केन्द्रीय संस्करण
कोरोनाभाइरस

‘पीसीआर परीक्षण व्यापक गरौँ, नेगेटिभ रिपोर्ट आएकालाई हिँड्न र काम गर्न दिऔँ’

हावाबाट पनि सर्न सक्छ, कन्ट्याक्ट ट्रेसिङमा मात्रै अल्झिनु हुन्न

person explore access_timeभदौ ११, २०७७ chat_bubble_outline0

अहिले कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलिसक्यो । प्रहरी सङ्गठन, स्वास्थ्यकर्मी, विभिन्न टोल बस्तीहरूमा भित्रभित्र फैलिरहेको छ । कोरोना नियन्त्रणका लागि सुरुवाती चरणबाटै कमजोरीहरू भएका छन् ।

सुरुमा प्लेनबाट कोरोना आउँछ भन्नेमा मात्र सरकार केन्द्रित भयो तर दक्षिणबाट बस चढेर नेपाल भित्रियो । भारतबाट व्यापक मात्रामा मान्छे भित्रिँदा कोरोना पनि भित्रियो । गत चैत १० गते नेपाल पारि भएका भारतमै बस्ने, नेपालमा रहेका नेपालमै बस्ने जुन निर्णय भयो त्यो कार्यान्वयन हुन सकेन । त्यही निर्णय नै हाम्रा लागि अत्यन्तै त्रुटिपूर्ण बन्नपुग्यो ।

अवैध बाटोबाट नेपाल प्रवेश गर्न नसक्ने मान्छे मात्र सिमानामा बसे, सक्नेहरू मुख्य बाटो छोडेर जङ्गल चारैतिरबाट नेपाल पसे । त्यहीँबाट नेपालमा कोरोना फैलिन सुरु ग¥यो । पछि एक डेढ महिनापछि भारतबाट आउन दिने भनेर निर्णय सच्याउने काम त भयो तर उनीहरूलाई पहिले नै आउन दिएर क्वारेन्टिनमा राखेको भए हुन्थ्यो । क्वारेन्टिन पनि व्यवस्थित हुन्थ्यो, अलि अलि आउँदै क्वारेन्टिनमा बसेर घर जान्थे । यसले सङ्क्रण फैलिन पाउने थिएन । 

सरकारले सुरुमा भारतबाट नेपाल आउन दिएन । पछि एक्कै पटक सीमा खोलिदियो । भारतले पनि पछि गाडी र रेल चलाइदियो, मुम्बई, अहम्दावाददेखि ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश आइदिए । ती मान्छे कताकता पुगे उनीहरूबाट सबैतिर सङ्क्रमण फैलिँदै गयो ।

हावाबाट पनि सर्न सक्छ, कन्ट्याक्ट ट्रेसिङमा मात्रै अल्झिनु हुन्न

अब कन्ट्याक्ट ट्रेसिङमा गएर हुँदैन, यो सफल विधि हैन । यस्तोमा कन्ट्याक्ट ट्रेसिङ गर्दा क्षयरोग निको भइसक्थ्यो । इबोलाका लागि कन्ट्याक्ट ट्रेसिङ आएको थियो । त्यसमा यो प्रभावकारी भएको थियो । कसले कसलाई छोयो भनेर ट्रेसिङ गर्न सजिलो थियो । एउटा व्यक्ति कहाँ कहाँ, कसको सम्पर्कमा गयो, कोसँग हात मिलायो भन्ने आधारमा सजिलो थियो । तर कोरोना भाइरस बाटोमा हिँड्दा हिँड्दै पनि सर्न सक्छ । मानौँ एउटा मान्छे थानकोटबाट कलङ्कीतर्फ आइरहेको छ । कलङ्कीको मान्छे थानकोटतिर गइरहेको छ । दुइटैको उचाइ बराबर छ । ती दुईटामध्ये एउटा सङ्क्रमित छ भने स्वाट्टै उसको नाकभित्र भाइरस पस्न सक्छ ।

जस्तो तपार्इंले बाटोमा हिँड्दा नजिकै रहेको मान्छेले चुरोट खाइरहेको छ र तपाईंलाई गन्ध आउछ भने हावाबाट भाइरस त्यसरी नै सर्न सक्छ । त्यो धुवाँ हावासँगै मान्छेको नाकभित्र पसेका कारण गन्ध महसुस भएको हो । सङ्क्रमितले सास फेर्दा हावामा त्यसरी नै भाइरस पनि मिसिन्छ र नजिकै हिँडिरहेको अर्को व्यक्तिमा सर्ने सम्भावना प्रबल हुन्छ ।

तराईतिर उच्च ओहोदामा रहेका सरकारी कर्मचारीहरूको कार्यकक्षमा गर्मीबाट बच्न एसी हालिएको हुन्छ । एसी लगाएको कोठामा बसेर उनीहरू बैठक छलफल गर्छन् । बैठकपछि चिया खानुप¥यो भन्छन् अनि मास्क खोलेर चिया पिउन थाल्छन् । एक त एसी लगाएको कोठा गुम्सिरहेको हुन्छ र चिया पिउँदा एकबाट अर्कोमा सङ्क्रमण फैलिन्छ ।

झ्याल ढोका खुला राखेको कार्यालयमा थोरै थोरै मान्छे आए भने सङ्क्रमण फैलिने जोखिम कम हुने भयो । एसी चलाएको रूममा एकजना सङ्क्रमित पसिदियो भने सबैलाई सङ्क्रमण हुन्छ ।

यस्तै ट्वाइलेट प्रयोग, लिफ्टको प्रयोगबाट पनि सङ्क्रमणको जोखिम धेरै छ । ट्वाइलेट सफा छैन, हावा प्रवेश गर्ने भेन्टिलेसन छैन, यस्तै लिफ्टमा कोचाकोच गरेर चढ्ने जस्ता कारणबाट पनि सङ्क्रमण बढ्न सहयोग पुगिरहेको छ ।

एक ठाउँ बन्द अर्को ठाउँ खुला हुँदा झन् समस्या

काठमाडौँमा १४ दिन लकडाउन गर्दैमा कोरोना सङ्क्रमण समस्याको समाधान हुन सक्दैन । काठमाडौँमा एक ठाउँका मात्रै नभएर ७७ जिल्लाबाट मान्छेहरू आउँछन् । उपचार गर्न, सामान किन्न, सामान बेच्न विभिन्न ठाउँ धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर जिल्लाबाट आउँछन् । यी क्षेत्रमा पनि कडाइ हुनुपर्छ । लकडाउन भयो, मोटरसाइकल लिएर नुवाकोट जाने आउने गर्छन् । यस्तो भयो भने समस्या हुन्छ । सिङ्क्रोनाइजेन भएन भने यहाँ लकडाउन हुन्छ तर यहाँबाट मान्छे गएका स्थानमा फेरि फैलिन्छ ।

नेपालको भूभाग डाँडा काँडाका कारण पनि पहाडमा कम मात्रामा फैलिन्छ । तराईमा समथर र बाक्लो बस्ती भएका ठाउँमा छिटै फैलिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि रणनीतिक कार्यदिशा अलि फराकिलो पार्नुपर्छ ।

साँघुरो घेरामा मात्र निषेध गरे पनि सङ्क्रमण रोक्न सजिलो भने छैन । काठमाडौँमा धादिङबाट तरकारी आउँछ । काभ्रे पाँचखालबाट तरकारी आउँछ । सिन्धुपाल्चोकको चौताराबाट दूध आउँछ । अत्यावश्यक सेवा दिने मानिसहरूको पनि आवतजावत बाक्लै हुन्छ । सङ्क्रमण काठमाडौँमा मात्रै नियन्त्रण गरेर हुँदैन यी जिल्लाहरूलाई पनि हेर्नुपर्ने हुन्छ । काठमाडौँलाई फोकस गरेर बन्द गर्दा बढी आवत जावत हुने जिल्लालाई पनि ध्यान दिनुपर्छ ।

लकडाउनसँगै काम गर्न पनि दिऊँ

अहिले सङ्क्रमण धेरैतिर फैलिइसक्यो । लकडाउन मात्र गरेर पनि समस्या समाधान हुँदैन । स्वास्थ्य सङ्कटले आर्थिक सङ्कट पनि निम्त्याउँछ । आर्थिक सङ्कटले सामाजिक सङ्कट निम्त्याउँछ । सरुवा रोगका कारण अफ्रिकाका धेरै देश खत्तम भएका उदाहरणहरू पनि छन् । सन् २०१४ मा लाइबेरिया, सेरियालियोनहरूलाई झन्डै झन्डै जिरोमा पु¥यायो । अर्थतन्त्र जिरोमा पुगेपछि ठूलो सामाजिक सङ्कट निम्तियो । त्यहाँ तनावपूर्ण अवस्था भयो कि अमेरिकी सेना बोलाए । उनीहरूले अस्पताल बनाए, बचेखुचेका सैनिकसँग सहकार्य गरे । लाइबेरियाबाट मन्त्री, सचिव, उच्च सरकारी अधिकारी भागे । त्यसकारण स्वास्थ्य समस्या डरलाग्दो हुन्छ । आर्थिक क्रियाकलापलाई रोक्ने काम पनि गर्नुहुँदैन । दुइटैलाई ब्यालेन्स बनाएर लैजानुपर्छ । मान्छेले काम गर्न पाएनन् भने त्यसले आर्थिक र सामाजिक सङ्कट निम्त्याउने खतरा हुन्छ ।

नाका नाकामा पीसीआर परीक्षणको व्यवस्था

पीसीआर परीक्षण अब स्वास्थ्य केन्द्रमा मात्र नभई नाका नाकामा खोल्नुपर्छ । पीसीआर परीक्षण सेन्टर अझै धेरै खोलौँ । कोही मान्छे काठमाडौँ आउन चाहन्छ भने आउन दिने तर २४ घण्टाभित्रको पीसीआर रिपोर्ट चाहिने अनिवार्य गराउनुपर्छ । अहिले ५ हजार ५ सय पीसीआर शूल्कलाई १ हजारमा झार्नुपर्छ । पीसीआर नेगेटिभ भएकालाई हिँड्न र काम गर्न दिनुप¥यो । काठमाडौँभित्र आउने हो वा बाहिर जाने हो नर्मल मान्छेलाई रोक्न आवश्यक नै छैन । अहिले सङ्क्रमितको ओहोर दोहोर निर्वाध भइरहेको छ । उपत्यकामा यति धेरै नगरपालिका छन्, साँगाबाट आउनेको ज्वरो त हेर्दैनन् । नागढुङ्गामा पनि त्यस्तै अवस्था छ । कम्तीमा ज्वरो मात्रै भए पनि हेर्नुप¥यो ।

देशका नाका नाकाहरूमा एक हजार रुपैयाँमा परीक्षण गर्न सक्नेगरी पीसीआर मेसिन राखिदिनुप¥यो । झापामा राखिदिने, कोसी राजमार्गमा यात्रा गर्नेका लागि धरानमा राखिदिने, त्यहाँबाट पहाड जाने मान्छको परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्रै पठाउने । यता कुलेखानीको बाटो जाने आउनेको परीक्षण गर्न हेटौँडामा राख्नुप¥यो । यस्तै नागढुङ्गा जस्ता नाका नाकामा परीक्षण केन्द्र राख्नुप¥यो । उसको पीसीआर टेस्ट गर्नुप¥यो । ४ घण्टा पर्खिन्छ रिपोर्ट नेगेटिभ आयो भने जान दिनुप¥यो । ठाउँ ठाउँमा यसरी परीक्षण दायरा फैलाएर पनि सङ्क्रमण रोकथाम गर्न सकिन्छ । नत्र अहिले काठमाडौँ बन्द ग¥यो, पछि फेरि बाहिरबाट सङ्क्रमित आएर सारिदिन्छन् । पीसीआर टेस्टको दायरा बढाएपछि प्लेन चलाए पनि हुन्छ, नेगेटिभ आउनेलाई छोडिदिने, पोजेटिभ आउनेलाई आइसोलेसनमा हालिदिनुपर्छ ।

भेन्टिलेटर, आईसीयू खरिदभन्दा जनचेतनामा बढी जोड दिऊँ

भेन्टिलेटर, आईसीयू खरिद भन्दा सर्वसाधारणलाई जनचेतना जगाउने काममा बढी केन्द्रित हुनुपर्छ । ‘प्रिभेन्सन इज बेटर देन केयर भनिन्छ दुई चार लाखमा सबैका लागि जनचेतना जगाउन सकिन्छ भने एउटा मान्छेलाई आईसीयू भेन्टिलेटरमा राख्नुप¥यो भने दुई चार लाख खर्च भइहाल्छ । दुई चार लाख रुपैयाँको जनचेतना लाखौँका लागि काम लाग्छ । यसरी जनचेतना जगाउँदा पनि स्वास्थ्य सावधानी अपनाएनन् भने कडा कानुनी कारबाही पनि गर्नुपर्छ । मान्छेको व्यवहार परिवर्तनको काम जटिल पनि हो । चुरोट खायो भने क्यान्सर हुन्छ भन्ने कुरा डाक्टरलाई बाहेक अरू कसैलाई पनि थाहा छैन तर संसारका १५ प्रतिशत डाक्टरले चुरोट खाने आँकडा छ । नेपालमा पनि १५ प्रतिशतले खाइरहेका हुन्छन् । जनचेतना पनि जगाउने र मान्दै नमान्नेलाई कानुनी कारबाही गर्नतिर पनि लाग्नुपर्छ ।

प्रस्तुति : शम्भु दङ्गाल

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.