शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेलिब्रेटीका तीज योजना : कोरोनाको कहर, घरमै नाचौँ तीजको रहर

मङ्गलबार, ०२ भदौ २०७७, ०८ : ५३
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौँ । विगतका वर्षहरूमा तीज आउनुभन्दा महिना दिन अगाडिदेखि नै चहलपहल हुनेगथ्र्याे । पार्टी प्यालेस मात्र होइन घरघरमै दर खाने र खुवाउने चलनले भीडभाड बढी देखिन्थ्यो । यो समय सहर बजारदेखि गाउँघरको वातावारण नै बेग्लै हुन्थ्यो । रेडियो, टीभी, पार्टीप्यालेस लगायतमा तीजका गीत घन्किन्थे ।

तर यो वर्ष तीज आउन अब केही दिन मात्र बाँकी रहँदा चारैतिर सुनसान छ । कतै पनि तीजका माहोल देख्न पाइन्न । तीजका लागि भनेर थुप्रै गीत बनेका भए पनि सार्वजनिक ठाउँमा बजेको सुन्न पाइन्न । कारण हो ‘कोरोण भाइरस’ । कोरोनाको कहरका कारण यो वर्षका पर्वहरु खल्लो हुँदै गइरहेको छ । समूहमा भेला भएर मनाइने पर्वसमेत घरभित्र खुम्चिएर मनाउनुपर्ने बाध्यता रहेको छ ।

यस्तैमा हामीले केही सेलिब्रेटीलाई यो पटकको तीज कसरी मनाउँदै हुनुहुन्छ भन्ने प्रश्न राखेका थियौँ । उनीहरुको जबाफ जस्ताको तस्तै ।

सञ्चिता लुइटेल (अभिनेत्री) :

तीज हामी महिलाको महत्त्वपूर्ण पर्व हो । तीजमा म व्रत पनि बस्छु । आमा, हजुरआमादेखि मनाउँदै आएको यो पर्व संस्कृतिको जगेर्नाको लागि पनि मनाउनुपर्छ । तीजमा भगवानको पूजा गर्दा शान्ति मिल्छ, परिवारिक वातावरण राम्रो हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।

तीजको एक दिनको व्रतले स्वस्थ्यसमेत राम्रो हुन्छ । कोरोनाका कारण तीजमा कतै जाने योजना भने छैन । सपिङ पनि गर्नुपर्दैन । आमा र आफन्तले दिएको गिफ्टले पुग्छ मलाई ।

दीपाश्री निरौला (निर्देशक, अभिनेत्री) :

कोरोनाको कहर घरमै नाचाँै तीजको रहर भनेर बस्ने हो यस पटक । छिट्टै कोरोनाको भ्याक्सिन आओस्, यही कामना पनि गर्ने हो । मेरोतर्फबाट सबै महिला दिदीबहिनीलाई तीजको शुभकामना पनि । यो पटक तीजका लागि किनमेल पनि गरेको छैन ।

मिलन नेवार (गायिका) :

अहिले कोरोनाको त्रास ब्यापक छ । तीज मनाउने त कुरै भएन नि । नेवारकी छोरी भएकाले होला तीजमा व्रत बस्न सानैदेखि हाम्रो परिवारमा पाइएन । तर साथीसङ्गीका कारण तीज मनाउने गरेकी थिएँ । यो पटक के हुन्छ हेरौँ ।

केकी अधिकारी (अभिनेत्री) :

घरमै बसेर तीज मनाउने विचार छ यसपालि । तीजका लागि भनेर सपिङसमेत केही गरेकी छैन । तीजको व्रत भने बस्छु ।

मन्जु ढकाल (फेसन डिजाइनर) :

यतिबेला विश्वमै कोरोनाको आतङ्क छ । तीज मात्र होइन कुनै पर्व पनि राम्रोसँग मनाउने वातावरण छैन । तीज भन्ने बितिक्कै दर खाने, दिदीबहिनी भेटघाट गरेर नाच्ने भन्ने बुझिन्छ । तीजमा महिलाहरु व्रत बस्ने चलन पनि छ ।

हरेक वर्ष म पनि व्रत बस्दै आएकी छु । यो पटक पनि बस्छु । भोको बस्दैमा धर्म हुन्छ भन्ने होइन । परिवारका सबैले महिला पुरुष समान भन्ने हिसाबले चल्यो भने सुख, शान्ति त्यही छ ।

म साकाहारी खाना खाएर व्रत बस्छु । जीवनसाथीको आयु र सुखको कामना गर्ने यो चाडको उपलक्षयमा सबैलाई सुरक्षित रहन मेरो अनुरोध छ ।

रोशनी केसी (अभिनेत्री, निर्माता) :

कोरोनको कारण यो वर्ष सरकारले धेरै कुरामाथि प्रतिबन्ध गरेको छ । त्यसैले तीज सबैले आफ्नै घरमा परिवारसँग सीमित रहेर मनाउँदा राम्रो ।

यो वर्ष घरमै जुठो भएकाले तीजका लागि केही प्लान गरेकी छैन । परिवारको स्वस्थ्य, सुख शान्तिका लागि तीजको व्रत नियमित बस्ने गरेकी छु । यो हाम्रो संस्कृति पनि हो ।

टीका प्रसाईं (गायिका) :

तीज हिन्दु महिलाहरूको पर्व हो । अविवाहितले महादेव जस्तो श्रीमान् र विवाहितले श्रीमान्को दीर्घायुको कामना गर्दै तीजमा व्रत बस्ने गरिन्छ ।

अहिले तीजभन्दा ठूलो कोरोना भएको छ । त्यसैले आफ्नो र परिवारको स्वस्थ्यको ख्याल गरेर सामाजिक दूरी कायम राखेर सुरक्षित तरिकाले तीज मनाउनुपर्छ भन्ने मेरो धारणा हो । सबैको स्वस्थ्यको ख्याल गर्दै बोलाएको ठाउँमा यो वर्ष नजाने निर्णय गरियो । अहिले त सपिङ पनि गर्न सकेको छैन ।

भावना गुरुङ (अभिनेत्री) :

कोरोनाको त्रास जताततै छ । त्यसैले तीजका लागि भनेर सपिङ गर्न सकेकी छैन । तीज हाम्रो संस्कृति हो । यो मनाउनुपर्छ । म पनि तीजमा व्रत बस्छु । आफूले सोचे जस्तो श्रीमान्को चाहना गर्दै व्रत बस्दै आइरहेकी छु । सबैलाई सुरक्षित रहेर तीज मनाउनसमेत मेरो अनुरोध छ ।

सारिका घिमिरे (अभिनेत्री, गायिका) :

कोरोनाको कहरका कारण यो वर्ष खासै केही योजना बनाउन पाइएको छैन । महामारीलाई ध्यानमा राखेर घरमै बसेर तीज मनाउने विचार छ । सबैलाई यो अवस्था यताउती हिँड्नुभन्दा पनि घरमै सुरक्षित रहेर तीज मनाउन मेरो अनुरोध छ ।

लक्ष्मी आचार्य (गायिका) :

त्यस्तो योजना त केही छैन । सरकारले भीडभाड नगर्नु भनेकाले घरमै बसेर बनाउछु तीज । म विगतका वर्षहरुमा पनि तीजको व्रत बस्दै आएको छु । यो पटक पनि बस्छु । कोरोनाको कारण यो वर्ष सपिङ केही गर्न पाइएको छैन ।

गत वर्षकै पहिरन लगाएर तीजमा नाच्ने हो । यो हामी हिन्दुनारीहरुको महान पर्व भएकाले जस्तो अवस्थामा पनि सहज तवरले मनाउन पर्छ भन्ने मेरो धारणा रहँदै आएको छ ।

साहिमा श्रेष्ठ (गायिका) :

यो तीजको खासै योजना छैन । कोरोनाको त्रास जताततै भएकाले पनि योजना नबनाएको हो । तीजमा म कहिल्यै व्रत बसेकी छैन । यो वर्ष पनि बस्दिनँ होला ।

हिन्दुनारीहरुको महान पर्व तीज संस्कृति जोगाउन पनि हामीले निरन्तरता दिनुपर्छ ।

निरु खड्का (कलाकार) :

तीजको सपिङ सबै कोरोनाले लग्यो । त्यसैले केही सपिङ गरिनँ । तीजमा व्रत बस्छु । व्रत बस्नुको पनि धेरै फाइदा छन् । स्वस्थ्यका लागि व्रत लाभदायक पनि हो । हाम्रो परम्परादेखि चल्दै आएको तीजको आफ्नै सांस्कृतिक र धार्मिक महत्त्व छ । तीज मेरो मनपर्ने चाड हो ।

पवित्रा आचार्य (अभिनेत्री) :

यो वर्ष विश्वमै कोरोनाको आतङ्क भएकाले तीजको उल्लास र योजना केही छैन । कोरोनाबाट छिट्टै मुक्ति मिलोस् यही कामना गर्ने हो यो तीजमा । व्रत हरेक वर्ष बस्दै आएकोले यो वर्षमा पनि तिरन्तरता दिन्छु । कोरोनाको कारण सपिङसमेत गर्न पाएको छैन ।

भूमिका गिरी (लोकगायिका) :


 

सर्वप्रथम तीजको उपलक्ष्यमा देशविदेशमा रहनु भएका दिदीबहिनीलगायत सबैमा शुभकामना । यो वर्षको तीजका लागि खासै योजना बनेन । किनभने कोरोनाको आतङ्क विश्वमा छ । त्यसैले घरमै बसेर सुरक्षित रहेर तिज मनाउनु पर्छ भन्ने लाग्छ मलाई । सपिङ पनि केही गर्न पाएको छैन तीजका लागि । 

तस्विरहरु : फेसबुक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप