बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘रिस्क जोन’ मा दिनहुँ स्वाबसँग खेल्ने स्वास्थ्यकर्मीहरु भन्छन्, ‘सुरुमा निकै डरायौँ’

कोरोना ल्याबमा काम गर्ने टिना उप्रेती र श्रद्धा थापाको अनुभूति
आइतबार, १४ भदौ २०७७, १५ : ४०
आइतबार, १४ भदौ २०७७

हामी आफू बसेको ठाउँ नजिकै कसैलाई कोरोना सङ्क्रमण भयो भने निकै डराउने र आत्तिने गर्छौं । तर शङ्कास्पद कोरोना सङ्क्रमितहरुबाट सङ्कलन गरिएको स्वाबसँग हरेक दिन ल्याबमा खेल्ने स्वास्थ्यकर्मीको अवस्था कस्तो होला ? स्वास्थ्य संस्थामा सङ्कलित ती स्वाबका नमुनामध्ये कतिपयमा कोरोना भाइरस हुन्छ भने कुनैमा हुँदैन । पीपीई मास्क पञ्जाभित्र आफूलाई थुनेर सङ्कलन गरेको स्वाबबाट जिन छुट्याएर त्यो जिनमा कोरोना छ कि छैन भनेर हरेक दिन हेर्ने काम कम्ता चुनौतीपूर्ण छैन । अतिकति तलमाथि प-यो भने त्यो भाइरस आफैलाई सर्ने खतरा हुन्छ  । 

यतिबेला संसारभरका स्वास्थ्यकर्मीहरु तपाईं हामीजस्ता करोडौँको स्वाबसँग ल्याबमा खेलिरहेका छन् । सबैभन्दा जोखिमयुक्त क्षेत्रमा बसेर यसरी कोरोना सङ्क्रमण नेगेटिभ वा पोजेटिभ छुट्टयाउने काम गर्ने धेरै स्वास्थ्यकर्मी आफै कोरोनाको शिकार पनि भएका छन् । यसरी सबैभन्दा ‘रिस्क जोन’ अर्थात खतरा मोलेर काम गर्ने स्वास्थ्यकर्मीको अनुभव कस्तो होला ? हामीले २ जना स्टाफ नर्सको अनुभव समेट्दैछौँ । ललितपुरको सानेपामा रहेको मोर्डन टेक्निकल कलेजले स्टार हस्पिटलसँग सहकार्य गरेर सञ्चालन गरेको कोरोना ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमध्ये मेडिकल ल्याब्रोटरी टेक्निसियनद्वय टिना उप्रेती र श्रद्धा थापाको अनुभूति यस्तो छ :  

सुरुमा त निकै डरायौँ, अहिले सहज लाग्छ 
टिना उप्रेतीले आफ्नो पढाइ सक्नेवित्तिकै कोरोना ल्याबबाट आफ्नो करिअर सुरु गरेकी छिन् । कोरोनाको त्रासका बीच काम गर्नुलाई एउटा अवसरको रूपमा आफूले लिएको उनी बताउँछिन् । कोरोना भाइरस र पीसीआर परीक्षण दुवै नयाँ भएकाले यो नयाँ कुरा सिक्ने अवसर पनि भएको उनले बताइन् ।

टिना उप्रेती

कोरोना ल्याब निकै संवेदनशील हुन्छ । सङ्कलन गरेर ल्याएको स्वाबको नमुना अतिकति तलमाथि प¥यो भने काम गर्ने सबैलाई भाइरस सङ्क्रमण हुने जोखिम हुन्छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने आफ्ना सन्तानप्रति गर्व भने परिवार कोरोना सङ्क्रमण फैलिएपछि अस्पताल वा स्वास्थ्य संस्थामा नगइदिए हुन्थ्यो भन्ने पनि छन् । 

घर परिवारमा डर र चिन्ता भइहाल्छ तर स्वास्थ्य उपचारसम्बन्धी विषय पढेपछि त्यही काम गर्नुपर्छ भन्नेमा अभिभावक रहेको उनले सुनाइन् । उनले भनिन्– ‘मुख्य चिन्ता भनेकै भाइरस सर्ने हो कि भन्ने थियो । सुरु सुरुमा उहाँहरुलाई बुझाउन गाह्रो थियो ।  तर अहिले बुझिसक्नुभएको छ । कोरोना भनेर त्यति धेरै तर्सिहाल्नुपर्ने पनि छैन । लागिहाल्यो भने निको हुने धेरै नै सम्भावना छ । हामीले यसरी सुरक्षा अपनाएका छौँ कि ल्याबबाट कोरोना लिएर जाँदैनौँ ।’

स्वाबको नमुना सङ्कलन गर्ने बेला र स्वाबबाट जिन छुट्याउने प्रक्रियामा सबैभन्दा जोखिम हुन्छ । उनी भन्छिन्– ‘काम गर्दा आफ्नो सुरक्षा आफै गर्नुपर्छ । पीपीई लगाउने, मास्क लगाउने, अल्कोहल लगाउने गर्नुपर्छ ।’
ल्याबबाट कोरोना बाहिर निस्कन पाउँदैन । 


पीपीई एक पटक लगाएपछि त्यसलाई नष्ट गर्ने उनले बताइन् । पीपीईका भागहरु नछुने, ल्याबमा रहँदा लगाएको कपडा बाहिर निस्किएपछि परिवर्तन गरेर अर्को छुट्टै कपडा लगाएर मात्र बाहिर निस्कने गर्छिन् । 
उनले भनिन्– ‘त्यसो गर्दा ल्याबभित्र बसेका बेला हाम्रो कपडामा  भाइरस सम्पर्क भएको छ भने पनि बाहिर जान पाउँदैन । ल्याबमा काम गर्ने, अस्पतालमा काम गर्नेले भाइरस समुदायमा लैजान्छन् भन्ने जुन भ्रम छ, हामीले अपनाएको सुरक्षा विधिका कारण भाइरस जान सक्दैन । हामीले जानी जानी भाइरस लाने काम हुँदैन । हामीले यति धेरै सुरक्षा विधि पालना गरेका हुन्छौँ । त्यसले गर्दा भाइरस बाहिर जाने सम्भावना पनि हुँदैन । यदि हाम्रो कारणबाट समुदायमा भाइरस पुग्यो भने सबैभन्दा बढी समस्या त हामीलाई नै हुने हो । त्यसकारण पनि हामी धेरै सुरक्षा मापदण्ड अपनाउँछौँ ।’

ल्याबमा काम गर्ने स्वाथ्यकर्मीहरु घर गए पनि घर परिवारको प्रत्यक्ष सम्पर्कमा नबस्ने टिना बताउँछिन् । उनको लागि परिवारले छुट्टै कोठाको व्यवस्था गरिदिएको छ । अस्पतालबाट घर गएपछि सो कपडा पनि त्यही दिन धोएर सुकाउने गरेको उनी बताउँछिन् । 

सुरुमा पीसीआर परीक्षणको काम हातैले बढी गर्नुपथ्र्यो तर अहिले विभिन्न मेसिनहरुको सहयोगमा काम गर्ने गरेको उनले बताइन् । उनले भनिन्– ‘सुरुमा मेसिन नआएको बेला लगातार ९ घण्टासम्म पीपीई लगाएर काम गरेका थियौँ । पछि एक्ट्रयाक्सन मेसिन आएपछि काम गर्न सजिलो भए पनि त्यो मेसिनको प्रयोगभन्दा अगाडि पीपीई लगाएर सुरक्षित भएर नै काम गरिरहेका हुन्छौँ ।’

परिवारसँगको घुलमिल छुट्यो
मेडिकल ल्याब्रोटरी टेक्निसियन टिनाका लागि घरमा सबैभन्दा माथिल्लो तलामा कोठा, ट्वाइलेट छुट्टै छ । घरको कुनै पनि भौतिक संरचनालाई नछोई माथिल्लो तलामा पुगेपछि लगाएको कपडाहरु छुट्टै राख्छिन् । नुहाएपछि मात्र कोठामा पसेर काम गर्न थाल्छिन् । उनले भनिन्– ‘कहिलेकाहीँ स्वाबको चाप अनुसार १८ देखि १९ घण्टासम्म काम हुने गरेको छ । अधिकांश समय ल्याबमै हुने र घरमा खाना खान र सुत्नका लागि मात्र जाने भएकाले धेरै जनासँग हाम्रो पत्यक्ष सम्पर्क हुँदैन ।’

सुरक्षाका लागि पहिला जस्तो परिवारसँग घुलमिल हुने, सँगै खाने, बस्ने अवस्था अहिले नभएको उनले बताइन् ।  स्वाबको मात्रा धेरै भएको बेला २४ घण्टासम्म बसेर पनि रिपोर्ट दिनुपर्ने भएकाले घर जाने गरेकी छैनन् । 

उनलाई सुरुमा डरभन्दा पनि काम नयाँ काम गर्न पाएकामा गर्व लागेको र यसबारेमा नयाँ अनुभव हासिल गर्न पाएकोमा खुसी लागेको उनले बताइन् ।

ग्राजुयट कन्भोकेसनमा सहभागी हुन मन थियो
श्रद्धा थापा पनि कोरोना ल्याबमा काम गर्छिन् । अध्ययन सकेपछि उनी  विगत एक महिनादेखि पीसीआर परीक्षण प्रक्रियामा संलग्न भइरहेकी छिन् । ब्याचलर नर्सिङको पढाइ सकेपछि ग्राजुयट कन्भोकेसनमा सहभागी हुने उनको चाहना थियो । तर कोरोना आएपछि परिस्थिति बदलियो । कोरोना आउनुअघि पनि सङ्क्रामक भाइरससँग ल्याबमा खेल्नुपर्ने भए पनि अहिले नयाँ खालको अवसरमा सहभागी हुन पाएको उनी बताउँछिन् । 

उनले भनिन्– ‘एउटा मनले यो कोरोना सकिएपछि आफ्नो इच्छा अनुसारको काम गर्छु भन्ने लाग्थ्यो तर दिन बित्दै जाँदा यो एउटा अवसर हो भन्ने सोचँे । पढाइ सक्नेवित्तिकै यस किसिमको ल्याबमा काम गर्न पाउनु एउटा राम्रो अवसरको रूपमा लिएको छु । अहिले चाहिँ देशको लागि म पनि केही गर्न सक्छु भन्ने लागेको छ ।’

श्रद्धा थापा

पहिलो दिन निकै डर लाग्यो
अचेल डर नलाग्ने भए पनि पहिलो दिन श्रद्धाको लागि डरलाग्दो बन्यो । कोरोना परीक्षणका क्रममा रिएजेन्ट नामको केमिकल परिवर्तन गरिहनुपर्छ । पहिलो दिन काम गर्दा रिएजेन्टको मात्रा मिलेन र नजिता बिग्रन पुग्यो । फेरि त्यो दिन पोजेटिभ केस धेरै फेला पनि परेको थियो । कतै भाइरस आफैलाई त सरेन भनेर उनको सातो गएको थियो ।  

उनले भनिन्– ‘दिन बित्दै जाँदा सामान्य लाग्न थाल्यो । हामी सुरक्षित भएर काम गर्छौं । आजकल चाहिँ डर लाग्दैन । घर परिवारबाट पनि सहयोग गर्नुभएको छ ।’


सुरुमा उनको घर परिवारका सदस्य डराएका थिए । तर पेसा नै स्वास्थ्यकर्मी भएपछि कतिन्जेल डराउने ? नयाँ अनुभव पनि हुन्छ, सुरक्षित हुँदै काम गर्नु भनेर परिवारका सदस्यले सहयोग गरेपछि श्रद्धाले काम थालेकी थिइन् । 
उनले व्यक्तिको नाकमुखबाट स्वाब लिनेदेखि स्वाबमा रहेको जिन छुट्याउने, जिनमा कोरोना भाइरस रहे नरहेकोसम्म गरिने सबै काम गर्छिन् । 

सुरुमा डर लागे पनि अहिले भने पीसीआर परीक्षणको काम गर्न पाउँदा गर्वको महसुस भइरहेको उनले बताइन् । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप