शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिचौलिया हाबी हुँदा तरकारी महँगियो : कालिमाटीभन्दा भाटभटेनीमा सस्तो

बिहीबार, ११ भदौ २०७७, २१ : ०४
बिहीबार, ११ भदौ २०७७

काठमाडौं । केहिदिन यता बजारमा तरकारीको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्यमा खासै फरक नपरेपनि बजारका खुद्र पसलहरुमा भने तरकारी भाउ छोइनसक्नुको छ । 

केहिदिन अघिसम्म बजारमा आलु प्रतिकेजी ३५ देखि ४० रुपैयाँमा पाइने गरेकोमा अहिले मूल्यले बढेर ८० देखि ८५ रुपैयाँसम्म पुगेको छ ।  त्यस्तै, टमाटर(गोलभेडा)को खुद्रा बजार भाउ प्रतिकेजी एक सय रुपैयाँको हारहारीमा पुगेको छ । जब कि केहि दिन अघिसम्म बजारमा खुद्रा मूल्यमै गोलभेडाको भाउ अधिकतम ४०–५० रुपैयाँ मात्र थियो ।

सरदर भनौं, यतिखेर बजारमा हरियो तरकारी सबै जसोको मूल्य बढेको छ । खुद्रामा प्रतिकेजी ७०–८० रुपैयाँभन्दा घटिका तरकारी सायदै पाइन्छ । बजारमा सबैभन्दा सस्तो मानिने लौका र घिरौलाको बजार भाउ समेत यतिखेर प्रतिकेजी एक सयको हारहारीमा पुगेको छ ।

तर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने गत महिनाको तुलनामा यस महिना तरकारीको मूल्यमा खासै फरक नपरेको बताउछ । 
होलसेलमा केहि ५–१० रुपैयाँ तलमाथि भएको भएपनि खुद्रा व्यापारिहरुकै कारणले बजारमा तरकारी भाउ महँगिएको हुन सक्ने कालिमाटी फलफूल तथा तराकरी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउछन् ।

‘अहिलेको मौसम नै यस्तै हो । वेमौसमका कारण तरकारीको उत्पादन नै कमी भएर बजारमा कम आपूर्ति हुँदा भाऊ बढ्ने गर्छ । जुन गत वर्षहरुमा पनि हुने गरेको हो । त्यसमाथि यसपटक कोरोनाका महामारी र बन्दाबन्दीका कारण उत्पादन नै कमी छ । तर गत महिनाको तुलनामा यस महिनामा तरकारीको भाउ ह्वात्तै बढ्यो भन्ने चाहिँ होइन ।’ 

सूचना अधिकारी श्रेष्ठले भने, ‘गत महिना र यो महिनाको तरकारीको भाऊमा खासै फरक छैन । होला केहि तरकारीहरुमा ५–१० रुपैयाँ तलमाथि भएको । तर बजारमा हल्ला चलेजस्तो अचाक्ली मूल्य वृद्धि भने भएको छैन । जहाँसम्म बजारमा तरकारीको भाऊ महँगो भो भन्ने छ त्यो खुद्रा व्यापारिहरुका कारण हुनसक्छ । व्यापारिहरुले बढि नाफा राख्दा त्यस्तो हुन गएको हुनसक्छ । तर होलसेलमा नै महँगो भयो भन्ने चाहिँ होइन ।’

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बिहिबारको होलसेल(थोक) मूल्य अनुसार आलु प्रतिकेजी औषत ७१ रुपैयाँ, प्याज ३८, गोलभेडा ६८, काउली ७७, बोडी ९३, लौका ४८ लगायत घिरोलाको औषत मूल्य २८ रुपैयाँ प्रतिकेजी रहेको छ । तर खुद्रा बजारमा भने व्यापारिहरुले थोक मूल्यमा आफु खुशी दोब्बर तेब्बर सम्म मुल्य वृद्धि गरेर विक्रि गरिरहेको पाइएको छ ।

कालिमाटी थोक मूल्यलाई नै काउण्टर दिँदै भाटभटेनी

तर बजारमा खुद्रा व्यापारिहरुका कारण तरकारीको मूल्य केहि महँगो भएको भनिएपनि कालिमाटीको थोक मूल्यलाई नै काउण्टर दिने गरी निजी संस्थानले सुफत मूल्यमा उपभोक्तालाई तरकारी उपलब्ध गराइरहेको छ । 

व्यवसायिक फर्म ‘भाटभटेनी सुप्परमार्केट’ले कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्य भन्दा पनि सस्तोमा खुद्रा मूल्यमा उपभोक्ताहरुलाई तरकारी उपलब्ध गराएको हो । 

आज बिहीबारकै बजार भाउलाई हेर्ने हो भने कालिमाटी बजारको थोक मूल्य र भाटभटेनीको खुद्रा मूल्यलाई तुलना गर्दा कालिमाटीले थोक मूल्यमा प्रतिकेजी औषत ७१ रुपैयाँमा विक्रि गरिरहेको आलु भाटभटेनीले प्रतिकेजी ५९ रुपैयाँमा नै उपलब्ध गराइरहेको छ ।
त्यस्तै, टमाटर कालिमाटीले ६८ रुपैयाँमा बेचिरहँदा भाटभटेनीले ५० रुपैयाँमा नै बेचेको छ । अन्य, प्याज, लसुन, हरियो सोयाविन, सिमी, घिरौंला, लौका लगायतमा समेत कालिमाटीको होलसेल मूल्य भन्दा भाटभटेनीको खुद्रा मूल्य सस्तो देखिन आएको छ ।

यस्तो छ कालिमाटी र भाटभटेनीको मूल्य सूचीः


बिचौलिया हाबी हुँदा तरकारी महँगियो

अहिले तरकारीको मूल्य बढ्नुको पछाडी मौसमी प्रभाव त छँदैछ त्यसमाथि पनि अस्वभाविक मूल्य बढ्नुमा भने बिचौलियाहरुकै हात रहेको जानकारहरुको भनाई छ । राज्यले कालाबजारी बिचौलियाहरुको सञ्जाल भत्काउन नसक्दा उत्पादक कृषक र उपभोक्ता दुबैको ढाड सेक्ने काम भइरहेको उपभोक्तावादीहरुको भनाइ छ ।

सरकारले बिचौलियालाई कृषक चुस्ने र उपभोक्ता लुट्ने छुट लिएर गम्भीर गल्ती गरिरहेको कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले आरोप लगाएका छन् । कृषकको पसिना मूल्य दिन र उपभोक्तालाई कालोबजारीबाट जोगाउन सरकारले बजार हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने खनालको भनाइ छ ।

यता, भाटभटेनी सुपरमार्केटका अपरेटिङ अफिर पानु पौडेलले समेत बजारमा बिचौलियाहरुको रजगन्ज चल्दा उत्पादक र उपभोक्ता दुबै मारमा पर्ने गरेको बताए । 
तर, आफुहरुले कृषकको बारीमा नै गएर सिधै तरकारी उठाएर ल्याउने र प्याकिङ्ग गरेर बेच्ने हुँदा सस्तो पर्ने पौडेलको भनाइ छ ।

‘हामी सिधै कृषकको बारिमा गएर तरकारी ल्याउँछौ र प्याकिङ्ग गरेर बेच्छौं । बीचमा बिचौलिया भन्ने नै हुँदैन र हाम्रोमा तरकारी सस्तो हुन्छ,’ पौडेलले भने, ‘भन्ने नै हो भने, कालिमाटी तरकारी बजारको थोक मूल्य भन्दा पनि हाम्रो मार्टको खुद्रा मूल्य सस्तो छ । यसले ग्राहक(उपभोक्ता)हरुलाई राहत मिलेको छ ।’

 तर अहिले भाटभटेनी बन्द हुँदा सो लाभ लिनबाट उपभोक्ताहरु बञ्चित भएका छन् । ‘हामीले काठमाडौं र ललितपुरको टंगाल, महाराञ्जगंज र पाटन गरी तीन सुपर स्टोरहरुबाट सो सुविधा प्रदान गरिरहेका छौं । जसबाट उपभोक्ताहरुलाई सहज, सरल र सुलभ तरिकाले ताजा तरकारी उपलब्ध गराइरहेका छौं,’ पौडेलले भने ।
हाल बजारमा बिचौलियाहरुकै विगविगिमा कृषकको खेतदेखि उपभोक्ताको भन्सासम्म ४–५ लेयर भएर तरकारी पुग्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप