मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या अभियोगमा पक्राउ परेका युवकको मृत्युपछि रौतहटमा आन्दोलनको तयारी

प्रहरीको कुटाइबाट मृत्यु भएको परिवारको आरोप
बिहीबार, ११ भदौ २०७७, १० : १२
बिहीबार, ११ भदौ २०७७

रौतहट । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गत राति मृत्युु भएको छ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ वर्षीय विजयराम चमारको मृत्यु भएको हो ।

चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा गत राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पुुष्टि गरेका छन् । मृतकको शव हाल नेशनल मेडिकलमै रहेको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।

शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरीको निष्कर्ष रहेको छ ।

पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै गत १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले सातै जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद समेत थमाएर सोही दिन सार्वजनिक गरेका थिए ।

उता सार्वजनिक भएको भोलिपल्टदेखि नै विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा प्रदर्शन तथा आन्दोलन गर्दै आएका थिए ।

आफ्नो निर्दोष छोरालाई हत्यामा फसाउन प्रहरीले हिरासतमा यातना दिएर आरोप कबुल गराएको मृतक विजयराम चमारका बुवा पनीलाल राम चमारको दाबी छ ।

प्रहरीले हत्याका मुख्य योजनाकारलाई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयराम चमार यातना सहन नसकेर मृत्युु भएको उनले आरोप लगाए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पनिलाल रामको ओरोपको खण्डन गर्दै बिजयराम ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा हुँदा पिसाबमा समस्या देखिएपछि उनलाई स्थानीय अनामिका अस्पतालमा उपचारका लागी भर्ना गरेको बताए ।

अनामिका अस्पतालमा उपचारको क्रममा बिजयरामको किड्नी सम्बन्धी खराबी देखिएकाले डाक्टरको सल्लाह अनुसार दुई दिनअघि थप उपचारको लागी नेशनल मेडिकल अस्पताल वीरगञ्ज रेफर गरिएको थियो ।

नेशनलमा बिजयरामको पीसीआर परीक्षण गरी किड्नीको दुईपटक डायलासिस समेत गरेको र  दुईटै किड्नीले काम गर्न छोडेको कारण गत राति मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठको दाबी छ ।

यसैबीच चमारको मृत्युुको खबरले गरुडा क्षेत्रमा अहिले तनाव बढेको छ । गरुडामै अहिले दलित अगुवाहरु बसेर अगामी रणनीति बारे छलफल गरिरहेका छन् । छलफलपछि प्रहरी बिरुद्धको आन्दोलन अगाडी बढाउने एकजना दलित अगुवा राजगिर राम चमारले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप