शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तीजको रौनक नै छैन, दिन काट्नै गाह्रो भो’

शुक्रबार, ०५ भदौ २०७७, १३ : ०४
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौँ । आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा महिलाहरुले देवादिदेव महादेवको पूजा आराधनाका साथै नाचगानसँगै रमाइलो गरेर मनाउने गर्दछन् ।

आजको दिनमा व्रत बसेर शिवपार्वतीको पूजा, उपासना गर्यो भने सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजकै दिन गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् रे ।

तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गर्न लागेपछि साथीहरुले कसैले नदेख्ने ठाउँमा उनलाई लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरेर महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

साथीहरुद्वारा पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रमा उल्लेख छ । ‘हरित’ शब्दको अर्थ हरण र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

आजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन मध्यराति दर खाने चलन समेत छ ।

विगतका वर्षको कुरा गर्ने हो भने दिदीबहिनीहरु एकअर्काेका घर, पाटी प्यालेस लगायतमा पालैपालो गरेर महिनौँसम्म पनि तीजको कार्यक्रम आयोजना गरेर  नाचगान गर्दै मनाउने गर्दथे ।

कोरोनाको कहरका कारण सरकारले यो वर्ष पार्टीप्यालेस, भिडभाड गर्न, भेला हुन लगायत धेरै कुरामा निषेध गरेको छ ।

कोरोनाको डरले मानिस आफै पनि घरमै बन्दीझँै बसेका छन् । यस्तो अवस्थामा सबैले घरमै भीडभाड नगरी तीज मनाउनुपर्ने बाध्यता छ । त्यसैले पनि होला आज व्रतको दिनसम्म पनि खासै तीजको रौनक देखिएको छैन ।

रौनक नभएको तीज

हाम्रा कलाकार पनि यो वर्षको तीज रौनक नभएको बताउँदै आएका छन् । सांसद तथा लोकप्रिय गायिका कोमल वली पनि यो तीजको रौनक खासै नभएको बताउँछिन् ।

‘यो वर्षको तीज फिक्का छ । दिदीबहिनीले आफ्नो घरमै खुम्चिएर परिवारसँग मनाइरहेको अवस्था हो’ वलीले भनिन्, ‘पहिले एक महिना अगाडिदेखि विभिन्न स्थानमा दर खाने कार्यक्रम हुन्थे । दिदीबहिनी भेला भइन्थ्यो । दर खाएर नाचगान गर्दै रमाइलो गरिन्थ्यो ।’

कलाकारका लागि समेत विगतका तीज विशेष रहने  वलीले सुनाइन् । ‘तीजमा देशविदेशका कार्यक्रम हुन्थे । कलाकारहरुले सहभागी जनाउँथे’ वलीले थपिन्, ‘अहिले सङ्क्रमणले भेला भएर चाडबाड बनाउन दिएन । उल्टै मानिस नजिक हुन, कुरा गर्नसमेत दिएन ।’ यो वर्षको तीज तीज जस्तो आफूलाई नलागेको वलीको भनाइ रहेको छ ।

गायिका वलीको जस्तै विचार अभिनेत्री करिस्मा मानन्धरको पनि रहेको छ । उनले पनि यो तीजमा रौनक महसुस गरेकी छैनन् ।

तीजको रौनक नभए पनि संस्कृति जोगाउन मनाउनुपर्ने बाध्यता रहेको विचार राख्ने मानन्धर पनि घरमै सीमित रहेर तीज मनाउँदैछिन् ।

‘पहिला तीजका दिनमा धेरै ठाउँबाट बोलावट आउँथ्यो । एकडेढ महिना अगाडिदेखि तीज कार्यक्रमले भ्याइनभ्याई हुन्थे’ करिष्माले भनिन् ‘हिजो साँझ दरखाने दिन आमाकोमा जानुपर्ने थियो । घर नजिकै पनि छ । तर जान  मिलेन । स्टाफलाई पठाएर दर ल्याइयो ।’ आज व्रतको दिन पनि छोरी, स्टाफसँग घरमै बसेर तीज मनाउने योजना करिष्माले बताएकी छिन् ।

घरमै पूजा

तीजको विशेषता दर खाने मात्र होइन । दिदीबहिनी भेटघाट गर्ने, मन्दिर गएर शिव पार्वतीको पूजापाठ गर्दै दर्शन गर्नेदेखि धेरै सङ्ख्यामा भेला भएर नाचगान गर्दै एकअर्काेको सुखदुःख साट्नु पनि हो । तीजमा मन्दिर जान नपाउँदा, धेरै भेला भएर नाचगान गर्न नपाउँदा खासै रमाइलो महसुस गर्न नपाइने धेरैको तर्क रहेको छ ।

वरिष्ठ कलाकार बसुन्धरा भुसाल पनि तीजमा मन्दिर जान नपाउँदा, धेरै दिदीबहिनी भेला भएर नाचगान गर्न नपाउँदा खल्लो हुने बताउँछन् । तर विश्वभरि नै कोरोनाले आतङ्क मच्चाएको सदर्भमा रमाइलोका लागि रोगसँग खेलबाड गर्दै जीवन सङ्कटमा पार्न नहुने उनी विचार राख्दछिन् ।

‘कैयौँ वर्षदेखिका हाम्रा विभिन्न जात्रा, पर्व कोरोनाले यो वर्ष प्रभावित बनाएको छ । पूजा नदिए विध्वंश हुन्छ भन्ने जनविश्वास भएको कति मन्दिर, स्थानका पूजा प्रभावित भएका छन्’ अभिनेत्री भुसालले भनिन्, ‘देवताको आरधना मन्दिर गएर मात्र हुने होइन । घरभित्र बसेर पनि गर्न सकिन्छ । अब त्यस्तै गर्नुपर्छ ।’

अहिलेको अवस्थाले एक्लो जीवन के रहेछ भन्ने अनुभूति समेत गराएको बताउने भुसाल घरमै एक्लै व्रत पूरा गर्नु बुद्धिमता हुने बताउँछिन् ।

‘सक्नेले तीजमा व्रत बस्ने हो । नसक्नेले केही खाएर बस्ने हो । यो पर्व मनाउनु हाम्रो कतव्र्य हो’ भूसाल अगाडि थप्छिन्, ‘व्रत बस्ने आफ्नै लागि हो । अहिले लोग्नेका लागि हामी किन भोकै भनेर विवाद निम्त्याउने गरेका छन् । यस्तो विवादले हाम्रो संस्कृति जोगिन्न ।’ व्रतले महिलाकै  स्वास्थ्य, परिवार र देशलाई समेत राम्रो हुने विचार भुसाल राख्दछिन् ।

कोरोनाको कहरका कारणले यो तीजमा मन्दिर जानेभन्दा पनि घरमै सुरक्षित मनाउनुपर्ने विचार अभिनेत्रीको बेनिसा हमालको पनि छ ।

‘अहिले विश्वमै कोरना आतङ्क छ । यो समय मन्दिर जान पाइएन, दिदीबहिनी भेला हुन पाइएन भनेर दुःखमनाउ गर्ने बेला होइन,’ हमालले अगाडि थपिन्, ‘हामी एउटा जिम्मेवार नागरिक भएर आफू सुरक्षित रहेर रोग नियन्त्रणमा सरकारलाई सहयोग गर्नुपर्छ ।’

तीज अर्काे वर्ष फेरि आउने र भव्य रूपमा मनाउन पाउने बताउने हमालको अहिले संयमित हुनु, घरमा बस्नु नितान्त आवश्यक रहेको बताउँछिन् ।

दिन काट्नै गाह्रो

व्रतको दिन भोकै दिनभर बस्न गाह्रो हुने, समय कटाउन समस्या पर्ने भएकोले कतिपय महिला विगतका वर्ष यो दिनमा घुमघाम गर्ने, चलचित्र हेर्ने गर्दथे । कतिपय भने अरू भेला भएको ठाउँमा गएर नाचगान गर्थे ।

तर यो वर्ष कोरोनाको कहरका कारण घुमघाम गर्न, चलचित्र हेर्न र समूहमा भेला भएर रमाइलो गर्न मिल्दैन । रोगका कारण सरकाले यी सबैमा प्रतिबन्धसमेत लगाएको छ ।

यो अवस्थामा दिन कटाउन गाह्रो हुने दिदीबहिनीहरु बताउँदै आएका छन् । अभिनेत्री दीपिका प्रसाईं पनि अहिलेको अवस्थामा दिन कटाउन निकै कठिन हुने बताउँछिन् ।

‘सधैँभरि घुमेर, दिदीबहिनी भेला भएर रमाइलो गर्दै मनाउने गरेको कारण यो वर्ष घरमै बस्नु पर्दा कठिन त पक्कै पनि हुन्छ’ दीपिकाले भनिन् ‘अहिलेको समय महामारीको समय भएकाले बाध्यता छ । सबैले बुझ्नु पर्यो ।’

अभिनेत्री निता ढुङ्गानाको धारणा भने दीपिकाको भन्दा केही भिन्न रहेको छ । उनी कोरोनाको कारणले घरमै एक्लै तीज मनाउनु परे पनि दिन कटाउन गाह्रो नहुने उनी तर्क अगाडि सार्दछिन् ।

‘अहिले बाहिर निस्कन पाइँदैन । घरमै बस्नुपर्ने बाध्यता त छ’ निता भन्छिन्, ‘त्यसका लागि टिभी, मोबाइल, इन्टरनेट छँदैछ नि । दिन काट्न केको गाह्रो ।’

कस्ता गीतमा नाच्ने ?

तीजको दिन धेरैजसो नाचगानमै बिताउने समेत गर्दछन् । नाचगानका लागि कोही आफै गीत गाउँछन् । कोही भने बजारमा आएका गीतसङ्गीत घन्काएर नाच्ने गर्दछन् ।

केही वर्ष अगाडिसम्म तीजका लागि भनेर बजारमा आएका जुनै गीतमा पनि नाच्न मिल्ने अवस्था थियो । पछिल्लो समय भने तीजका लागि भन्दै विभिन्न गीतसङ्गीत निस्किए पनि ती सबैमा नाच्न मिल्दैन । किनभने तीजका लागि भनेर ल्याइए पनि गीत नाचगान गर्न योग्य, सुन्न योग्य भने छैन । तीमध्य केही अश्लील, केही भड्किलो पनि छन् । सीमित मात्र सांस्कृतिक महत्त्व बोकेका, दिदीबहिनीको कथाले भरिएका छन् ।

सांस्कृति महत्त्व झल्किएका, महिलाका दुःख सुखले भरिएका गीत मात्र तीजमा प्रयोग गर्नु उपयुक्त हुने बताइन्छ । तीजमा आफ्नो मौलिकता भएको गीत र लोकगीतमा नाचगान गर्दा राम्रो हुने नेपालको प्रथम अभिनेत्री भुवन चन्द बताउँछिन् ।

‘नाचगानका लागि बजारमा आएका प्रकारको गीत उपयुक्त होलान् । सङ्गीतभन्दा राम्रो अर्काे केही छैन’ अभिनेत्री चन्दले भनिन्, ‘तीजको गीतमा आफ्नो मौलिकता हुनुपर्यो । संस्कृति हुनु पर्यो । दिदीबहिनीको विषयमा बनेको हुनुपर्यो ।’ संस्कृतिक भजनमा पनि नाचगान गर्न सकिने भुवन सुनाउँछिन् ।

नाचगान गर्ने गीतको विषयमा भुवनकै जस्तो विचार अहिले पुस्ताकी अभिनेत्री दीपिका प्रसाईंको पनि रहेको छ । सामाजिक सन्देश दिने, चेतना जचाउने, दिदीबहिनीको कथा समेटिएको गीत यो दिनमा प्रयोग गर्न सकिने उनी बताउँछिन् ।

‘अहिले तीजका लागि भनेर आएका सबै गीत उपयुक्त छैनन्’ उनले भनिन् ‘सन्देश दिने, चेतना जचाउने, दिदीबहिनीको कथा समेटिएका गीत मात्र तीजमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप