शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारका यस्ता पाँच भयानक पेन्टिङ जसलाई अज्ञात स्थानमा लुकाउनुपर्‍यो

सोमबार, ०१ भदौ २०७७, १२ : ५७
सोमबार, ०१ भदौ २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे कुरा गर्दै रिया चक्रवर्तीले एक पेन्टिङबारे कुरा गरेकी थिइन् । रियाका अनुसार युरोप ट्रिपको क्रममा उनले एउटा पेन्टिङ हेरेपछि सुशान्तले असामान्य व्यवहार गर्न थाले । उक्त पेन्टिङमा शनिले आफ्नै नवजात छोरालाई खाइरहेका थिए । यो वास्तवमा नै निकै विचलित गरिदिने कलाकृती हो । हुन त यस्ता अन्य केही पेन्टिङ पनि छन् जसले हेर्ने मानिसहरुलाई विचलित गरिदिन्छ । यस्ता तस्बिर हेरेपछि मानिसहरुले भूत–प्रेत, आत्माबारे कुरा गर्न सुरु गर्छन् । आउनुहोस्, संसारभरीका केही यस्ता भयानक तस्बिरबारे कुरा गरौंः

१. द रेन वुमनः

युक्रेनकी कलाकार स्वेतलाना टेलेट्सले हुन त धेरै तस्बिर बनाएकी छिन् । उनका थुप्रै पेन्टिङ निकै चर्चित पनि रहे । द रेन वुमन शीर्षकबाट यो तस्बिरमा वर्षाको बीचमा एक स्त्रीको आकृति देखिन्छ । कालो र सेतो रङबीच हल्का हरियो रङको झलक पनि छ । स्वेतलानाले मात्र पाँच घण्टामा यो तस्बिर बनाएको बताइन्छ । तस्बिर बनाउने बेला कसैले आफ्नो हात समातेर तस्बिर बनाइरहेको अनुभव भएको स्वेतलानाले बताएकी थिइन् । यो पेन्टिङलाई थुप्रै मानिसहरुले चर्को मूल्य तिरेर खरिद गरे तर घर लिएर गएको केही घण्टा वा केही दिनपछि त्यो फिर्ता भइहाल्थ्यो । पेन्टिङ खरिद गर्ने व्यक्तिहरुले उक्त कलाकृतिलाई कोठामा राख्ने बित्तिकै घरमा उदासी छाएको बताउने गर्दथे । घरका सदस्यलाई निद्रा नलाग्ने र प्रेत–आत्माजस्ता कुराहरु देख्न थालेको पनि खरिदकर्ताले बताएका छन् ।

२. लभ लेटर रेप्लिकाः

लभ लेटर नामको एक पेन्टिङले पनि मानिसहरुलाई डराउँछ । यसमा एक प्यारी बालिकाले एक हातमा गुलाब र अर्को हातमा खाम समातिरहेको देखिएकी छिन् । सुनौलो कपाल भएको बालिकाको उमेर करिब चार–पाँच वर्ष जस्तो देखिन्छ । बालिकाको तस्बिरको पछाडि एउटा सत्य घटना छ । चार वर्षकी यी बालिका समन्था हस्टन एक अमेरिकी सिनेटरकी छोरी थिइन् जो भर्याङबाट लडेका कारण नराम्रोसँग घाइते भइन् र अस्पतालमा उनको मृत्यु भयो । सन् १९९८ मा उनको पेन्टिङ बनाइयो र प्रदर्शनीमा राखियो तर त्यसलाई निकै हतार हतारमा हटाउनुपर्यो । अवलोकनकर्ताका अनुसार पेन्टिङलाई १ मिनेटका लागि हेर्दासमेत बालिकाको अनुहारको भाव परिवर्तन हुने गर्छ । धेरै मानिसहरुले पेन्टिङ हेरेपछि उनीजस्तै बालिका खेलिरहेको देखेको पनि बताए ।

३. द स्टेजक्राफ्टः

कलाकार लौरा पीको एक तस्बिर द स्टेजक्राफ्टलाई पनि यही श्रेणीमा राखिएको छ । यो पेन्टिङललाई कलाकारले एक फोटोग्राफरको तस्बिरबाट प्रेरित भएर बनाएका थिए । यद्यपि, फोटोग्राफरले पेन्टिङ हेरेपछि उनको तस्बिरमा त गाडी नजिकै कोही पनि व्यक्ति नभएको बताए । यो साँचो थियो । यता लौरा आफैंले पनि पेन्टिङमा आफूले कुनै मानिस नबनाएको बताएकी थिइन् । तर पनि पेन्टिङमा गाडी नजिकै एक व्यक्ति उभिएको देखिन्छन् । लौराले यो पेन्टिङ एक अफिसमा राखिन् तर त्यहाँ लगातार गडबडी देखियो । कागजपत्र गायब हुन थाले । यो पेन्टिङलाई अन्य मानिसहरुले पनि किनेर घर लगे तर जसले लगे उनीहरुको दुर्दशा सुरु भयो । मानिसहरुले घाँटी नभएका मानिसहरु घुमिरहेको देख्न थाले । अन्ततः यो पेन्टिङलाई जलाउनुपर्यो ।

४. क्राइङ बोयः

इटलीका कलाकार ब्रुनो एमेडियोले अनाथालयका थुप्रै चक्कर लगाए र त्यहाँका बालबालिकाको पीडा नजिकबाट देखे । यस्तै ६५ वटा रुँदै गरेको बच्चाको तस्बिर ब्रुनोले बनाए । यो दोस्रो विश्वयुद्ध ताकाको कुरा हो । लाखौं बालबालिका कम उमेरमा ने अनाथालय पुगिसकेका थिए र एक–अर्काको भाषासमेत बुझ्दैनथे । यी बच्चाहरुको पेन्टिङलाई पछि प्रदर्शनीमा राखियो र तीमध्ये कुनै बेचिए पनि । तीमध्ये एउटा पेन्टिङलाई द क्राइङ बोय नाम दिइयो । पछि यसलाई ब्रिटेनको निकै दुर्भाग्यशाली पेन्टिङको रुपमा हेरिन थाल्यो । यो तस्बिर राख्ने व्यक्तिमाथि निकै अचम्मको घटना हुन थाले । विशेषगरी पेन्टिङको प्रिन्ट जहाँ हुन्थ्यो त्यहाँ आगलागी हुने गर्दथ्यो । बेलायतभरी यसरी ५० स्थानमा आगलागी भएको बताइन्छ । पेन्टिङ बनाउने बेला बच्चाहरुलाई रुवाउन कलाकारले उनीहरुको अगाडि सलाईको काँटी बालेर देखाएको बताइने गरिन्छ ।

५. द एङ्ग्वुइस्ड म्यानः

यसैगरी एउटा पेन्टिङ द एङ्ग्वुइस्ड म्यानलाई पनि संसारको सबैभन्दा डरलाग्दो र भयानक पेन्टिङ भनिन्छ । यो कसले बनायो, यसबारे कसैलाई जानकारी छैन तर कलाकारले यसलाई आफ्नो वा अन्य कोही व्यक्तिको रगतले बनाएका थिए । सिन रबिन्सन नामका व्यक्तिले यो पेन्टिङ आफ्नी मृत हजुरआमाको दराजमा भेटे । यो हेर्नेबित्तिकै सिनमाथि लगातार दुर्घटना हुन थाले । उनले लगातार आवाज सुन्न थाले, खाली घरमा अपरिचित अनुहार देख्न थाले ।  यसको रहस्य थाहा पाउन थुप्रै मानिसहरुले कोसिस गरे तर सबैमाथि केही न केही यस्ता डरलाग्दो घटना भयो जसका कारण उनीहरु पछि हटे । सिनले उक्त पेन्टिङ कसैलाई नबेच्ने संकल्प गरे र त्यसलाई कुनै अज्ञात स्थानमा लुकाइदिए । हुन त इन्टरनेटमा यसका प्रिन्ट देख्न पाइन्छ तर ती सुरक्षित छन्, ओरिजिनल पेन्टिङ हेर्दा मात्रै समस्या निम्तिने गरेको भेटियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप