केन्द्रीय संस्करण
सम्झनामा राष्ट्रकवि

संगीतकार शक्ति बल्लभको स्मरणमा राष्ट्रकवि माधवप्रसाद घिमिरे

person explore access_timeभदौ ३, २०७७ chat_bubble_outline0

‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’, ‘आजै र राति के देखेँ सपना’ जस्ता कयौँ कालजयी गीतका स्रष्टा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ । राजधानीको कपुरधारास्थित आफ्नै निवासमा उनको निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि केही महिनायता उनको घरमै उपचार भइरहेको थियो ।

१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकारका रुपमा चिनिन्छन् ।

‘गाउँछ गीत नेपाली’ जस्ता देशप्रेमले ओतप्रोत भएका गीतका सर्जक र ‘राष्ट्रनिर्माता’ जस्तो खण्डकाव्य सिर्जना गरेर घिमिरेले आफूलाई सुप्रबल राष्ट्रवादी कविका रुपमा स्थापित गराएका थिए ।

घिमिरेद्वारा रचित गीतहरुमा संगीतको माधुर्य भर्ने थुप्रै संगीतकार छन् । तीमध्येका एक हुन् संगीतकार शक्ति बल्लभ ।

शक्ति बल्लभको संगीत रहेको चर्चित गीत ‘सारङ्गी त रेटे पनि बोल्छ मिठो धुन’मा घिमिरेकै शब्द थियो । सांगीतिक सिलसिलामा घिमिरेसँग शक्ति बल्लभले करिव २५ वर्ष संगत गरे । उनी राष्ट्रकवि घिमिरेको सम्झना यसरी गर्दछन्–

पहिलो भेट

करिब २५ वर्ष अगाडि होला मैले उहाँको लेखनमा ‘सारङ्गी त रेटेपछि बोल्छ मिठो धुन’ बोलको गीतमा संगीत भरेको । त्यो नै हाम्रो औपचारिक पहिलो भेट थियो । उक्त गीतबाट मैले उहाँसँग नजिकिने अवसरसमेत पाएँ ।

हुन त त्यस अगाडि पनि धेरै पटक उहाँको र मेरो देखभेट भएको थियो । भेटमा म नमस्कार गर्थेँ, उहाँले फर्काउनु हुन्थ्यो तर कुरो हुन पाउँदैनथ्यो ।

उहाँको रचना रहेको ‘सारङ्गी त रेटेपछि’ गीतमा मैले संगीत भरेँ भने स्वर शिशिर योगीले दिएका छन् । यो गीतबाट राष्ट्रकवि घिमिरे र मेरो सांगीतिक सहयात्रा सुरु भयो । त्यसपछि उहाँको धेरै गीतमा मैले संगीत भरेको छु ।

त्यस्तै डेढ बर्ष अगाडिमात्र पनि मैले उहाँको शब्द रहेको ‘यति यति पानी, चैतकी रानी’ बोलको गीतमा संगीत भरेको थिएँ । उहाँको शब्दमा मैले संगीत भरेको त्यो नै अहिले अन्तिम गीत भयो । गीतमा स्वर भने दिवाकार शर्माको छ ।

धेरै सिक्ने अवसर मिल्यो

उहाँसँग त्यस्तै २५ वर्षजति मेरो सांगीतिक सहयात्रा भयो । यो क्रममा उहाँका शब्दका करिव आधा दर्जन बढी गीतमा संगीत गरेँ होला ।

मैले संगत गरेको, बुझेको आधारमा भन्ने हो भने उहाँ एकदमै पे्ररणादायक हुनुहुन्थ्यो । उमेरले वरिष्ठ भएको व्यक्ति, थुपै्र अनुभव भएको, बटुलेको, राष्ट्रकवि, एकदमै राम्रो स्रष्टा भएको कारणले पनि उहाँसँगका हरेक बसाई फलदायक नै हुन्थे । उहाँ धेरै कुराहरु सिकाउनु हुन्थ्यो । उहाँको सामिप्यतामा मैले धेरै सिक्ने अवसर पाएको छु ।

मिलनसार व्यक्तित्व

उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । आफुभन्दा सानो व्यक्तिलाई एकदमै माया गर्नुहुन्थ्यो । जहिले पनि उत्साह जगाउनु हुन्थ्यो । उहाँसँग बस्दा आनन्द आउँथ्यो । समय गएको पत्तै हँुदैन थियो । सल्लाह, सुझावहरु पनि राम्रो दिनुहुन्थ्यो ।

मैले उहाँसँगको सहकार्यमा हारमोनियमसमेत सँगै बजाएको छु । उमेरले नदिए पनि उहाँमा गाउने चाहना थियो । गाउन खोज्नु हुन्थ्यो । उहाँको अगाडि कसैले गाउन थाल्यो भने त्यसको सुरसँगै आफुलाई ढाल्न सक्नुहुन्थ्यो । उहाँको प्रतिभाको त वर्णन गर्न सकिन्न ।

उहाँको निधनले राष्ट्रले एउटा ठूलो, अपुरणीय क्षति ब्यहोरेको छ । मेरालागि पनि त्यस्तै क्षति भएको छ । मैले अब उहाँजस्तो फ्रेन्ड्ली ब्यक्तित्व सायद कहिल्यै पाउँदिनँ होला ।

संगीत भर्न सजिलो

माधवप्रसाद एउटा गीतकार, कवि, स्रष्टा, शिखर पुरुष  हुनुहुन्थ्यो । गीतकारको रुपमा उहाँ एकदमै राम्रो गीतकार हुनुहुन्थ्यो । रिदममा खेल्न सक्नुहुन्थ्यो । उहाँको गीत संगीत बिना पनि बग्थ्यो ।

उहाँको गीतमा लयात्मकता हुन्थ्यो । हामीले संगीत भर्दा तालमा खेल्नुपर्ने भएकोले उहाँको गीतमा धेरै सजिलो हुन्थ्यो । उहाँका गीतहरु लोक शैलीमा हुन्थे । उहाँको गीतमा आफै ताल बगेको हुने भएकोले गीतमा संगीत भर्न सजिलो हुन्थ्यो ।

गीतमा विद्रोह

साहित्यकारको रुपमा उहाँलाई केलाउन मेरो क्षमता छैन र त्यो क्षमता राख्दिनँ पनि । गीतसंगीतको क्षेत्रको कुरा गर्ने हो भने उहाँ एउटा सगरमाथा हो ।

‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ हाम्रा लागि जहिले पनि प्रेरणादायी यो गीत उहाँले लेख्नु भएको हो । उहाँका राष्ट्रिय भावका गीतहरु पनि एकदमै राम्रा छन् ।

‘फूलको थुङ्गा बगाइ लग्यो’ लगायत उहाँका धेरै फिल्मी गीतहरु पनि छन् । फिल्मका गीतहरु पनि उहाँका त्यति नै राम्रा र मिठा छन् ।

स्वतन्त्र गीतहरु पनि उहाँले लेख्नुभएको छ । ती पनि त्यतिकै राम्रा छन् । उदाहरणको रुपमा ‘आजै र राति के देखेँ सपना,’ ‘सारङ्गी त रेटे पनि बोल्छ मिठो धुन’ लगायतलाई हेर्न सकिन्छ । सारङ्गी गीतमा त उहाँ राणा शासनकालको विद्रोह छ भन्नुहुन्थ्यो । उहाँको गीतमा विद्रोहसमेत हुन्थ्यो ।

साथीजस्तै थियौँ

एउटा उच्चकोटीको कवि, गीतकार, स्रष्टा उहाँ । शिखर पुरुषका रुपमा समेत हामीले चिन्ने गरेका छौँ । उहाँका खराब पक्षहरु पनि थिए होलान् । तर, सो देख्ने र महसुस गर्ने अवसर मिलेन ।

सांगीतिक रुपमा उहाँसँग जति पनि उठबस भयो । मेरालागि सहज नै रहे । उहाँले पनि मसँगको सहकार्य सजिलै स्वीकार्नु भएको छ । उहाँ र म एकै ठाउँमा बस्दा साथीजस्तो भएर बस्थ्यौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.