शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन कम्पनीको ९३ लाख कित्ता आईपीओ खुला, कुनमा कति लगानी गर्ने ?

बिहीबार, ०४ भदौ २०७७, १५ : ४८
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं । बजारमा ३ वटा कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला भएका छन् । जीवनबीमा कम्पनी, लघुवित्त वित्तीय संस्था र हाइड्रोपावर क्षेत्रका १÷१ समेत गरी तीनवटा कम्पनीका आईपीओहरु बिक्रीका लागि खुला भएका हुन् । जीवनबीमा क्षेत्रबाट रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी, लघुवित्त क्षेत्रबाट समाज लघुवित्त वित्तीय संस्था र जलविद्युत् क्षेत्रबाट लिवर्टी इनर्जीले एक सय रुपैंया मूल्य बराबरको आईपीओ अंकित मूलयमै बिक्रीका लागि खुला गरेका हुन् । त्यसमध्ये रिलाइन्स लाइफ इजाजतप्राप्त नयाँ जीवनबीमा कम्पनीमध्येकै पहिलो आईपीओ जारी गर्ने बीमा कम्पनी समेत भएको छ । 

कुन कम्पनी कस्तो, कति लगानी गर्ने ? 
१. रिलाइन्स लाइफ इन्योरेन्स

रिलाइन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आईपीओ आजदेखि बिक्रीका लागि खुला भएको छ । हाल १ अर्ब ४७ करोड रुपैंया पुँजी रहेको रिलायन्सले आफ्नो जारी पुँजीलाई २ अर्ब १० करोड रुपैंयाको चुक्ता पुँजी बराबर पुर्याउन सो बराबरको आईपीओ जारी गर्न लागेको हो । त्यसमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लगानीकर्तालाई र अर्को ३ लाख १५ हजार कित्ता संस्थाका कर्मचारीलाई छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको हो । 

उक्त शेयरमा १० कित्ता देखि ६ हजार ३ सय कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यो शेयर भदौ ८ गतेसम्म खुला रहनेछ । त्यो अवधिमा शेयरमा आवेदन नपरेको अवस्थामा भदौ २२ सम्म समय थप हुनसक्ने जनाइएको छ । 

३ वर्षअघि सञ्चालनमा आएको रिलायन्स लाइफ कम्पनीले तेस्रो वर्षको अपरिस्कृत वित्तीय विवरणसहित बजारमा आईपीओ निष्कासनको लागि आएको हो । यो कम्पनीलाई नयाँ बीमा कम्पनीमध्ये मध्यम कार्यसम्पादन गरेको कम्पनीको रुपमा लिइन्छ । यस कम्पनीले सञ्चालनमा आएको पहिलो वर्ष प्रतिशेयर ६.०७ रुपैंया आम्दानी गरेको थियो । दोस्रो वर्ष यो घटेर १.५४ रुपैंयामा सीमित भएकोमा यो वर्ष बढेर २.८१ रुपैंया पुगेको छ । तर यो आम्दानी बीमांकीय मूल्यांकनअघि भएकोले यसले शेयरधनीको प्रतिफल निर्धारण भने गर्दैन । 

यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४१ करोडको बीमाशुल्क आर्जन गरेको थियो । हालसम्म यस्तो शुल्क २ अर्ब २४ करोड पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । हाल १०७.५९ रुपैंया प्रतिशेयर नेटवर्थ रहेको यस कम्पनीको शेयर दोस्रो बजारमा १ सय ८ रुपैंयादेखि ३ सय २२ रुपैंयासम्ममा पहिलो कारोबार हुन सक्नेछ ।

यो कम्पनीको शेयर बढीमा ५ लाख ६७ हजारले प्राप्त गर्नसक्ने देखिन्छ । तर हालसम्म आईपीओमा आवेदन गर्नेको संख्या त्योभन्दा कम भएकोले आवेदकहरु सबैले शेयर प्राप्त गर्ने अवस्था देखिन्छ । कोभिड–१९ का कारण बैंकमार्फत् शेयर आवेदन दिनेको संख्या कम हुने भएकोले यस शेयरमा कम आवेदन पर्ने सम्भावना समेत छ । त्यसैले आवेदकले २० वा ३० कित्ता शेयरका लागि आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।  

२. समाज लघुवित्त वित्तीय संस्था
समाज लघुवित्तको ८३ हजार कित्ता आईपीओका लागि बिहीबारदेखि नै आवेदन खुलेको छ । उक्त शेयरमध्ये ८० हजार ७ सय कित्ता शेयर सर्वसाधारणका लागि र बाँकी शेयरमध्ये ४ हजार ३ सय कित्ता सामुहिक लगानी कोष र १ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यो शेयरका लागि १० देखि ५ हजार कित्तासम्म आवेदन दिन पाइन्छ । आवेदन दिने समय भने भदौ ८ गतेसम्मको लागि तोकिएको छ । 

सर्लाहीको मलंगवा मुख्य कार्यालय भएको समाज लघुवित्त २ करोड चुक्तापुँजीको ४३ प्रतिशतले हुन आउने शेयर सर्वसाधारणलाई वितरण गर्न लागेको हो । ३ जिल्ला कार्यक्षेत्र रही ४ वर्षअघि सञ्चालनमा आएको उक्त लघुवित्तले पहिलो ३ वर्ष निरन्तर घाटा व्यहोर्दै आए पनि गत आर्थिक वर्षमा २१ रुपैंया प्रतिशेयर आम्दानीसहित नाफा कमाएको थियो । 

दोस्रो बजारमा यस संस्थाको शेयर ६७.१४ रुपैंयादेखि २०१.४२ रुपैंयासम्म पहिलो कारोबार हुनेछ । थोरै शेयर भएको र करिब ८ हजारले मात्रै शेयर प्राप्त गर्ने भएकोले दोस्रो बजारमा यसको मूल्य भने निकै माथिसम्म जानसक्ने सम्भावना छ । बजारमा लघुवित्त संस्थाको शेयर तुलनात्मक रुपमा धेरै भएकोले यो प्रभाव समेत यस कम्पनीको मूल्यमा पर्न सक्छ । पछिल्लो वर्षको नाफाले यसमा थप उत्साह समेत दिएको छ । 

सर्वसाधारणले यो आईपीओमा १० कित्ता मात्रै आवेदन दिनु उपयुक्त हुन्छ । लघुवित्त क्षेत्रका आईपीओमा ४÷५ लाख आवेदक हुने गरेकोमा ८ हजारले मात्रै यो शेयर पाउने भएकोले यसमा सोभन्दा बढी शेयर पाउने सम्भावना छैन । 

३. लिवर्टी इनर्जी कम्पनी लि.
हाइड्रोपावर समूह अन्तर्गत पर्ने लिवर्टि इनर्जीको आईपीओ भने बुधबारदेखि नै खुला भएको हो । यसको अन्तिम आवेदन आइतबारसम्म दिन सकिन्छ । सो कम्पनीले ३७ लाख ५० हजार कित्ता शेयरका लागि अनुमति लिएकोमा स्थानीयबासीले सीमित मात्रै आवेदन गरेपछि अहिले ३५ लाख ६४ हजार ९३० कित्ताको लागि आवेदन खुला गरेको हो ।  

यो कम्पनीले अहिले बडिगाडखोलामा २४.६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, लमजुङको लोदोखोला साना जलविद्युते आयोजनामा १.६ मेगावाटको आयोजना समेत निर्माण गरिरहेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैंया रहेको सो कम्पनीले जनाएको छ । यो औसत लागत हो । कम्पनीले गरेको लगानी ८ वर्षमा फिर्ता भइसक्ने जनाइएको छ । त्यसपछिको नाफा भने शेयरधनीले प्राप्त गर्न सक्नेछन् । 

अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ १ सय रुपैंया रहेको सो कम्पनीको शेयरमूल्य १ सय देखि ३ सय रुपैंयासम्ममा पहिलो कारोबार हुन सक्नेछ । हाइड्रो क्षेत्रमा लगानीको आकर्षण तुलनात्मक रुपमा कम हुने भएकोले यो शेयरमा कति आवेदन पर्छ भन्ने अनुमान गर्न कठिन छ । त्यही भएर क्षमता अनुसार लगानी गर्न उपयुक्त हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप