शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमार्फत आह्वान गरेपछि हजारौँ मान्छे मच्छिन्द्रनाथको रथ तान्न आए

स्थानीय प्रशासनको कमजोरीले निम्तिएको दुर्घटना
बिहीबार, १८ भदौ २०७७, २२ : ०१
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । ज्यापुसमाज सहितका विभिन्न १९ संघसंस्था बिहीबार बिहानैदेखि मच्छिन्द्रनाथको रथयात्रा कसरी टुंग्याउने भन्ने छलफलमा थिए । गुठी संस्थानका अधिकारी र ती संघसंस्थाको बीचमा ‘भर्चुअल छलफल’ चलिरहेको थियो । यहीबीचमा बिहान ७ बजेतिर केही मानिस रथ भएको ठाउँमा पुगे । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका दुईजना प्रहरी निरीक्षकको टोलीले उनीहरुलाई सम्झाई–बुझाई गरेर पठाए । तर, अवस्था साम्य भएन । 

कसैले एकाएक सामाजिक संजाल (फेसबुक) मार्फत आह्वान गरे,‘पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भयो, एक लाख मानिस उत्रँदै, तपाईँ–हामी सवै सहभागी बनौं ।’ त्यसपछि, अचानक करिब तीन हजारको संख्यामा मानिस भेला भएर रथ तान्न थाले । प्रहरीले रोक्यो, तर भीडमा रहेका एक समूहले ट्राफिक प्रहरीका जवान कोमल घिमिरेलाई लखेटेर कुट्यो । उनी चढेको बा २ प ७२४२ नम्बरको मोटरसाइकल तोडफोड गर्न थाले ।

रातो मच्छिन्द्रनाथको जात्राबारे सरोकार राख्ने ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले हजारौंको भीड कसरी पुल्चोकमा उत्रियो भन्नेबारे अनभिज्ञता प्रकट गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अघिल्ला वर्षमा हामीले नै भोलेन्टरको रुपमा समन्वय गर्दै आएका थियौं, आज अचानक बिना समन्वय कसरी मान्छे भेला भए हामिले थाहा पाएनौं ।’ 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले सामाजिक संजालमार्फत आह्वान गरेर हजारौं मानिस भेला हुँदा झडपको स्थिति आएको बताए । उनले भने, ‘बिहान ७ बजे आएकालाई हामीले सम्झाएर पठायौं, फेसबुकमार्फत आह्वान गरेपछि मानिस धेरै आए, अनि झडपको अवस्था आयो ।’ 

प्रहरी र रथ तान्न खोज्नेहरुको बीचमा झडप हुँदा पुल्चोक रणमैदान बन्यो । तर, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चाहिँ सो घटनालाई झडप मान्न चाहेनन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘झडप हैन, प्रहरीले भीडलाई डिस्फोर्स गरेको हो ।’ 

जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक थप गरेको निषेधाज्ञाको सूचनाको ७ नम्बर बुँदामा ‘कुनै मेला, महोत्सव, जात्रा संचालन गर्न, मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा  र जुलुस गर्न निषेध गरिएको’ भनिएको छ । तर, धार्मिक आस्था जोडिएको रथयात्रामा हुनसक्ने भुभमेन्ट विश्लेषण गर्न नसक्नु स्थानीय प्रशासनको कमजोरी देखिएको छ ।  

मानिस जम्मा हुन थालेपछि तत्काल एक्सन लिन नसक्नु र सम्भावित दुर्घटनाको विश्लेषण गरेर योजना बनाउन नसक्नु स्थानीय प्रशासनको कमजोरी  भएको जानकारहरु बताउँछन् । 
‘तत्काल बल प्रयोग गरेको भए झपडको अवस्था आउने थिएन,’ ललितपुर घटनालाई नजिकबाट नियालेका एक पूर्वप्रशासक भन्छन्, ‘रथलाई पूर्वबाट पश्चिमतिर फर्काएपछि बल्ल सुरक्षाकर्मीले रोक्न खोजे, त्यतिबेलासम्म स्थिति आउट अफ कन्ट्रोल भैसकेको थियो ।’ 


नौ जना पक्राउ
निषेधाज्ञा उल्लंघन गरेर मच्छिन्द्रनाथको रथ तान्ने जात्राको नेतृत्व गर्ने र ट्राफिक प्रहरी जवानलाई निर्घात कुटपिट गर्ने समूहका ९ जनालाई प्रहरीले पक्रेको छ । 
‘घटनामा संलग्न ९ जनालाई हामीले पक्राउ गरेका छौं’ ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘उनीहरुबारे अनुसन्धान गरिरहेका छौं ।’ 

कोमल घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा इन्सपेक्टर रमेश कुमार श्रेष्ठ पनि छन् । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ । रथ तान्न सहभागी ४ जना पनि घाइते छन् ।

रथ बुंमती लानुपर्ने बाध्यता 
असोज २ बाट मलमास  लाग्ने हुनाले रथयात्रा लगनखेल लगेर महावलिको काम सकेर बुंगमती फर्काउनुपर्ने हुनाले सो क्षेत्रमा निषेधाज्ञा जारी नगर्न कपिल बज्राचार्य सहितका पुजारीले राष्ट्रपतिलाई पत्र लेखेका थिए । भदौ ७ मा पुजारीहरुले पत्र पठाउँदै दशैं अघि नै मच्छिन्द्रनाथको रथलाई बुंमती लैजानुपर्ने बाध्यता रहेको सरकारी नियामक निकायलाई अवगत गराएपछि गुठी संस्थानले मध्यमार्गी बाटो सुझाएको थियो । 

गुठी संस्थानले जिल्ला प्रशासन कार्यालय र प्रहरीसँग समन्वय गरेर ‘संक्षिप्त रथयात्रा’ गर्ने राय दिएको थियो । संस्थानले त्यस्तो राय दिएपनि अन्तिम निर्णय गर्ने अधिकार स्थानीय प्रशासनको भएको जानकारी गरायो । तर, सो अनुसार समन्वय भएन् । 

‘थोरै मान्छेको उपस्थितिमा संक्षिप्त रथयात्रा गर्न सकिने राय दिएका थियौं’ गुठी संस्थानका प्रशासक शेषनारायण पौडेलले रातोपाटीसँग भने, ‘संक्षिप्त रथयात्रा भन्नाले मेसिन वा गाडीले तानेर स्थानीय प्रशासनको समन्वयमा सांकेतिक रथयात्रा चाहिँ गराउन सकिन्छ भन्ने हाम्रो राय थियो ।’ 

विवाद र झडपपछि सरोकारवाला र स्थानीय प्रशासनले सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथको रथलाई बुंमती लैजाने सहमति गरेका छन् । 
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा संघसंगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् ।   

‘भोलि क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुंगमती लैजाने सहमति भएको छ’ ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले रातोपाटीसँग भने, ‘संक्षित रथयात्रामा थोरै मात्र मानिस सहभागी हुन्छन् ।’ यसो त स्थानीय प्रशासनले सम्भावित घटनालाई रोक्न शुक्रबार बिहान १ बजेदेखि राति १० बजेसम्म कर्फ्यूको आदेश समेत जारी गरेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप