बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको बहिर्गमनको चर्चासँगै सेयर बजारको बाँध फुट्यो

सोमबार, १५ भदौ २०७७, १८ : ५६
सोमबार, १५ भदौ २०७७

काठमाडौं । पछिल्लो समय सेयर बजारमा रौनक देखिन थालेको छ । सेयर बजार बढ्दै जाँदा कतिपयले अर्थमन्त्री डा.युवराज खतिवडाको बहिर्गमनको हल्लाले सेयर बजारमा काम गरेको विश्लेषण गर्न थालेका छन् । यद्यपि सेयर बजारमा वर्षौंदेखि लगानी गर्दै आएकाहरु भने सेयर बजारको प्रत्येक ४—४ वर्षमा बुलिस र बियरिसको चक्र हुने भएकाले सोही चक्रअनुसार बजार बढ्न थालेको बताउँछन् ।  तर अहिले सबैभन्दा बढी चर्चा अर्थमन्त्रीको बहिर्गमनकै छ । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिँदैछ यदि उनी राष्ट्रिय सभा सदस्यका लागि मनोनित भएनन् भने ।

अर्थमन्त्रीको बहिर्गमनको दिन नजिकिँदै जाँदा सेयर बजारमा पनि दिन प्रतिदिन रौनक छाउँदै गएको देखिन्छ । सेयर बजारले अर्थमन्त्री डा. खतिवडाको आगमन नरुचाएको स्पष्ट सङ्केत गरेको विश्लेषण हुन थालेको छ । बहिर्गमनको हल्ला चर्को भएसँगै सोमबार (भदौ १५) गते ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको करोबार भयो । बजार २२.३१ अङ्कले बढेर १४८४.९९ बिन्दुमा आएर अडिएको छ । डा. खतिवडालाई घरजग्गा र सेयर बजारले रुचाउने गरेको छैन ।

यसकारण अर्थमन्त्रीलाई रुचाउँदैन सेयर बजार
 अर्थमन्त्री हुने बित्तिकै खतिवडाले बीबीसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा सेयर बजार र घरजग्गा कारोबारलाई अनुत्पादक भनेका थिए जसका कारण उनी आलोचनाको सिकार बने । उनकै बोलीका कारण सेयर बजार माथि उठ्न नसकेको आरोप लाग्दै आएको छ । उनले सो अन्तर्वार्तामा सेयर बजार, घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा धेरै लगानी केन्द्रीकृत हुनु अर्थतन्त्रका लागि राम्रो नहुने बताएका थिए ।

नेकपा एमाले र नेकपा माओवादीले २०७४ कात्तिकमा चुनावमा सँगै जाने सम्झौतापछि सेयर बजार १६ सय अङ्कबाट १४ सय अङ्कको हाराहारीमा झरेको थियो । त्यतिबेला दुई कम्युनिस्ट पार्टी एकीकरणसँगै नेपालमा कम्युनिस्टको राज सुरु हुने विश्लेषण गरियो । सो बेला आम लगानीकर्ता कम्युनिस्ट सरकारसँग डराएको भनिएको थियो । अन्ततः कम्युनिस्ट सरकारका पनि आयो, प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएकै अवस्थामा पनि खतिवडालाई अर्थमन्त्री पनि बनाए । २०७४ फागुन १४ गते डा. खतिवडाले पदभार ग्रहण गरेका थिए । डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएकै दिन बजार २८ अङ्कले घटेको थियो ।

कतिपयले ५ वर्ष स्थिर सरकार आएपछि अर्थतन्त्रमा सुधार आउने विश्लेषण गरे । अर्थतन्त्रमा सुधार आए पनि सेयर बजारमा पनि केही सुधार आउँछ भन्दै विश्लेषण गरेका थिए । तर केपी शर्मा ओलीले नियुक्त गरेका अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारले खासै रुचाएन । उनी अर्थमन्त्री भएकै दिन भारी अङ्कले सेयर बजारमा गिरावट आयो । 

अर्थमन्त्री भएको केही दिनमा उनले सेयर बजार अनुत्पादक क्षेत्र भएको अभिव्यक्ति दिए । त्यसपछि उनलाई सेयर बजारका लगानीकर्ताले चर्को विरोध गरे । विरोधसँगै सेयर बजार १४ सयको लाइनबाट ११ सयको लाइनमा तल झर्यो ।  दोस्रो पटक अर्थमन्त्रीमा डा. खतिवडा नियुक्त हुँदा पनि २०७६ फागुन २१ मा ६८.७ अङ्कले बजार घटेको थियो ।

बजार बढ्नुमा अर्थमन्त्रीको बहिर्गमन मात्र कारण होइन : सरोकारवाला
इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलला रौनियार पछिल्लो समय बजारमा देखिएको उत्साह अर्थमन्त्रीको बहिर्गमनको चर्चाले मात्र नभएको बताउँछन् । केही हदसम्म यसले काम गरे पनि अहिले बैङ्कमा थुप्रिएको लगानीयोग्य रकम र ऋणको ब्याजदरमा आएको कमीका कारण बजार बढेको उनको भनाइ छ । प्रत्येक चार वर्षको चक्रमा यो बढ्ने बेला भएको रौनियारको तर्क छ । 

रौनियार भन्छन्, ‘पहिला पहिला अर्थमन्त्रीले सेयर बजारका बारेमा जथाभावी बोलेको कारण लगानीकर्ताप्रति उनको नराम्रो छवी भएको मात्र हो तर पछिल्लो समय उनको सेयर बजारप्रतिको सम्बोधन सुधारिएको छ, उनी जानु र नजानुमा कुनै अर्थ राख्दैन’ ।

यता ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाट पनि अर्थमन्त्रीको बहिर्गमन मात्र कारण नभएको बताउँछन् । उनका अनुसार अन्य लगानी गर्ने ठाउँ नभएको र बैङ्कहरुले पनि सस्तोमा ऋण दिन थालेकाले यतातर्फ लगानी आकर्षित भएको छ । पुराना लगानीकर्ताहरु सेयर बजार छोड्नै नचाहने र नयाँ लगानीकर्ताहरु बजारमा आकर्षित भएकाले कारोबार बढेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप