बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको अकर्मण्यता : निर्णय भएको दुई दिनमै उल्टियो उद्धार उडानको नीति

विदेशबाट आएकाहरुलाई राख्न होटल क्वारेन्टिन तयार
शुक्रबार, ०५ भदौ २०७७, ११ : ४५
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौं । सोचविचार बिना नै पहिला निर्णय गर्ने अनि विरोध हुन थालेपछि निर्णय फिर्ता लिने गरेको सरकारले फेरि एकपटक आफ्नो अकर्मण्यता प्रदर्शन गरेको छ । उद्धार (चार्टर) उडान सम्बन्धी कच्चा निर्णय गरेर सरकारले पुनः आफ्नो कमजोरी प्रदर्शन गरेको हो ।

सोमबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले तत्कालका लागि सबै उद्धार उडान स्थगित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । सोही अनुसार सरकारले विदेशमा रहेका नेपालीको उद्धारका लागि चार्टर उडान स्थगित गरेको थियो ।

सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि सरकार आफ्नै निर्णयबाट पछाडि हट्न बाध्य भएको हो । बिहीबार सरकारले आफ्नो पूर्वनिर्णय सच्याउँदै विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धार उडान पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

सोमबार सीसीएमसीले मुलुकभित्र कोभिड–१९ को संक्रमण र जोखिम तीव्र रुपमा बढेर गएको अवस्थामा संक्रमितहरुको व्यवस्थापनमै कठिन पर्न थालेको भन्दै तत्कालका लागि उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो । सीसीएमसीले मंगलबारदेखि नै लागु हुनेगरी कुनैपनि उद्धार उडान नगर्न पराष्ट्रमन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सोमबार दुबई उद्धार उडानमा गएको नेपाल वायुसेवा निगमको जहाज सोही निर्णयपछि मंगलबार रित्तै नेपाल फर्किएको थियो । दुबई पुगेको नेपाल वायुसेवा निगमको जहाज नेपाली श्रमिकहरुलाई अलपत्र छाडेर रित्तै फर्किएपछि सरकारको निर्णयको आलोचना भएको हो । सरकारको निर्णयको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णय सच्याउन बाध्य हुनु परेको हो ।


सशर्त उद्धार उडान हुने

बिहीबार मन्त्रिपरिषद् बैठकले सशर्त उद्धार उडान गर्न दिने निर्णय गरेको छ । विदेशबाट उद्धार चाहनेले अब सरकारले भने बमोजिम स्वास्थ्य सुरक्षा तथा कोभिड–१९ सुरक्षा व्यवस्थापन प्रोटोकलको नियम अनिवार्य पालन गर्नुपर्ने छ ।

सरकारी नियम अनुसार अब स्वदेश फर्कन चाहने नेपालीले अनिवार्य पीसीआर नेगेटिभको प्रमाणपत्र(रिपोर्ट) पेस गर्नुपर्ने छ भने, नेपाल उत्रिसकेपछि १४ दिन अनिवार्य होटल क्वरेन्टिनमा बस्नुपर्ने छ ।

तर, होटलमा बस्न नसक्ने तथा बेखर्ची बनेकालाई भने सरकार आफैले व्यवस्थापन गर्ने छ । त्यस्ता व्यक्तिले सरकारले तोकेको क्वरेन्टिनमा बस्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । त्यस्ता व्यक्तिहरुको क्वारेन्टिन खर्च भने श्रम कल्याणकारी कोषमार्फत सरकार आफैले बेहोर्नेछ ।


विदेशबाट आएकाहरुलाई राख्न होटल क्वारेन्टिन तयार

सरकारले विदेशबाट आउने नेपालीहरुका लागि होटल क्वारेन्टिनको व्यवस्था गरेको छ । १४ दिन क्वारेन्टिन बसाइको खर्च व्यक्ति स्वयंले बेहोर्ने गरी सरकारले काठमाडौंका विभिन्न होटलको व्यवस्था गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै क्वारेन्टिनका लागि तयार पारिएको पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको छ ।

झण्डै एक सयको हारहारीमा तोकिएको होटलहरुमा होटलको स्तर हेरी प्रतिदिनको रेट तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको विवरण अनुसार पाँच तारे होटलमा बस्न चाहनेले एक दिनको नौ हजार (९,०००) रुपैयाँसम्म तिर्नुपर्नेछ ।

त्यस्तै, चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले ५ हजार ५ सय, दुई तारेमा बस्नेले ३ हजार ५ सय, एक तारेमा बस्नेले २ हजार ५ सय र पर्यटकस्तरीय होटमा बस्नेतले प्रतिदिन १ हजार ८ सय रुपैयाँसम्म तिर्नुपर्छ ।

तर होटलमा बस्ने क्षमता नभएकाहरुका लागि भने सरकार आफैले व्यवस्था गर्नेछ ।

दुबईमा अलपत्र परेकाहरुको उद्धार हुने

मंगलबार दुबईबाट नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्किएपछि अलपत्र परेका नेपालीहरुको उद्धार हुने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धार उडानलाई निरन्तरता दिने निर्णय गरेसँगै ती नेपालीहरुको उद्धार हुने भएको हो । योसँगै नेपाल आउन तयार २६२ जना नेपालीहरुको उद्धार हुने भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार अगस्ट २३ मा ती २६२ यात्रीलाई लिन नेपाल वायुसेवा निगमको विमान दुबई जाने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप