शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा पनि घरमै सीमित भयो यसपालीको तीज

शनिबार, ०६ भदौ २०७७, १३ : २९
शनिबार, ०६ भदौ २०७७

 विशेषगरी हिन्दू नारीहरुको महान पर्व तीज आफैमा एउटा इतिहास बोकेको पर्व हो ।अहिलेको जस्तो भौतिक सुविधा  नभएको अवस्थामा चेली माइतीबीचको भेटघाट गर्ने एउटा माध्यमको रुपमा तीज अर्थात हरितालिका पर्वको विकास भएको हो ।

वर्षदिनभरि मनभित्र गुम्सिएका दु:ख,पीडा र दर्दलाई संगालेर तीजको प्रतिक्षामा बस्ने परम्परा अहिलेको अवस्थामादन्त्य कथामा परिणत भैसकेको छ ।तर यो वास्तविकता धेरै पूरानो छैन, एक दुई पुस्ता अगाडिका भोगाइलाई नियाल्ने हो भने छर्लंग हुन्छ । हरितालिका तीजको व्रत बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथासुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता रहेको छ ।
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । यसको अर्थ पार्वतीको जस्तै तपस्या गर्नु मात्र नभई कुनै पनि कार्यको लागि एकचित्त भएर लागिपरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने बुझ्न पनि जरुरी छ ।

पछिल्लो समयमा आएर तीज पर्व एउटा मनोरन्जन र प्रदर्शनीको माध्यम बनेको छ । तीजको मौलिकतालाई भन्दा पनि लाउने, खाने अनि देखाउने होडबाजीमा यस पर्वको विकास हुँदै गएको छ । देश तथा विदेशमा महिनौं अघिदेखि तीजको कार्यक्रमको आयोजना गर्ने परम्परा चलिसकेको छ । तीजको अवसरमा महिलाहरु रातो, हरियो, पहेंलो रंगका पहिरन अनि चुरा पोतेमा सजिएर नाचगान गर्दै  रमाइलो गर्ने गर्दछन् ।

तर यो पटकको तीज भने बिल्कुलै फरक रह्यो । न त ठूला ठूला कार्यक्रम नै भए, नत राता, हरिया अनि पहेंला रंगका वस्त्रमा सजिएका महिलाहरुको जमघट नै देख्न पाइयो । कोरोनाको कहरले नेपालमा जस्तै बेलायतका केही ठाउँमा फाट्टफुट्ट २/४ जनाको जमघट बाहेक खासै रमझम देखिएन । विश्व महामारीको रुपमा रहेको कोरोना संक्रमणका कारण स्वास्थ्य नै धन हो भन्ने मान्यता अनुरुप अर्को वर्षको तीजमा रमाइलो गर्ने कल्पना बोकेर घरघरमै तीजको दर खाने र ब्रत बस्ने गरियो । प्राय मन्दिरमा हुने पूजाआजा कार्यक्रम कोरोना संक्रमणका कारण स्थगित गरिएका कारण मन्दिरमा गैर पूजा गर्नेहरुले घरमै पूजा गर्न बाध्य भए ।

'बेलायत बसाइको दुई दशकमा पहिलोपल्ट एक्लै बसेर तीज मनाइयो, मन्दिरमा गएर पूजा गर्न पाइएन’ नेप्लिज वमेन एसोसिएशन यूकेकी अध्यक्ष आरती श्रेष्ठले भनिन् । विश्वमा नै महामारीका रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित रहनु नै सबैभन्दा महत्वपूर्ण भएकोले यतिबेला रमझम गर्नु भन्दा आफू सचेत भएर बस्नुपर्ने श्रेष्ठले बताइन्। 
प्रत्येक वर्ष नेपाली दूतावास लन्डनले आयोजना गर्ने तीजको कार्यक्रम लगायत विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने तीज कार्यक्रमको स्मरण गर्दै यसपटक खल्लो महसुश भएको उनी बताउँछिन् । अर्को वर्षको तीजमा रमाइलो गर्ने आशा गर्दै आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न सबैलाई आग्रह गरेकी छन्  ।   

गायिका तथा नेपलीज वमेन एसोसिएशन यूकेमा समेत आवद्ध रहेकी सितु खरेलले पनि यसपालिको तीजमा रमाइलो गर्न नपाएकोमा चित्त बुझाएकी छन् । यसपालीको तीज घरमै पूजाआजा गरेर बिताइयो, रातो लुगा लगाएर वरिपरिका २/४ जना साथीहरुसँग बसेर दर खाइयो, आफ्नै जीवन रक्षाको लागि हो आफू सुरक्षित रहे तीज त अर्को साल पनि आइहाल्छ नि, उनले भनिन् । नेपाली दूतावास लन्डनले प्रत्येक वर्ष गर्ने तीज कार्यक्रम लगायत अन्य विभिन्न कार्यक्रमको मिस गरेको उनले बताइन् ।
 करिब २८ वर्षको बेलायत बसाइमा पहिलोपल्ट साथीहरुबाट अलग रहेर तीज मनाउनुपरेको उनी बताउँछिन् । साथीभाई तथा आफन्तबाट टाढा बस्दा कस्तो हुँदोरहेछ भन्ने पहिलोपल्ट अनुभव गरेको खरेलले बताइन् ।

लगभग २५/३० जनाको ग्रुप जम्मा भएर रमाइलो गर्दै २५ वर्ष अगाडि तीज मनाएको स्मरण गर्छिन् बिन्दु सुब्बा  । अहिले जस्तो धेरै नेपालीहरु त्यसबेला नभएपनि चाडपर्वमा जम्मा भएर रमाइलो गर्दै आएकोमा अहिले पहिलोपटक एक्लै बसेर तीज मनाउँदा खल्लो भएको उनले बताइन् । '२/ ४ जना जम्मा भएर दर खाइयो मन्दिरमा गएर पूजा गर्न पाइएन, समय र परिस्थिति अनुसार चल्नै पर्छ,कोरोनाबाट सुरक्षित रहन सके अर्को साल रमाइलो गरौंला सबैजना स्वस्थ र सुरक्षित रहन आग्रह गर्छु' सुब्बाले भनिन  ।  

विगतका वर्षहरुमा तीजको विभिन्न कार्यक्रममा भ्याईनभ्याई जानुपर्दाको हैरानी, नयाँ कपडा किन्नुपर्ने झन्झटबाट यसपटक विश्राम पाएको अनुभूति गर्छिन् कोसेली नेपाली सांस्कृतिक परिवारकी अध्यक्ष शर्मिला सिंह । बेलायतमा ३० वर्ष बिताइसकेकी उनले परिवार तथा आफन्तसँग बसेर तीज मनाएको बताइन् ।

यसैबीच साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबार बिहानैदेखि तीज विशेष पूजाआजा कार्यक्रम सम्पन्न भएको छ ।  मन्दिरका मूलगुरु ज्योतिष पन्डित निलहरि घिमिरेद्वारा पूजा कार्यक्रम तथा साँझ आरती सम्पन्न गरिएको थियो । कोभिड १९ महामारीका कारण बेलायत सरकारको निर्देशिकालाई ध्यानमा राख्दै विभिन्न समय समूहमा बाँडेर ३० जनालाई मात्र मन्दिरमा प्रवेश गराइएको मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले जानकारी दिइन् ।  महामारीको असहज अवस्थामा पनि व्रतालु महिलाहरुको लागि पूजाआजासम्म गर्न सक्ने वातावरण बनाउने कोशिस गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप