बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा यसरी गरिँदैछ कोरोना खोपको तेस्रो चरणको ट्रायल

सोमबार, ०८ भदौ २०७७, १७ : ०४
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि विश्व शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा भइरहेको बेला खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिस्प्रर्धा देखिन थालेको छ । पछिल्लो समय खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिष्प्रर्धा देखिन थालेको हो । नेपालले पनि कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेको  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य  सचिव प्रदिप ज्ञवाली बताउँछन्  ।

खोपको तेस्रो चरणको ट्रायलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएकाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायलका लागि अध्ययन  गरिरहेको परिषद्का सदस्य सचिव ज्ञवालीको भनाइ छ ।   नेपालले भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपका बारेमा परिषद्ले गहन अध्ययन गर्ने र प्रक्रियामा जान थालिएको समेत उनले बताए । नेपालमा अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेका कम्पनी, रुसको गेमेलिया र चीनको हङ सी कम्पनीले निर्माण गरेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रयालको लागि इच्छा देखाएका छन् । 


विश्वसनीय आधारमा मात्रै ट्रायल अनुमति दिनुपर्छ 
नेपालमा तेस्रो चरणको ट्रायलमा ल्याउँदा खोप निर्माणको पहिलो र दोस्रो चरण विधिपूर्वक (क्लिनिकल ट्रायल) गरेर पियर रिभ्यु गरे–नगरेको पत्ता लगाएर मात्र ल्याउनुपर्ने जनस्वास्थ्यविद् रविन्द्र पाण्डे बताउँछन् ।  अन्य धेरै राष्ट्रमा ट्रायलमा गएको खोपलाई मात्रै क्लिनिकल ट्रायल गर्ने अनुमति दिन जरुरी भएको उनी बताउँछन् । यता, कतिपय राष्ट्रले कोरोना विरुद्धको खोप निर्माणको दाबी गरे पनि ती राष्ट्रले बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित नगरेको जनस्वास्थ्यविद्ध बाबुराम मरासिनी बताउँछन् । बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित नगर्ने राष्ट्रले निर्माण गरेकोे खोप तेस्रो चरणको ट्रायलको लागि ल्याउँदा घातक बन्न सक्ने डा.पाण्डेको पनि प्रतिक्रिया छ ।

सरकारले रुसमा निर्माण भइरहेको कोरोना विरुद्धको खोेपका लागि प्रक्रिया सुरु गरेको भनिरहँदा सो खोपले साइड इफेक्ट धेरै देखिन सक्ने प्रतिक्रियाहरु पनि आइरहेका छन् । रुसको गेमेलिया इन्स्टिच्युटले निर्माण गरेको उक्त खोप तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि बैज्ञानिक जर्नलमा (अनुसन्धान निश्कर्ष) प्रकाशित नगरेका कारण वैज्ञानिकहरूले असहमति जनाउँदै आएको डा.पाण्डेले बताए । त्यस्तै रुसले नै साइबेरियामा रहेको  विश्वकै ठूलो भाइरस ल्याबमा कोरोना विरुद्धको अर्को खोपको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल गरेको छ । उक्त खोपको नतिजा पहिलो खोपभन्दा प्रभावकारी  भएको अनुसन्धानहरूले देखाएको उनी बताउँछन् । 

अपरिपक्व तरिकाले खोप निर्माण गरेका कम्पनीका खोप ट्रायलकै लागि प्रयोग गर्दा झन् जोखिम बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारी बताउँछन् । कोेरोना विरुद्धको खोप बनाएका राष्ट्रले ट्रायलका लागि इच्छा देखाएपनि  खोप निर्माणका क्रममा प्रत्येक चरण पार गरेको नगरेको गहन रुपमा अध्ययन गरेर अनुमति दिनुपर्ने डा.अधिकारीको भनाई छ । क्लिनिकल ट्रायलमा सहभागी हुनु भनेको जोखिमपूर्ण काम भएकाले गहन अध्ययन विना ल्याइएको खोपले स्वास्थ्यमा गम्भीर असर पार्ने  समेत विज्ञहरूको भनाई छ ।

ट्रायल खोप भन्दैमा डराउनुपर्दैन 

विश्वसनीय कम्पनीले खोप निर्माणका प्रत्येक प्रक्रिया र तह पार ल्याएको छ भने तेस्रो चरणको ट्रायलसँग डराउनु नपर्ने विज्ञहरुको प्रतिक्रिया छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गहन अध्ययन गरेर नै तेस्रो चरणको ट्रायलका लागि खोप ल्याउन लागेको डा.मरासिनीले बताए ।  डा.पाण्डेले पनि केही विश्वसनीय कम्पनीहरुले विकास गरेका खोपहरुलाई अनुमति दिन सकिने बताए । उनले अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेका, जर्मनी र अमेरिकाको संयुक्त प्रयासमा फाइजर कम्पनी, अमेरिकाकै  मोडेर्ना, चीनको कान्सिनो बायोलोजिक्स, भारतको कोभ्याक्सिन र चीनकै सिनोफार्म बायोटेकले विकास गरेका खोपलाई नेपाल सरकारले तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिन सक्ने दाबी गरे ।

त्यस्तै डा.अधिकारीअनुसार कोरोनाभाइरसविरुद्ध बनेको खोप तेस्रो तह पास गर्न कम्तीमा ५÷६ महिनाको  समय लाग्न सक्छ । उनले पनि विश्वसनीय कम्पनीले प्रक्रिया पुर्याएर ल्याएको खोप तेस्रो चरणको ट्रायलका लागि प्रयोग गर्दा डराउन नपर्ने बताए । भाइरस विरुद्धको खोप बनाउने जुनसुकै निकायले ल्याब, जनावर र सीमित मान्छेमा समेत परीक्षण गरेर त्यसको उपयोगिता तथा असर पत्ता लगाएर मात्रै मानिसमा ट्रायल गर्ने उनको भनाई छ ।  त्यसैगरी कोरोनाभाइरस विरुद्धको खोप पनि विभिन्न चरणमा परीक्षण गरेर मानिसमा ट्रायल गरिएकोले ट्रायलका नाममा डराउन नहुने डा.अधिकारी बताउँछन् ।

डा.मरासिनीले भने तेस्रो तहको ट्रायल पास गरेपछि खोप महँगोमा किन्नुपर्ने भएकोले पनि ट्रायलका लागि नेपाल भित्र्याउनुपर्नेमा जोड दिए । महामारीका बेलामा संसारमा कोरोनाको खोप तथा औषधिको अत्यधिक माग हुने भएकाले नेपालले खोप पाउने सम्भावना कम हुने उनको भनाई छ । त्यसैले राम्रा कम्पनीले निर्माण गरेको खोप ट्रायलका लागि नेपालमा ल्याउने पहल सकारात्मक भएको उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप