शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ममाथि धेरैको भरोसा छ, निरास हुन दिन्नँ’

शनिबार, १३ भदौ २०७७, १५ : ३६
शनिबार, १३ भदौ २०७७

मिडिया होस् या सामाजिक सञ्जाल । सज्जा चौलागाईं यतिबेला चारैतिर छाउन सफल भएकी छन् । शुक्रबार साँझ ‘नेपाल आइडल सिजन–३’ को अन्तिम स्पर्धामा दुई प्रतियोगीलाई पछि पर्दै उपाधि विजेता बनेकी सज्जाको चर्चा चुलिएको हो । मोरङकी सज्जाले प्रवीन बेडुवाल र किरण भुजेललाई पछि पर्दै उपाधि चुमेकी हुन् । विजेता भएपछि सज्जाले ५० लाख रुपैयाँ नगद पुरस्कारसमेत हात परेकी छन् । अन्तिम स्पर्धामा सज्जाले ‘निश्चल’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । कोरोनाको कहरका कारण विगतका वर्ष जस्तो अन्तिम स्पर्धा भव्य भने हुन सकेन । त्यो मामलामा केही दुःखी देखिएकी सज्जा नेपाल आइडलको एक सदस्यमा कोरोना देखिएकोमा चिन्तित पनि छिन् । यस्तैमा नेपाल आइडल विजेता बन्दाको खुसी र आगामी दिनको योजनाको विषयमा रातोपाटीले उनलाई राखेका केही प्रश्न ।  
    
‘नेपाल आइडल सिजन–३’ को विजेता घोषित हुँदा कस्तो अनुभूति भइरहेको छ ?
–खुसीको सीमै छैन । सबैको मायाले यो सफलता हात परेको हो । अर्काे कुरा नेपाल आइडलका सदस्यमा कोरोना देखिएको छ । यो कुराले दुःखी बनाएको छ । विगतका वर्षमा झैँ अन्तिम स्पर्धा जस्तो हुनेपर्ने थियो त्यस्तो हुन सकेन । त्यसमा केही दुःखी भए पनि सफलतामा एकदमै खुसी छु ।

अहिले मिडिया, सामाजिक सञ्जाल लगायत चारैतिर छाउनुभएको छ नि ?
– हो । चारैतिर चर्चा भइरहेको छ । यो समय मेरो खुसीको सीमा नै छैन । यो खुसी मेरो मात्र होइन मलाई यो यात्रामा साथ दिने दर्शक, श्रोता, साथीभाइ, गुरु, निणार्यक र मलाई  पछाडिबाट सपोर्ट गर्ने देश विदेशमा रहेका सहयोगी हातहरुको पनि हो । यो जित मेरोभन्दा पनि हामी सबैको हो । सबैले मेरो विश्वास गरेर कहिल्यै तिर्न नसक्ने एउटा गुन लगाउनु भएको छ । त्यो म कहिल्यै बिर्सन्न । नेपाल आइडल टिमदेखि सबैसँग यो खुसी सेयर गर्दछु । अनि साथ दिने सबैप्रति आभार व्यक्त गर्दछु ।

विजेता बन्छु भन्ने लागेको थियो त ?
–मैले धेरै मिहिनेत गरेकी थिएँ । आफू जसरी पनि विजेता चुनिनु पर्छ भन्ने चाहिँ थियो । म नै विजेता हुन्छु जस्तो लाग्थ्यो । म जहिले पनि पोजेटिभ सोच राखेर अगाडि बढ्ने गर्दछु । 

आफैले मूल्याङ्कन गर्दा के कुराले विजेता बनायो जस्तो लाग्छ ?
–मैले निकै मिहिनेत गरेकी छु । मैले गाएको पहिलेदेखि नै सबैले मन पराइदिनुभयो । मेरो मिहिनेतले अहिले पहिलो पटक नारीको हातमा ‘नेपाल आइडल’ को ताज पार्न सफल भएको छ ।
 
आगामी दिनमा केकस्ता चुनौती देख्नुभएको छ ?
– हिजोअस्तिका भन्दा धेरै चुनौती थपिएका छन् । त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा आफूमा पनि भर पर्छ । हिजोको भन्दा पनि धेरै मिहिनेत गर्नुपर्छ अब मैले । ममाथि धेरैले भरोसा गरेका छन् । त्यसलाई निरास हुन दिन्न । अब धेरै सोचेर कदम चाल्छु ।

नेपाल आइडलमा सहभागी हुँदा उपाधि जित्ने सोच थियो त ?
–विजेता भन्दा पनि आम मानिसका अगाडि आफ्नो नाम, परिचय छुट्टै बनाउँछु । परिवारको नाम चम्काउनु र भविष्य राम्रो बनाउनु भन्ने सोचेर यसमा आएकी थिएँ । यो विजय त्यो सपनाको पहिलो खुड्किलो हो ।

गाउने रहर कहिलेदेखि थियो ?
– म सानैदेखि गाउँथे । कक्षा १ मा पढ्दादेखि नै स्कुलका विभिन्न गायन प्रतियोगितामा भाग लिन्थेँ । स्कुलले जीवन छोडेपछि गायनलाई नै पेसा बनाउन थालेँ । मेरो आफ्नै एउटा साङ्गीतिक ब्यान्ड पनि छ । औपचारिक गायन यात्रा भने एक रेस्टुरेन्टमा काम गरेर सुरु गरेकी थिएँ । अहिले यहाँसम्म आइपुगेकी छु ।

कस्ता गीतसङ्गीत मनपर्छ ?
–सबै प्रकारका गीतसङ्गीत मनपर्छ, सुन्ने गरेको छु । नेपालका मात्र नभएर देश विदेशका समेत सबै प्रकारका गीत सुन्छु । सबै प्रकारको म्युजिकलाई कदर गर्छु । आगामी दिनमा सङ्गीतमा भेराइटी दिने कोसिस मेरो सधैँ रहन्छ ।

भविष्यको योजना केही छ कि ? 
–भविष्यका लागि अहिल्यै केही योजना बनाएकी छैन । सोच्दै छु । भर्खर एउटा पाइलामा सफलता हात पर्यो । बिस्तारै बिस्तारै अबका कदम चाल्दै जान्छु । सङ्गीतमा राम्रो योगदान कसरी दिन सकिन्छ । त्यो सोच्दैछु । 

नेपाल आइडलमा सहभागी हुन कसरी मन लाग्यो ?
–मेरो आफ्नै साङ्गीतिक ब्यान्ड  ‘द लोडिङ’ छ । त्यही ब्यान्डका सदस्यहरुले सहभागी हुन सुझाए, हौसला प्रदान गर्दै व्यवस्था मिलाई दिए । परिवारले गायनमा पहिलेदेखि नै सहयोग गर्दथे । सबैले गायनका लागि नेपाल आइडल एउटा राम्रो प्लेटफर्म हो भने । त्यसमा सहभागी हुनुपर्छ । त्यसमा जानुपर्छ भन्ने लागेर सहभागी भएँ ।

यस अगाडि पनि केही प्रतियोगिता जित्नु भएको थियो कि ?
–प्रोग्रेसिभ एजुकेसन फोरमअन्तर्गत हाम्रो स्कुलमा विभिन्न कार्यक्रमहरु हुन्थे । त्यति बेला पनि मैले गायनबाट पुरस्कार, अवार्ड जितेकी थिएँ । राष्ट्रिय स्तरको प्रतियोगितामा विजेता भएको यो पहिलो हो ।

नेपाल आइडलको मञ्चलाई कसरी हेर्नु भएको छ ?
–मानिसको प्रतिभा प्रस्तुत गर्ने, हौसला प्रदान गर्ने कार्यक्रम हो यो । आफूमा पनि प्रतिभा लुकेको छ । म पनि केही गर्न सक्छु भनेर यहाँ आउनेले धेरै कुरा सिकेर अगाडि बढ्न सक्छन् । नेपाल आइडल आएपछि म्युजिकमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास समेत बढ्छ । सङ्गीतमा लाग्न आँट र हौसला प्रदान गर्ने कार्यक्रम पनि हो यो । यो नवप्रतिभा बाहिर ल्याउने एउटा अति राम्रो प्लेटफर्म हो ।

यस अघिका रियालटी सोका धेरै विजेता त्यतिकै हराएका छन् नि ?
–अहिले चलेको ट्रेन्डिङमा पर्दैमा नहराउने, ट्रेन्डिङमा नपरे हराउने भन्ने हुँदैन । उहाँहरु आआफ्नो साङ्गीतिक क्षेत्रमा कहीँ न कहीँ, केही न केही गरिरहनु भएकै छ । वर्ष, महिना जति लागे पनि उहाँहरुका गीत सङ्गीत बाहिर आएका छन् । उहाँहरुका गीत अहिलेको ट्रेन्डिङ पर्न सकेनन् । त्यसैले चर्चामा रहेनन् होला । यसलाई हराएको भन्न मिल्दैन । त्यो हेर्ने दृष्टिकोणमा भरपर्छ ।

नेपाल आइडलमा सहभागी हुन चाहनेलाई के भन्नुहुन्छ ?
–गायनमा लाग्ने सोच भएका जति पनि हुनुहुन्छ तपाईंहरुका लागि नेपाल आइडल एउटा उपयुक्त प्लेटफर्म हो । यस्ता रियालटी सोमा सहभागी हुनुपर्छ । आफूमा रहेको ट्यालेन्ट देखाउनुपर्छ । जित र हार बेग्लै कुरो हो । सहभागी जनाउँदा पनि धेरै कुरा सिक्न, अगाडि बढ्न जानिन्छ । हामीले जबसम्म कोसिस गर्दैनौँ तबसम्म हामीलाई कसरी थाहा हुन्छ । हामी सफल हुन्छौँ कि असफल भनेर । कोसिस गरौँ सफलता मिल्छ । कोसिस यस्तै प्लेटफर्ममा गर्ने हो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप