शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६९ पुग्यो

मङ्गलबार, ०९ भदौ २०७७, १६ : ४७
मङ्गलबार, ०९ भदौ २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६९ पुगेको छ । नेपाली राजदूतावास लन्डनको तथ्याँकअनुसार सोमबार दिउँसो कोरोनाबाट संक्रमित ५१ वर्षीय साना शेर्पाको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९ पुगेको हो । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ५८ जना भूतपूर्व गोर्खा र तिनका परिवारहरु रहेका छन् भने बाँकी अन्य रहेका छन् । यसैगरी मृत्यु हुनेमा ५७ पुरुष र १२ महिला रहेका छन् । बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिङ राई रहेकी छन् ।

सोमबार मात्र कोरोना संक्रमित शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको उपचारको क्रममा मृत्यु भएको छ । गत जुलाई १३ मा केन्टको विलियम हार्भी अस्पताल भर्ना भएका गरिएको र उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई लन्डनको सेन्ट थोमस अस्पताल सारिएको थियो । दुई हप्ता अघिको परीक्षणमा कोरोना मुक्त भएपनि कलेजोमा देखिएको समस्याका कारण उनको निधन भएको हो  । बेलायत सरकारले लागू गरेको कोरोनाबाट मृत्यु हुने तथ्याँकको नयाँ मापदण्डअनुसार कोरोना संक्रमण भएको २८ दिनभित्र भएको निधनलाई कोरोनाको मृतक घोषणा गरिन्छ । भोजपुर पुर्ख्यौली घर भएका स्वर्गीय शेर्पा परिवारसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका श्रीमती र तीन छोरा छन् । शेर्पा संघ यूके लगायतका सामाजिक संघ–संस्थामा आबद्ध शेर्पा सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए ।

पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै गएपनि  संक्रमितको संख्या भने बढ्दै गएको छ । युरोपमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि नै बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै चेतावनी दिँदै आएका छन् । कोरोना संक्रमणसम्बन्धि राम्रै पाठ सिकेको बेलायतले यसपटक निकै सावधानी अपनाउँदै आएको छ ।

बेलायतमा हालसम्म कोरोनाबाट ४१ हजार ४ सय ३३ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । तर राष्ट्रिय तथ्याँक विभागले भने उक्त संख्यालाई वास्तविक संख्या नरहेको बताउँदै आएको छ । राष्ट्रिय तथ्याँक विभागले दिएको जानकारीअनुसार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार भन्दा बढी रहेको छ । यता सरकारले भने यसै महिनाको सुरुमा कोरोना संक्रमित संख्यामा ५ हजार ३ सय ४० घटाएको छ । कोरोना संक्रमण पुष्टि भएको २८ दिन सम्मको मृत्युलाई मात्र कोरोनाको मृतक घोषणा गरिने नयाँ मापदण्ड अनुरुप उक्त संख्या घटाइएको हो ।

बेलायतमा हाल कोरोना संक्रमितको संख्या दैनिक एक हजारको हाराहारीमा थपिँदै गएको छ । तर मृतक संख्यामा भने एकदमै कमी भएको छ । हिजो सोमबार सार्वजनिक तथ्याँकमा ४ जनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । यसअघिका केहि दिनहरुमा पनि दैनिक मृतक संख्या सिंगल डिजिट मात्र  रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप