फूलबारी

नझुक्किनुहोस् है ! गुलाफ हैन यो, गुलाफ जस्तै देखिने फूल लेसियन्थस हो

person explore access_timeभदौ १९, २०७७ chat_bubble_outline0

 

 

लेसियन्थस (Lesiyanthus) मूलत: जंगली प्रजातिको फूल हो । यसमा लामो समयसम्म टिक्ने एकपत्रे (Single) वा बहुपत्रे (Double) फूल फुल्छ । विरुवा स्वस्थ छ र उचित वातावरण पायो भने सामान्यतः यसको फूल १५–२० दिनसम्म पनि टिक्ने गर्छ ।  झट्ट हेर्दा यो गुलाफ जस्तो देखिन्छ ।

यसको बोटानिकल नाम इस्टोमा ग्रान्डीफ्लोरुम (Eustoma grandiflorum)  हो ।

Photo: Chandra Khaki

मूलतः सज्जा एवं कट फ्लावरको रुपमा उत्पादन गरिने यो फूल विभिन्न रंगमा पाइन्छ । यो फूल वैजनी, रातो, गुलाफी, नीलो, हल्का पहेलो, सेतो लगायत विभिन्न रंगमा पाइन्छ ।

सामान्यतः यो विरुवा बीउको माध्यमबाट उमार्ने गरिन्छ । तर अरु फूलहरुको तुलनामा यो फूल बीउबाट उमार्न अलि कठीन मानिन्छ । बीउबाट विरुवा बन्नको लागि २२ देखि २४ हप्तासम्म लाग्ने गर्छ । त्यसैले नर्सरीबाट बेर्ना वा केही विरुवा नै किन्नु याे फूल हुर्काउने सजिलो उपाय हो । यो फूल जमीनमा वा गमला दुवैमा रोप्न सकिन्छ ।

रोप्ने स्थानः

यो घमाइलो वा हल्का घाम लाग्ने दुवै ठाउँमा हुर्कन्छ । धेरै चर्को घाम लाग्ने ठाउँमा यो विरुवा राम्ररी सप्रदैन । विशेषतः बिहानपखको ३–४ घण्टा घाम लाग्ने स्थान यो फूलको लागि उत्तम मानिन्छ । सामान्यतः १५ देखि २५ डिग्रीबीचको तापक्रम यसको लागि उचित मानिन्छ ।

Photo: Chandra Khaki

माटो

लेसियन्थसका लागि राम्ररी पानी निकास हुने माटो चाहिन्छ । हिले माटो वा पानी जम्ने माटोमा यो विरुवा हुर्कँदैन, विरुवा मरेर जान्छ ।

यो विरुवा रोप्नका लागि माटोको पीएचमान ६.५ देखि ७ उत्तम मानिन्छ । यो विरुवाले अम्लीय (एसिडिक)भन्दा क्षारीय (अल्कालाइन) माटो बढी रुचाउँछ । अम्लीय माटोमा यो विरुवा राम्ररी सप्रदैन, ढिलो हुर्कन्छ वा मरेर जान्छ । केही गरेर यो विरुवाको पात वा हाँगाहरु पहेलो बन्दै गयो, कोपिला राम्ररी फक्रन नपाउँदै सुकेर गयो भने माटोमा अम्लीयपना बढी भयो भनेर बुझ्दा हुन्छ । त्यो स्थितिमा माटोको अम्लीयपनलाई कृषि चुनको वा खरानीको प्रयोग गरेर सामान्य तुल्याउन सकिन्छ ।

परलाइट, कोकोपीट, पतकर, जैविक मलहरु मिलाइएका हल्का खालको माटोमा यो विरुवा राम्ररी सप्रन्छ ।

Photo: Chandra Khaki

पानी

लेसियन्थसको विरुवामा पानी हाल्दा माटोमा पानी नजमोस् भन्ने कुराको विशेष ख्याल गर्नुपर्छ । वास्तवमा, प्रायः सबै विरुवाहरुको माटोमा पानी जम्नु हुँदैन । गमलामा यो विरुवा रोपिएको छ भने माथिको डेढ–दुई इन्च माटो सुख्खा भएपछि मात्रै पूरै माटो भिज्ने गरेर पानी हालिदिनुपर्छ र माथिको माटो पुनः २ इन्च सुख्खा नभएसम्म पानी नहाल्दा नै वेश । विशेष गरेर यो प्रक्रिया विरुवा हुर्किरहेको बेलामा वा गर्मी मौसममा अपनाउनु राम्रो  । जाडो मौसममा यो विरुवालाई धेरै पानी चाहिँदैन । अतः जाडो मौसममा र फूल फुल्न छोडेपछि सामान्यतः यो विरुवालाई धेरै पानी चाहिँदैन । माटोको चिस्यान कायम राख्नको लागि हप्ता दश दिनमा एक चोटी पानी हाले पुग्छ ।

Photo: Suunitaa Thapa

मल

यो फूल फुल्ने सिजनमा यसलाई धेरै मलको खाँचो पर्छ । यस हिसाबले हप्तैपिच्छे मल हाल्नु राम्रो मानिन्छ । मलमा पनि प्रत्येक हप्ता झोल मल र महिनाको एक पटक राम्रो गुणस्तरको कम्पोष्ट मल हाल्नु पर्छ । खासगरी, फूल फुल्ने सिजनमा यो विरुवामा पोटासियम पर्याप्त मात्रामा भएको मल हाल्दा फूल राम्रो र झुप्पा–झुप्पा फुल्छ । यस हिसाबले केराको बोक्राको झोल मल बनाएर वा केराको बोक्रा घाममा राम्ररी सुकाएर पीठो बनाएर हाल्दा राम्रो फूल फुल्ने कुरा अनुभवीहरु बताउँछन् ।

रासायनिक वा कडा मलहरु यो विरुवाले त्यति रुचाउँदैन । विस्तारै निस्कासन हुने (slow releasing) मल यसको लागि उपयुक्त मानिन्छ । रासायनिक मल दिनुपर्ने अवस्थामा एनपीके (१९:१९:१९) थोरै मात्रा पानीमा घोलेर १५–२० दिनमा एक पटक दिनु उचित हुन्छ ।

Photo: Suunitaa Thapa

प्रुनिङ–पिन्चिङ

लेसियन्थसको फूल फुलेर ओइलाउन थालेपछि त्यसलाई काटिदिनु वा चुडिदिनुपर्छ । यसो गर्दा बोटमा अरु नयाँ नयाँ हाँगाहरु निस्कन र धेरै कोपिलाहरु पलाउन पाउँछ । फूल फुल्न छाडिसकेपछि यो विरुवालाई ६ इन्चजति बाँकी राखेर काटिदिनुपर्छ । त्यसपछि अरु विरुवाहरुलाई जस्तै यसलाई सामान्यतः मलजल र बेलाबेलामा गोडमेल गरेर राख्नुपर्छ । पुरानोबोटबाटै अर्को सिजनमा पनि यसमा नयाँ पातहरु पलाउँछन् नयाँँ फूलहरु फुल्छन् । सामान्यतः नयाँ विरुवामा भन्दा पुरानो विरुवामा अलि ठूलो खालको र थुप्रै फूल फुल्ने अनुभवीहरु बताउँछन् ।

सहारा दिनु

लेसियन्थस थरिथरिका जातिका हुन्छन् । होचा जातिका लेसियन्थसलाई सहारा दिइबस्नु पर्दैन तर अग्लो प्रजातिका विरुवा छ भने विरुवा ननुहियोस् वा नलत्रियोस् भन्नाका लागि छेउमा लठ्ठी गाडेर विरुवालाई बाँधिदिनु पर्छ ।

Photo: Suunitaa Thapa

सुरक्षा

यो विरुवाले ‌ओसिलोपन मन पराउँछ । यस अर्थमा यस विरुवालाई ढुसी र कीराहरुले बढी सताउने गर्छ । त्यसबाट बच्नका लागि बेलाबेलामा एन्टीफंगल औषधि, कीटनाशक औषधिहरु छर्कनुपर्छ । सामान्यतः हप्तामा एक पटक ५ मिलिलिटर नीमतेललाई एक लिटर पानीमा घोलेर छर्कने हो भने पनि यो समस्याबाट बच्न सकिन्छ ।

यो विरुवा रोपेको माटोमा महिनाको १ पटक नीमको पीना हालिदिने हो भने पनि ढुसी र कीराको समस्या निक्कै कम भएर जान्छ । नीमको पीनाको अझ उत्तम प्रयोग त कुनै पनि विरुवा रोेप्ने माटो तयार गर्ने क्रममा शुरुमै माटोमा आवश्यकताअनुसार (मोटोको मात्रा हेरेर) नीम पीना मिसाउने र त्यो माटोलाई १४–१५ दिनपछि विरुवा रोप्नको प्रयोग गर्नु राम्रो मानिन्छ ।  नीमको पीनाबाट विरुवाले नाइट्रोजन, फस्फोरस र पोटासियम लगायत अन्य विभिन्न सुक्ष्म पोषणतत्त्व पनि प्राप्त गर्छ । नीमको पीनाले पातहरु गाढा हरियो बनाइदिन्छ, जरा कुहिनबाट बचाउँछ, माटोमा हुने कीराहरु पैदा हुन दिँदैन, माटोमा फाइदाजनक व्याक्टेरियाहरुलाई बढाइदिन्छ ।

तर नीमको पीना प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुरा के हो भने यसलाई सोझै जरामा भेट्ने गरी हाल्नु राम्राे मानिँदैन । गमलाको वरिपरि जराबाट केही पर नीमको पीना हाल्ने गर्दा राम्रो हुन्छ । त्यसरी हालेको पीनालाई माटोले राम्ररी छोपिदिनुपर्छ ताकि त्यसमा ढुसी नपरोस् । नीमको पीना हाल्दा गमलाको आकार अनुसार हाल्नुपर्छ । सामान्यतः एउटा १२ इन्चको गमलामा १ टेबुलचम्चा पीना पर्याप्त हुन्छ । गमलाको आकार अनुसार मात्रा घटबढ गर्न सकिन्छ ।

फूलप्रेमी सुनीता थापाको सौजन्यबाट प्राप्त थप केही तस्विरहरुमार्फत लेसियन्थसका अद्भूत सुन्दरतालाई नियालौं !

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।