बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेर्नुस् त सिडियोसाब, कोरोना नै किचिएर मर्न लाग्यो !

बिहान हुनेबित्तिकै तरकारी पसलमा ठेलमठेल र पेलमपेल (भिडियो)
मङ्गलबार, १६ भदौ २०७७, १० : ३८
मङ्गलबार, १६ भदौ २०७७

‘यस्तो भीड गर्ने हो भने त कोरोना नै किचिएर मर्छ ।’ बिहान ८ बजे बजारमा तरकारी किन्न गएका एक ग्राहक ठट्टा गर्दै तरकारी छान्दै थिए ।

गोलभेडा छान्दै गरेकी एक जना महिला कराइरहेकी थिइन् । ‘अलि पर पर सर्नुस न हो दाजुभाई दिदीबहिनी ।’

कोही तरकारी छान्न नपाएर भीडमा मिसिएर पालो पर्खिरहेका थिए । व्यापारी पनि बिहानको ९ बजेभित्र धेरै व्यापार गर्ने चटारोमा थिए ।

तरकारी व्यापारी दधिलाल घिमिरे भन्छन्, ‘तरकारी किन्न आएकालाई भिड नगर्नुस भनेर उल्टै धपाउने कुरा भएन हजुर । हामीले पनि यस्तो बेला दुई चार पैसा तरकारी बेचेर बाँच्नुप¥या छ । डर छ के गर्नु अहिले ९ बजेपछि ‘बन्द गर्छस् कि बजाइदिऊँ’ भन्दै भाटो लिएर पुलिस आउँछन् । हामीलाई चाहिँ कोरोनाको डर नभएको हो र हजुर ?’

आजभोलि काठमाडौँ उपत्यकाका तरकारी तथा खाद्यान्न पसलमा बिहानी समयको सदाबहार दृश्य हो यो ।

तरकारी व्यापारी कृष्ण मैनाली लापरवाही गरेर तरकारी व्यापार भइरहेको बताउँछन् । बिहान बेलुका तीन तीन घण्टा व्यापार गर्न दिए ग्राहक र व्यापारी दुबैलाई सजिलो हुने उल्लेख गरे ।

उपत्यकाका ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी गरेको निषेधाज्ञाकाको एउटा सर्त थियो, खाद्यवस्तुको पसल बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने । यो निर्णय कतिको वैज्ञानिक छ सिडियोहरुको आफ्नै तर्क होला । तर तरकारी किन्न बजार पुगेका श्रीकृष्ण रञ्जितको तर्क भने यस्तो छ, ‘एउटा निश्चित छोटो समयमा मात्र दैनिक उपभोग्य सामग्री खरिद गर्ने पसल खोल्दा झन् अत्यधिक भीडभाड बढ्यो, यो कुरा किन बुझिएको छैन ? त्यस्तो बेला झन् संक्रमण सर्ने राम्रो अवसर हुन्छ भन्ने उनीहरुले किन बुझ्न सकेनन्, मलाई त अचम्म लागेको छ । यिनीहरुलाई यस्तो बुद्धि पनि कसले दिन्छ ? बिहान र बेलुका खोलिदिए त व्यापारीलाई नी होलो, किन्ने मान्छेको भीड पनि कम हुन्थ्यो । यहाँ त जसलाई जे सनक चढ्यो त्यही निर्णय गर्छ ।’

तरकारी व्यापारी कृष्ण मैनाली लापरवाही गरेर तरकारी व्यापार भइरहेको बताउँछन् । बिहान बेलुका तीन तीन घण्टा व्यापार गर्न दिए ग्राहक र व्यापारी दुबैलाई सजिलो हुने उल्लेख गरे ।

उपभोक्ता रिजन श्रेष्ठ बिहान ९ बजेसम्मका लागि बजार सञ्चालन गर्ने नीति लिएपछि एकैचोटी ग्राहकको चाप परेको बताउँछन् । उनले भने– ‘कुन पसल कति बेला खोल्ने निश्चित गर्नुपर्छ । सबै पसल एकैचोटी खोलिदिने, अनि सबै मान्छे एक्कैचोटी आएर भीड हुने गरेको छ । हामी जनताले पनि आफैले मास्क लगाउने र दुरी कायम गर्नुपर्ने अवस्था छ । सरकारले के गर्दा राम्रो हुन्छ योजना बनाएर व्यवस्थित गर्नुपर्छ । बिहान ७ देखि ९ बजेसम्म मात्र नखोलेर अरु कुन समय ठीक हुन्छ विचार गर्नुपर्छ ।’

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रयोग गरी आवश्यकताअनुसार निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौँ, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गत भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेका छन् । अत्यावश्यक सेवा अन्र्तगत रहेका पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म खुला गर्न र अरु समय पूर्ण रुपमा बन्द गराउँदै आएका छन् भने यातायात, व्यापार व्यवसाय सबै ठप्प पार्दै आएका छन् ।  जसको समय भोलि अर्थात भदौ १७ गते सकिँदैछ ।

जारी निषेधाज्ञा कफ्र्युभन्दा कडा गर्न खोजेको नागरिकहरुको आरोप छ । अनलाइन माध्यमबाट दैनिक उपभोग्य सामग्रीको होम डेलिभरी व्यापार गर्ने कम्पनीलाई पनि प्रशासनले नियन्त्रण लिने, बिहान एकछिन मात्र बजार खोल्न दिएर झन् भिड बढाउने काम उपयुक्त नभएको नागरिकहरुको भनाइ छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप