो आजको गहन प्रश्न हो, एकातिर गाली र बद्नामी गर्दै सामाजिक सञ्जाल भरिभराउ पारेका छौ भने अर्कातिर दिनभर फेसबुक र युट्युबमा बेअर्थका विषयवस्तु हेरेर समय खर्च गरिरहेका छौ । देशका प्रधानमन्त्री, राष्ट्रिपति र इतिहासका विषयमा थोरै पनि ज्ञान नभएका हामीहरू प्रधानमन्त्रीको टाउको कुनै जन्तुसँग जोडिदिन्छौ । अनि राष्ट्रिपतिको फोटोमा पनि कुनै फिल्मकी नग्न युवतीको शरीर जोडेर कुरूप बनाइदिन्छौ । अनि बेस्सरी सुसभ्य र सुसंस्कृत नागरिकको जस्तै गरी गाली गर्छाै गधा, कुकुर र भेडाहरूसँग तुलना गर्दै । हामीले अरूको नराम्रो पक्ष देखाइरहँदा कतै हाम्रो असभ्यता पनि झल्केको त छैन ? सानैदेखि पढ्दै आएको युवा देशका कर्णधार भन्ने कुरा यस्तो प्रवृत्तिले पूरा गर्ला त ? अहिले संविधानले कोही व्यक्तिलाई पनि समाज बदल्न रोकेको छैन । क्षमता हुने व्यक्तिहरुलाई अवसरको पनि कमी छैन तर हामी अरूलाई अर्ती दिनसक्छौँ तर आफ्नो महत्त्वपूर्ण समय फेसबुकमा च्याट गरेरै बिताइदिन्छौँ । 

नेपालमा समृद्धि ल्याउनु वा परिवर्तन गर्नु कुनै राजनीतिक दल वा व्यक्ति विशेषको मात्रै जिम्मा होइन । सबैले आआफ्नो स्थानबाट सकारात्मक सुझाव दिनसक्नुपर्छ । तर आजको प्रविधिमैत्री दुनियाँमा त्योभन्दा बढी हामी व्यक्ति वा कुनै दलको आलोचनामा उत्रिएका छौँ । महत्त्वपूर्ण कुरा छाडिदिन्छौँ अनि गौण कुरा बोकेर सामाजिक सञ्जालभरि आलोचना गर्छौ । एउटै कोठामा बसेर विश्लेषक जस्तो । 

आज समाज विकृति र अश्लीलतातर्फ मात्रै गएको छैन मौलिकता, कला, संस्कृति र पहिचान बिस्तारै लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्र्याउने नाममा आफ्नो वास्तविकता नै हराएर अस्तित्वविहीन हुने अवस्थामा आइसकेको छ समाज । आजका युवापुस्ताले नेपाली समाजको मौलिकता गुमाइसकेका छन् । मोबाइल, फेसबुक, युट्युब आदि नभएका समयमा जसरी आफूभन्दा ठूला मान्छेका कुरा सुन्ने उनीहरूका अनुभव सुन्ने रमाइलो गर्ने, एकअर्काको अनुभव आदानप्रदान गर्ने लगायत संस्कृति हटिसकेका छन् । पुनः यही सन्दर्भलाई जोडेर आफ्नै अनुभव सेयर गर्न मनलाग्यो । एक दिन सँगै पढेका खेलेका साथीहरू भेटघाट गरेर रमाइलो गर्ने अनुभव सुनाउने भन्ने कुरा भयो । त्यही कुरा बमोजिम हामी काठमाडौँको कुनै क्याफेमा जम्मा भयौँ । साथीहरू सबै जम्मा भइसकेपछि केहीबेरमा वेटर आयो र खानेकुराको अर्डर लिनथाल्यो । त्यसक्रममा सुरुमै एउटा साथीले वाइफाइको पासवर्ड माग्यो । अन्त ध्यान नदिई मोबाइलमै घोत्लिन थाल्यो । त्यसैगरी क्रमशः अरू साथीहरू पनि आआफ्नै मोबाइलमा व्यस्त देखिन थालेँ । कोकोसित बोल्नु सब आफ्नै मोबाइलमै व्यस्त । कोही फोटो देखाउने, कोही च्याट गर्ने, कोही टिकटक बनाउने कोही फोन गर्ने यस्तै यस्तै । त्यो अवधि मोबाइल चलाउन नपाएर गएजस्तै भयो । करिब एक घण्टा ३० मिनेटको बसाइमा आधा घण्टा पनि कुरा नगरी मोबाइल चलाएरै सबै फर्कियौँ । यो त प्रतिनिधि घटना मात्रै हो । अचेल हरेक ठाउँमा मानिस मोबाइलमै व्यस्त हुन्छन् । अझ कतिपय त एकै स्थानमा भएर पनि नबोली च्याटमै कुराकानी पो गरिरहेका हुन्छन् । यसले पनि समाज कता जाँदैछ । मानवमैत्री बन्दैछ वा प्रविधिमैत्री बन्दैछ भन्ने प्रष्ट देखाउँछ ।

एकातिर मुलुकमा रोजगारीको अवसर छैन भन्दै विदेश पलायन हुने युवाको सङ्ख्या बढिरहेको छ भने अर्कातिर नेपालमा हुने अधिकांश युवाहरू जतिबेलै सामाजिक सञ्जालको उपयोग र दुरूपयोगमा व्यस्त देखिन्छन् । सामाजिक सञ्जालका प्रयोगले युवामा अरूलाई सुन्ने संस्कृति हराउँदै गएको छ । एउटा कुनामा बस्यो मोबाइल थिच्यो । अनि फेसबुकबाट यसोउसो भन्दै आलोचना र निर्देशन दियो बस् । नागरिकको हैसियतले नराम्रो काममा आलोचना गर्नु, आवाज उठाउनु ठीक हो तर जतिबेलै सामाजिक सञ्जालमा व्यस्त हुने, हात बाँधेर बस्ने अनि सामाजिक सञ्जालमा लेखेर मात्रै समृद्धि सम्भव छ त ? जसरी आजभन्दा २० वर्ष अघिका युवाहरूले देशका लागि सोच्थे, आन्दोलन गर्थे, विरोध गर्थे, जेलनेल भोग्थे, जुनखालको समर्पणको भाव थियो त्यो भाव पनि युवाहरूमा कमी देखिन्छ । आज कमै युवाहरू मात्रै सडकमा देखिन्छन् अनि कमैले मात्रै समसामयिक विषयमा चासो राख्छन् । हिजोका युवाहरु आन्दोलन गर्थे, मुक्ति चाहान्थे । 

देशमा परिवर्तन चाहान्थेँ तर आजका युवा वाइफाईको पासवर्डमा सीमित देखिन्छन् । अब युवाहरूमा त्यो खालको चासोचिन्ता नभएपछि देशका लागि कसले सोच्ने ? यो प्रश्न निकै गम्भीर बनेर हामीसामु देखापरेको छ ।
त्यसो त नेपाली समाजमा बढ्दै गएको सामाजिक सञ्जालप्रतिको लतका विषयमा सरकार र सरोकारवालाले चासो र चिन्ता व्यक्त गरिरहेका हुन्छन् । युवा मात्रै होइन, अहिले त वृद्धवृद्धा समेत फेसबुक, टिकटक, युट्युब लगायतका सञ्जालमा व्यस्त देखिन्छन् । हरेक उमेरका बालक, वृद्ध र युवाहरुमा बढ्दो समाजिक सञ्जालप्रतिको लतलाई मध्यनजर गर्दै सरकारले त विभिन्न विधेयकमार्फत सामाजिक सञ्जालले निम्त्याएको विकृति नियन्त्रणको प्रयास पनि थालेको छ । तर सानो प्रयासले मात्रै बढ्दो विकृति हट्ने स्थिति देखिँदैन ।

 बरू सरकारले निश्चित समयमा मात्रै सामाजिक सञ्जाल चल्ने व्यवस्था गर्ने हो भने समाज प्रविधि मात्रै नभएर मानवमुखी पनि हुने देखिन्छ  । नत्रभने नेपाली समाज मोबाइलमैत्री नै बन्ने निश्चित छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.