शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धार उडानबाट फर्केपछि ‘भनसुन’मा त्रिभुवन विमानस्थलबाटै घर !

आइतबार, १४ भदौ २०७७, १३ : ४९
आइतबार, १४ भदौ २०७७

काठमाडौँ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को समन्वयमा कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र नेपालीलाई सरकारले उद्धार गरिरहेको छ । 

उद्धार उडानबाट फर्कनेले काठमाडौँ उपत्यकामा तोकिएका होल्डिङ सेन्टरमा पुगेर निश्चित प्रक्रिया पुरा गरेपछि मात्रै होटल क्वारेन्टाइन वा होम क्वारेन्टाइन जान पाउँछन् । तर, पहुँच भएकाहरु ‘भनसुन’ मार्फत विमानस्थलबाट सिधै घर जाने गरेको पाइएको छ ।

चार्टड उडानमार्फत नेपाल फर्किनेको व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिएको छ । सरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार उद्धार उडानबाट फर्किनेहरुले होल्डिङ सेन्टरमा निश्चित प्रक्रिया पुरा गरेपछि आ–आफ्नो प्रदेशमा जान पाउँछन् । 

प्रदेश सरकारले व्यवस्थापन गरेको सवारी पासबाहेक बसमा ट्राफिक प्रहरी र नेपाली सेनाले बाटोमा मनिटर गर्नेगरी आ–आफ्नो प्रदेशमा जान पाउँछन् । 

जेठ तेस्रो साताबाट शुरु भएको उद्धार उडानमार्फत फर्किने नेपालीलाई सेनाले उपत्यकाबाट सम्बन्धित प्रदेशमा स्कर्ट गर्ने गरेको थियो । ‘झण्झटिलो’ भएको भन्दै सो प्रक्रिया अहिले स्थगित छ ।

चक्रपथका चारवटा पार्टी प्यालेस यति, स्काई, पानस र कुण्डलिनीलाई होल्डिङ सेन्टर तोकिएको छ । 

विदेशबाट फर्कँदा पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई व्यक्तिगत फारम भरेपछि, स्वास्थ्यजाँच गरेर नेपाल टेलिकमको सिमकार्ड लिएपछि ‘होम क्वारेन्टाइन’मा बस्नेगरी घर जान पाउँछन् । उनीहरुलाई स्थानीय सरकारले निगरानी गर्छ ।

कोरोना परीक्षण बिना नै आएकालाई होटल क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्छ । तर, विदेशबाट फर्किनेहरु पहुँचको आधारमा सिधै विमानस्थलबाटै घर जाने गरेको त्रिभुवन विमानस्थलमा कार्यरत पर्यटन मन्त्रालयका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

विमानस्थलबाट सिधै घर जानेमा युरोपियन देशबाट फर्कनेहरु धेरै हुन्छन् । सरकारका उच्च अधिकारी, नेता र नेपाली सेनाका उच्च अधिकारीको सिफारिसका आधारमा उनीहरुलाई सिधै घर पठाइन्छ । 

तर, खाडी मुलुकबाट फर्किने अधिकांश श्रमिकचाहिँ थप जोखिमसहित होल्डिङ सेन्टरमा घण्टौं बिताउन बाध्य हुन्छन् । ‘पहुँच नभएकालाई मात्रै नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर घण्टौं राख्ने गरेको छ,’ ती अधिकृतले भने– ‘कोरोना परीक्षण नगराएकासँग समूहमा घण्टौं सँगै राख्दा थप संक्रमणको जोखिम हुन्छ ।’ 

केही दिनअघि पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस नेगेटिभ रिपोर्ट आउनेहरु सिधै विमानस्थलबाट घर जान पाउने बताएका थिए । तर, उनले भनेजस्तो भएको छैन । उद्धार उडानबाट फर्किनेलाई कसरी व्यवस्थापन गरिएको छ भन्नेबारे सरकारका कुनै नियकाले अनुगमन गर्दा थप भद्रगोलता थपिएको छ । 


कोरोनाको रिपोर्ट नेगेटिभ आएका र जाँच नै नगराएकालाई नेपाली सेनाको एउटै गाडीमा राखेर होल्डिङ सेन्टरसम्म लैजाँदा थप संक्रमणको त्रास बढेको छ । 

‘विदेशबाट आएका मान्छेलाई लिन विमानस्थलमा आर्मीको गाडी आएर बसेको हुन्छ,’ विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘रिपोर्ट केही नहेरी गाडीमा हालेर आर्मीले आफ्नो मान्छेलाई घर पठाउने गरेको छ ।’

यस विषयमा नेपाली सेनाका सहाकररथी तथा प्रवक्ता सन्तोष बल्लव पौडेलले गाडी दुरुपयोग भए/नभएको बारे उपत्यका पृतनापतिलाई जानकारी गराउने बताए । 

उनले भने, ‘जहाँसम्म लाग्छ गाडीको दुरुपयोग भएको छैन । विमानस्थलमा अपाङ्ग तथा गर्भवती महिलाहरुको लागि नेपाली सेनाको छुट्टै गाडी स्ट्यान्डबाई छ ।’

होल्डिङ सेन्टरसम्म लैजाँदा थप संक्रमणको त्रास बढेको प्रवक्ता पौडेलले स्वीकारे । उनले भने, ‘यसलाई समाधान गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

माथिको आदेशअनुसार नेपाली सेनाले काम गरिरहेको प्रवक्ता पौडेल बताउँछन् । पीसीआर नेगेटिभ र पोजेटिभ आएका व्यक्तिहरुलाई एउटै विमानमा ल्याउन नहुने पौडेलको तर्क छ ।

गृह मन्त्रालयले गर्नुपर्ने व्यवस्थानको जिम्मा रक्षा मन्त्रालय मातहत नेपाली सेनालाई दिएको भन्दै गृह मन्त्रालयका अधिकारीहरु समेत रुष्ट छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप