शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना र बाढी प्रभावित पाँच सय ९७ परिवारलाई खाद्यान्न सहयोग

बिहीबार, ११ भदौ २०७७, १३ : १३
बिहीबार, ११ भदौ २०७७

काठमाडौं । बेलायतमा रहेका नेपालीहरुले कोभिड–१९ का कारण भएको बन्दाबन्दी र बाढी पहिरोको कहरमा परेका पाँच सय ९७ परिवारलाई सहयोग गरेका छन् । कोरोनाका कारण बन्दाबन्दी सुरु भएयताका पाँच महिनाको अवधिमा बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटीको संयोजनमा रोजगारी गुमाएका, दलित, अतिविपन्न र सीमान्तकृत समुदाय तथा बाढीपहिरो पीडितहरु समेत गरी पाँच सय ९७ परिवारलाई खाद्यान्न लगायतका सामाग्रीहरु वितरण भएको छ । 

दुःख पर्दा स्वदेशमा रहेका विपन्न परिवारलाई सहयोग गर्नुपर्छ भन्ने निःस्वार्थ भावनाले विभिन्न १६ जिल्लामा २० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले बताए । 
कोरोना र लकडाउनबाट प्रभावित उदयपुरको भुल्केका २० घर, चितवनको भरतपुरका २० घर, स्याङ्जाको पुतलीबजारका ४० घर, नेपालगञ्जका २० घर, सप्तरीको कञ्चनरुपका ३२ घर, कैलालीको धनगढीका ३० घर, दाङको घोराहीका ५० घर, जाजरकोटको भेरी नगरपालिकाका ६० घर, रुकुमको सानीभेरीका ४० घर र खोटाङको खोटेहाङका २० घर परिवारलाई सहयोग गरेको उनले जानकारी दिए ।

यस्तै, लमजुङको बेशीशहरका ६० घर, बाग्लुङको गल्कोटका ५० घर, मोरङको सुन्दरहरैँचाका ४० घर, म्याग्दीको मालिका र धौलागिरीका एक सय ४५ घर, तनहुँको घिरिङका ६० घर र सिन्धुपाल्चोकको भोटेकोशीका ५० घरलाई समेत खाद्यान्न सामाग्री वितरण भएको छ । 

सोसाइटीका नेपालस्थित प्रतिनिधि डा.बुद्धि नेपालीका अनुसार प्रति परिवार तीन हजार पाँच सय रुपैयाँ बराबरको प्याकेजमा ३० केजी चामल, ५ केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र साबुन बितरण गरिएको छ । भर्चुअल संवादमार्फत नेपालका दुर्गम गाउँ र बेलायतमा रहेका नेपालीहरुलाई जोडेर सार्वजनिक रुपमा स्थानीय जनप्रतिनिधि, सांसद र प्रशासन समेतको रोहबरमा राहत वितरण गरिएको उनले बताए । 
उनले विपद्का बेला सरकारले मात्रै सबै नागरिकको संरक्षण गर्न नसक्ने भन्दै मानवीय नाताले सहयोग गर्ने भावनालाई कायम राख्न आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप