मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ सरकारले विराटनगरमा थप १ हजार बेडको आइसोलेशन बनाउने

बिहीबार, १८ भदौ २०७७, १९ : २९
बिहीबार, १८ भदौ २०७७

विराटनगर । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप १ हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा १ हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

सिसिएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले १ हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेशभित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन दिएका छन् ।  आइसोलेसन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान गरिएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन् ।

बैठकले  प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यु आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वयात्तमक रुपमा अगाडि बढ्ने नीति लिएको छ । 

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरुको लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतीनगर इलाम, रंगेली मोरङ्ग, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णय समेत गरेको छ । 

भोजपुर नगरपालिका–६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्वारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमति समेत बैठकले दिएको छ । 

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप