बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जता विवाद उतै ईश्वर ! ‘जबज’को स्प्रिटमा सम्धीलाई सातौँ नियुक्ति, केको आपत्ति ?

पुग्ने कता हो कमरेडहरु ?
मङ्गलबार, ०९ भदौ २०७७, १७ : ११
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनताको बहुदलीय जनवाद (जबज) को धेरै वकालत गर्नेमध्येका नेता हुन्– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल । सचिवालय सदस्य तथा नेकपाको स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेल तिनै हुन् जो केपी ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये विवादमा परिरहनेमा पर्दछन् । 

कोरोना महामारी नियन्त्रणका लागि गठन भएको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका पोखरेलका गतिविधि र निर्णय एकपछि अर्को विवादित बन्ने गरेका छन् । 
कोरोना नियन्त्रणका लागि औषधि उपकरण खरिद गर्ने विषयमा होस् वा सेनालाई लकिरका फकिर भन्दै उछितो काढेको विषयले नै किन नहोस् पोखरेल विवादबाट टाढा हुन सकेका छैनन् । 

फास्ट ट्रयाक निर्माणका सन्दर्भमा आफ्नाले ठेक्का नपाएको झोँकमा पोखरेलले एक औपचारिक कार्यक्रममै सेनालाई दोषी देखाएका थिए । त्यसले सेना र रक्षामन्त्री बीचको सम्बन्धमै दरार आएको थियो । पछि मन्त्रालयले यसबारे विज्ञप्ति नै निकालेर उक्त समाचारको खण्डन गर्नुपरेको थियो ।  


पछिल्लो पटक पोखरेलले आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्ति गर्ने भएसँगै पोखरेललाई सामाजिक सञ्जाल प्रयोगकर्ता र नेकपाकै नेता कार्यकर्ताले जबजसँग तुलना गर्दै उनको धज्जी उडाएका छन् । 

आफूलाई जबजको हिमायती र केपी ओलीपछि त्यसको उत्तराधिकारी आफै हुँ भन्ठान्ने मन्त्री पोखरेलको व्यवहार भने जबजको सिद्धान्तभन्दा ठीक विपरीत भएको उनीहरुको ठहर छ । 
मदन भण्डारीकै शब्दमा भन्ने हो भने ‘सामन्तवाद साम्राज्यवाद विरोधी, आर्थिक, सामाजिक, सांस्कृतिक आधारमा उभिएको नयाँ व्यवस्था’ हो ‘जबज’ । तर त्यही जबजको वकालत गर्ने मन्त्री पोखरेलले आफ्ना सम्धी कोइरालालाई सातौँ पटक नियुक्ति दिलाएर आफ्नो चरित्र उदाङ्गो बनाएपछि उनको सामाजिक सञ्जालमा मात्रै होइन, आफ्नै कार्यकर्ता पनि विरोध गर्न बाध्य बनेका हुन् । 
नेकपाका एकजना केन्द्रीय सदस्य पोखरेलले सम्धी कोइरालालाई दिलाएको नियुक्तिको विषयलाई ‘हद’ को संज्ञा दिए । 

उनले पोखरेलले विगत एमालेमा रहँदा पनि शक्तिको दुरुपयोग गर्दै पार्टीको विधि विपरीत आफ्नाहरुलाई धेरै अवसर दिने गरेको बताए । ‘यो उहाँको पुरानै बानी हो,’ उनले रातोपाटीसँग भने, ‘हिजो एमाले पार्टी रहँदा र राजनीतिक नियुक्ति गर्दा एउटा मापदण्ड बनाइएको थियो । त्यसमा अवसर नपाएका, पार्टीको काममा निरन्तर लागेका, एक पटक पाएकालाई पुनः अर्को पटक नदिएर अर्कोलाई अवसर दिने व्यवस्था थियो । तर त्यस्तो व्यवस्था हुँदा पनि पोखरेलले निरन्तर राजनीतिक शक्तिका आडमा कोइरालालाई आयल निगमको अध्यक्षदेखि खाद्य संस्थानको अध्यक्ष र मोरङ क्याम्पसको प्रमुख समेत बनाउनुभयो ।’
त्यति मात्रै होइन पोखरेलले त्यसपछि उनै कोइरालालाई उच्च शिक्षा परिषद्को उपाध्यक्ष र अहिले पनि वाणिज्य बैङ्कको अध्यक्ष बनाएको उनको भनाइ छ ।  

नेकपामा अरू योग्य छैनन् ? 
एउटै व्यक्तिले किन यसरी पटक पटक अवसर पाउँछ ? के अरू मानिस नभएर हो ? यसको सहज जवाफ हुन्छ कि त्यो व्यक्ति अद्भूत र चामत्कारिक क्षमता भएको हुनुपर्यो कि उसलाई राजनीतिक संरक्षणले काम गरेको हुनुपर्छ । तर कोइरालाको हकमा त्यस्तो अद्भूत क्षमता भएर होइन, आशीर्वादले नै काम गरेको हो । नेकपाकै अर्का केन्द्रीय सदस्य भन्छन्, ‘मानौँ कि उहाँभन्दा योग्य मान्छे यो धर्तीमा जन्मेकै छैनन् । उही मान्छे विश्वविद्यालयको उपकुलपतिदेखि खाद्य संस्थानको अध्यक्ष र उही मान्छे बैङ्कको अध्यक्षदेखि आयल निगमको अध्यक्ष बन्ने यो कस्तो विज्ञता हो ? मलाई अचम्म लाग्छ ।’

पुग्ने कता हो कमरेडहरु ? 
नेकपाकै जिल्ला स्तरीय नेता उषाकिरण तिम्सिनाले कोइरालाको नियुक्तिलाई लिएर लज्जा पनि लजाउँदैन र ? भनेर प्रश्न गरेकी छन् । उनले सार्वजनिक सम्पत्ति कथित नेताहरुको बिर्ता बनाउन खोजेको हो भन्दै नेताहरुलाई प्रश्न तेस्र्याएकी छन् । 

‘यसरी त लज्जा पनि लजाउँदैन र ?! के सार्वजनिक सम्पत्ति कथित नेताहरुको बाको बिर्ता हो ? लाखौँ जनताको रगत र पसिनामाथि जबाफदेहिता र पारदर्शिता हुन पर्दैन ?’  भन्दै उनले के एउटै व्यक्ति ५ ठाउँमा, १० ठाउँमा जिम्मेवारीका लागि योग्य र लायक हुन्छ ?’ भन्दै प्रश्न गरेकी छन् ।  

उनले राजनीतिमा नैतिकताको ठूलो मूल्य हुने भन्दै  सधैँ लुटिरहने हो ? भनेर नेताहरुलाई सोधेकी छन् । 
‘कति आलोचना मात्रै गर्नु ?! भनेर चुप लागेर बस्यो, एकपछि अर्को काण्डबाहेक केही हुन्न ? पुग्ने कता हो कमरेडहरु ? कति भए हजुरहरुलाई पुग्छ ?! यो तरिकाले कहाँ पुगिन्छ ? जबाफ चाहियो ?! अति भयो’, उनले अति भएपछि आफू लेख्न बाध्य भएको सङ्केत गरेकी छन् । 

अर्का सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता नरेश न्यौपानेले त मङ्गलबार आफ्नो फेसबुक वालमा पोखरेललाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘जबजको स्प्रिटमा स्कुल विभागको नेतृत्वले सम्धीलाई ७औँ पटक नियुक्ति दियो । केको आपत्ति ?’
न्यौपानेले त्यति मात्रै लेखेका छैनन्, उनले पोखरेलले २०५१ सालदेखि अहिलेसम्म खाएका नियुक्तिको नालीबेली नै पोस्ट गरेका छन् । 

जबजको स्प्रीटमा - स्कुल विभागको नेतृत्वले सम्धीलाई ७ औं पटक नियुक्ति दियो । के को आपत्ति ? १. - २०५१ सालको एमाले...

Posted by नरेश न्यौपाने on Tuesday, 25 August 2020

यस्तो छ कोइरालाको नियुक्तिको नालीबेलीः
१. २०५१ सालको एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक । 
२. कार्यकाल सकिएलगत्तै विराटनगरको एक स्नातकोत्तर क्याम्पसको प्रमुख । 
३. २०६१ मा जबजवादी स्कुल विभागको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा आयल निगमको कार्यकारी अध्यक्ष । 
४. निगमको कार्यकारीको कार्यकाल सकिएपछि केही समय खाली बस्नु परे पनि त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त । 
५. उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि राजेन्द्र खेतानको लक्ष्मी बैङ्कको अध्यक्ष । 
६. त्यसपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति । 
७. उपकुलपतिको कार्यकाल सकिएको केही महिनामै राष्ट्रिय वाणिज्य बैङ्कको सदस्य नियुक्त गरेर अध्यक्ष बनाइँदै ।

खतिवडा पनि त्यस्तै  
त्यसो त नेकपामा दशकौँदेखि लागेका क्षमतावान मानिसहरु हुँदै नभएका होइनन् । तर ती मानिसहरुले एक पटक पनि नियुक्ति वा अवसर नपाइरहेका बेला नेकपाबाट अवसर पाउनेमध्ये कोइराला र हालका अर्थमन्त्री डा. युवराज खतिवडा अग्र पङ्क्तिमा पर्छन् । अर्थमन्त्री खतिवडा पनि दुई पटक योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैङ्कको गभर्नर हुने सौभाग्यशाली व्यक्तिमा पर्छन् । 

दुई दुई पटक योजना आयोग र गभर्नर भइसकेका खतिवडा हाल अर्थमन्त्री छन् । ‘खतिवडा पनि ५१ सालयता खाली बसेका छैनन्, कुनै न कुनै अवसर लिइरहेका छन्’, नेकपाका ती केन्द्रीय सदस्यको भनाइ छ । 
कोइरालालाई नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयले सोमबार बैङ्कको सञ्चालकमा नियुक्त गरिएको छ । बैङ्कका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्थाअनुसार अब बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने तयारी छ । 

ईश्वर पोखरेललाई प्रश्न अब पोखरेललाई प्रश्न गर्नुपर्नेहुन्छ, यस्तो नियुक्तिले सामन्तवाद विरोधी काम भयो भएन ? आफ्ना हरुवाचरुवा, हुक्के, चिलिमेलाई भर्ती गर्ने र नियुक्ति गर्ने कुरा जबजको नीतिभित्र पर्छ पर्दैन ? जनताको बहुदलीय जनवादभित्र पार्टीभित्र ठूलो योगदान गरेका बुद्धिजीवीहरु होलन्, प्रोफेसर होलान्, कार्यकर्ता होलान् । सहिद परिवार होलान् । पार्टीका निमित्त हिजो लामो सङ्घर्ष गरेका योद्धा होलान्, उनीहरुको जीवन हेर्नुपर्छ कि पर्दैन ? उनीहरुलाई अवसर दिनुपर्छ कि पर्दैन ? उपेन्द्र कोइरालाभन्दा योग्य मानिस नेकपाभित्र छन् कि छैनन् ? उनको खास योग्यता के हो ?


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप