शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खानाको स्वाद कसरी थाहा पाइन्छ ?

बुधबार, ०३ भदौ २०७७, ०५ : ३७
बुधबार, ०३ भदौ २०७७

स्वादिष्ट भोजन सबैलाई मनपर्ने हुन्छ । तर कसैलाई एउटा स्वाद मनपर्छ भने कसैलाई अर्को । गुलियो मनपर्ने, पिरो मन नपर्नेहरु पनि छन् । यसको उल्टो पिरो मनपर्ने गुलियो मन नपर्नेहरु पनि छन् ।

विभिन्न खानाको स्वाद हुन्छ । तर प्राथमिक स्वादहरु जम्मा चार प्रकारका मात्र हुन्छन् । गुलियो, तितो, नूनिलो र अमिलो । अरु सबै स्वादहरु यी चार प्रकारका स्वादहरुको सम्मिश्रणबाट पैदा हुन्छन् । स्वाद हामी हाम्रो जिब्रोबाट थाहा पाउँछौं । तर त्यो कसरी हुन्छ ?

हाम्रो जिब्रोको माथिल्लो सतह नरम तर केही खस्रो खस्रो अनुभव हुने खालको हुन्छ । यस्तो हुनुको कारण के हो भने जिब्रोको माथिल्लो सतहमा थुप्रै संख्यामा मासुका मसिना डल्लाहरु रहेका हुन्छन् र तिनीहरुले नै हामीलाई खस्रो अनुभव गराउँछ । ती मासुका मसिना डल्लाहरुको माझमा फुकेको र टुप्पो अलि साँगुरो भई घैंटो आकारका सूक्ष्म अंगहरु रहेका हुन्छन् । तिनीहरुलाई स्वाद मुनाहरु (Taste buds) भनिन्छ । ती स्वाद मुनाहरुबाट नै हामी स्वाद थाहा पाउँछौं । स्वाद मुनाहरु नाङ्गो आँखाबाट देखिँदैनन् । तिनीहरुलाई अवलोकन गर्न सूक्ष्मदर्शकयन्त्र चाहिन्छ । हाम्रो जिब्रोमा लगभग १०,००० वटा स्वाद मुनाहरु रहेका छन् । तिनीहरु जिब्रोको माथिल्लो सतहमा समान रुपले छरिएर रहेको नभई जिब्रोको टुप्पो, दायाँ बायाँका दुई छेउहरु, भित्रपट्टिको भाग र सबभन्दा भित्रपट्टिको भागमा झुरुप्प झुरुप्प रहेका छन् ।

हरेक स्वाद मुनाको भित्रपट्टि लामा लामा स्वाद कोषहरुको झुप्पो रहेको हुन्छ । स्वाद कोषहरु स्वाद मुनाको टुप्पाको प्वालनेर खुल्न आएका हुन्छन् । त्यस्तै गरी हरेक स्वादकोषसँग मसिना स्नायु नली जोडिएको हुन्छ जसको सम्पर्क मस्तिष्कसित कायम रहेको हुन्छ ।

जब हामी कुनै खाना खान्छौं, खाना थुकसित भिज्न थाल्छ र थुकसित घोलिएको खानाको केही अंश स्वाद मुनाको प्वालबाट छिरेर स्वाद–कोषमा पुग्दछ । घोलिएको खानाले स्वाद–कोषलाई सक्रिय बनाउँछ र यससित जोडिएको स्नायु नशाले स्वादको खबर मस्तिष्कमा पुर्‍याउँछ । यसरी नै हामीले खानाको स्वादको अनुभूति प्राप्त गर्छौं ।

सबै स्वादहरु सबै स्वाद मुनाहरुबाट प्राप्त हुँदैनन् । जिब्रोको टुप्पामा जम्मा भएका स्वाद मुनाहरुबाट हामी गुलियो स्वाद, त्यसपछिको भित्री भागबाट नूनिलो अनि अमिलो र सबैभन्दा भित्री भागमा रहेका स्वादमुनाहरुबाट तितो स्वादको अनुभूति गर्छौं ।

Title Photo: Map vector created by macrovector - www.freepik.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप