शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'डिजिटलाइजेशन र महिलाको भूमिका'

समृद्व समाज निर्माणका लागि प्रविधिमा महिलाको पहुँच र सहभागितामा सरोकारवालाको जोड
आइतबार, ०७ भदौ २०७७, १८ : १५
आइतबार, ०७ भदौ २०७७

काठमाडौं  । प्रविधिको विकासक्रमसँगै लैंगिक समानता र सहभागिताको कुरा अझ बलियोसँग स्थापित हुँदै गएको छ । पछिल्लो प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । आधाभन्दा बढी जनसंख्या  रहेर पनि विविध कारणले पछि परेका महिलाहरू प्रविधिमा अभ्यस्त हुन सके समाजलाई सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ ।

भदौ ६ गते 'वुमन इन आइटी' को एसोसिएशनमा आयोजना भएको डिजिटल संवादको १७औं श्रृंखलामा ‘महिला र डिजिटलाइजेशन’ विषयमा बोल्दै प्रविधि क्षेत्रमा संलग्न अग्रणी महिलाहरूले प्रविधिको महत्व र समानताको बारेमा कुरा गरेका थिए । 

प्रविधि क्षेत्रमा महिलाको सहभागिताले डिजिटलाइजेशन र ज्ञानमा आधारित समाज निर्माणमा सहज हुने धारणा उनीहरूले व्यक्त गरे । प्रविधि क्षेत्रमा कार्यरत १५० बढी महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा बोल्दै सूचना प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका नेपाली महिलाहरूले आफ्नो अनुभव सेयर गरेका थिए । 

पछिल्लो समय नेपालमा पनि महिलाहरू प्रविधिको क्षेत्रमा अग्रसर भइरहेको पाइन्छ । तर, उद्यमी तथा प्राविधिक पक्षबाट नेतृत्व गर्ने क्रममा महिलाहरू पछाडि परेको अध्ययनले देखाउँछ । बैङ्किङ क्षेत्रमा व्यवस्थापनमा महिलाहरूको संख्या उल्लेख्य भए पनि प्राविधिक पक्षमा कम रहेको प्रभु बैंक आइटी प्रमुख रत्नतारा वैद्यले बताइन् । महिलालाई अगाडि बढाउन डिजिटल साक्षरता महत्वपूर्ण हुने बताउँदै वैद्यले अबको समयमा महिलाहरू आफै अग्रसर हुनुपर्ने धारणा राखिन् । 

नेपालको पहिलो कम्प्युटर इन्जिनियर तथा वुमन इन आइटी संस्थाको अध्यक्ष गुणकेशरी प्रधान, महिलाहरू आफै क्रियाशील हुनुपर्ने बताउँछिन् । कतिपय सन्दर्भमा महिलाले आइटी तथा प्राविधिक काम गर्न सक्दैनन् भन्ने सोचाइले पनि नेतृत्वमा अवसर नपाएको प्रधानको भनाइ छ । 

पहिलो महिला प्रोफेसर तिमिला यमीले दुर्गम क्षेत्रका महिलालाई पनि प्रविधिको पहुँचमा ल्याउनुपर्ने र यसको लागि ग्रामीण दूरसञ्चार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् । विद्यालय स्तरको शिक्षादेखि नै बालिकाहरूलाई कम्प्युटरतर्फको ज्ञान दिने र उच्च शिक्षामा प्राविधिक शिक्षा अध्ययनमा प्रोत्साहन गर्नुपर्ने यमीको भनाइ छ । 
 
भर्चुअल राउण्ड टेबल डिस्कसनमा बोल्दै महिला तथा बालबालिका विभागकी महानिर्देशक रोशनी कुमारी श्रेष्ठले सरकारको पोलिसी तथा योजनाहरूमा कार्यक्रम राखिए पनि लक्षित महिलाहरूले प्राप्त गर्न नसकेको र पोलिसी कार्यान्वन पक्ष फितलो रहेको बताइन् । 

सरकारले नयाँ योजनाहरू ल्याएर महिला उद्यमीहरूलाई सहयोग पु¥याइरहेको उनले बताइन् । तर, सरकारको योजनाबद्ध कार्यक्रम र डिजिटल साक्षरताको कमीले अझै महिलाहरू पछि परेको श्रेष्ठको भनाइ थियो । 

कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीता कुमारी अधिकारीले दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच पुग्न नसकेको कारण महिलाहरू अझ ओझेलमा परेको बताइन् । पछिल्लो समय वैकल्पिक शिक्षा प्रयोगमा पनि समस्या रहेको बताउँदै अब नयाँ पुस्ता प्रविधिमा अभ्यस्त बनाउन प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई योजना, कार्यक्रम र बजेटमा सहयोग गर्नुपर्ने अध्यक्ष अधिकारीले बताइन् ।

ऐनसेलको प्राविधिक प्रबन्धक लेना केशरी कंसाकारको अनुसार सबैभन्दा महत्वपूर्ण कुरा भनेकै आत्मविश्वास हो । ‘महिलाहरूले आइटी क्षेत्रमा राम्रो गर्नका लागि आफू माथि विश्वास गर्नु र प्रोत्साहन लिएर अघि बढ्नु नै अहम् कदम हो,’ कंसाकारले भनिन् । राम्रो शिक्षाले महिलालाई प्राविधिक क्षेत्रमा अघि बढ्न सहज हुने बताउँदै शिक्षामा समान पहुँच र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कंसाकारले बताइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको उपनिर्देशक रोजा किरण वासुकलाले अहिलेको समयमा सूचना, सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरेर अघि बढ्नुपर्ने बताइन् । दूरसञ्चार प्राधिकरणले पनि महिलालाई प्रविधिमा पहुँच बढाउन विभिन्न कामहरू गरिरहेको बताउँदै डिजिटल कनेक्टिभिटी र साक्षरता भएमा महिला, पुरुषको ग्याप कम हुँदै जाने वासुकलाको भनाइ छ । उनले भनिन्, ‘प्रविधिमा महिलाले नेतृत्व गर्न पुरुषको सहयोग र महिलाको प्रयासले सम्भव हुन्छ ।’ 

एनबी बैंकको शाखा प्रबन्धक अञ्जना लोहनीले आइटी क्षेत्रमा महिलाहरूले आफू सक्छु भन्ने मनसायसँगै अघि बढ्नुपर्ने बताइन् । आइटीमा काम गर्दा समय व्यवस्थापनको चुनोती हुने हुँदै महिलाहरूले अलि अप्ठ्यारो मान्ने गरेको उनको भनाइ थियो । अब महिलाले सोचाइ फराकिलो बनाउँदै डिजिलाइजेसनको प्रक्रियामा महिलाहरूले उपस्थिति बढाउनुपर्ने लोहनीको सुझाव छ । 

सोचवेरको सहसंस्थापक र सीइओ इडा रिजालको अनुसार प्रविधिको पहुँचमा लिंगको कुनै भूमिका हुँदैन । महिलाले टेक्नोलोजी तथा प्रोग्रामिङमा काम गर्न सक्दैनन् भन्ने धारणा नै गलत भएको भन्दै अबको ग्लोबलाइज्ड सिनारियोले महिलाहरूलाई अवसर सिर्जना गरेको रिजालले बताइन् । महिलाले आइटी क्षेत्रमा राम्रो पहुँच बनाउन त्यस अनुसारको महिलामैत्री वातावरण सिर्जना गरिदिनुपर्ने रिजालको भनाइ थियो । 

फिल्पिस अल्ट्रा साउण्डको सफ्टवेयर इन्जिनियर विना बोगटीकाअनुसार आइटी क्षेत्रमा अहिले पनि पुरुषकै वर्चस्व भए तापनि महिलाहरू अघि बढे भने यो क्षेत्रमा एकदमै राम्रो भविष्य रहेको छ । अहिले लकडाउनको समयमा त होटेलको भान्छामा काम गर्ने मान्छेले पनि अर्डर लिन र चलाउन टेक्नोलोजीको ज्ञान हुनु आवश्यक देखिएको भन्दै डिजिटल लिट्रेसी बढाउन सके वातावरण सहज हुँदै गरेको बोगटीको भनाइ थियो । 

सेजनका उपाध्यक्ष तथा कारोबार दैनिकका सरु ढकालले महिलाहरू अहिलेको डिजिटल युगमा पुरुष सरह दाबेदार रहेको तर उचित शिक्षा, प्रोत्साहन र महिलामैत्री वातावरणको कमीले पछि परिरहेको बताइन् ।

डिजिटल संवादको महिला र डिजिटलाइजेसन सम्बन्धी कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, क्यानका संस्थापक अध्यक्ष विमल शर्मा र पूर्व अध्यक्ष लोचन अमात्य लगायतले प्रविधि तथा डिजिटलाइजेनसनमा महिलाको भूमिका र यसले समाजमा पार्ने सकारात्मक प्रभावको बारेमा विचार राखेका थिए । वुमन इन आइटीका शिखा श्रेष्ठ र पल्पसा तुलाधार कंसाकारले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाहरूको उल्लेख्य सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप