शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीसीआरसँग हारेका एक बुबाको पीडा

गर्नुपर्ने आँखाको तत्काल अप्रेशन, रिपोर्टका लागि गौशाला–टेकुको ३ दिने पैदलयात्रा (भिडियो)
शुक्रबार, १९ भदौ २०७७, १४ : २७
शुक्रबार, १९ भदौ २०७७

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार दिउसो साढे १ बजे  महोत्तरीका रामसागर बरही एउटा आँखा ब्यान्डेज गरिएकी छोरीको हात समातेर अस्पताल प्रवेश गर्छन् ।

उनी 'कोरोना जाँच कहाँ गराउने हो ?' भनेर अस्पतालका कर्मचारीलाई सोध्छन् । तर, ‘आज त बन्द भइसक्यो’ भन्ने जवाफ सुनेर उनी अवाक हुन्छन् ।

आफ्नी माइली छोरी निशा कुमारी घरमा दाउरा भाँच्दै थिइन् । तर भाँच्दै गरेको दाउराले उनको एउटा आँखामा घोच्यो ।

आँखामा घाउ भएपछि उनी महोत्तरीबाट छोरीलाई सिरहाको लाहानस्थित आँखा अस्पताल लगे । तर सो अस्पतालले काठमाडौंमा रहेको तिलगंगा आँखा अस्पताललाई रिफर गरिदियो ।

एम्बुलेन्सलाई ११ हजार तिरेर उनी बुधबार काठमाडौँ आइपुगे । गौशालाको गेष्ट हाउसमा बसे । बिहान तिलगंगा आँखा अस्पतालमा जचाउन जाँदा आँखाको अप्रेशन गर्नुपर्छ, त्यसभन्दा पहिला कोरोना जाँचको पीसीआर रिपोर्ट लिएर आउन भनियो ।

उनलाई पीसीआर परीक्षण कहाँ गर्छ थाहा थिएन । कसैले बानेश्वरमा परीक्षण गर्छ भनिदिए । उनी सोध्दै खोज्दै पैदल बानेश्वर पुगे तर कहाँ गर्छ थाहा भएन । फेरि मान्छेहरुलाई सोधेर टेकुमा पीसीआर परीक्षण हुन्छ भन्ने थाहा पाए ।

तर टेकुमा शुक्रराज ट्रपिकल अस्पताल कहाँ छ उनलाई थाहा नै थिएन । सोध्दै सोध्दै पैदल २ घण्टा लगाएर साढे १ बजे उनी टेकु अस्पताल आइपुगे तर त्यतिबेलासम्म पीसीआर टेष्टका लागि स्वाव लिने काम बन्द भइसकेको थियो ।

उनले मधेशी मूलकै डाक्टरसँग आफ्नो गुनासो सुनाइरहेका थिए । डाक्टर भन्दै थिए–‘तपाईं चाँडो आउनुपथ्र्यो, ढिलो भइसक्यो । ओपीडीको समय बिहान १० बजेबाट १ बजेसम्म मात्र हुन्छ । स्याम्पल कलेक्सन ११ बजेदेखि १ बजेसम्म हुन्छ । अहिले पीसीआर स्याम्पल कलेक्सन गर्ने मान्छे नै गइसकेको छ । अब कसले गर्छ ? आज हुँदैन अब भोलि आउनुस ।’

उनले टिकट बिक्री भइसकेकोले भोलि आउन भनिरहेका थिए । अस्पतालमा रहेका कर्मचारीसँग पनि उनी आग्रह गरिरहेका थिए तर काम नभएपपछि उनी निराश भए ।

उनकी छोरीको आँखामा चोट लागेको ५ दिन बितिसकेको छ । शुक्रबार फेरि पैदल गएर उनले स्वाव टेष्ट गर्न दिएका छन् । अब फेरि अर्को दिन उनले गौशालाबाट हिँडेरै टेकु पुगेर रिपोर्ट ल्याउनुपर्नेछ । अनि त्यसको भोलिपल्टबाट मात्र उनकी छोरी निशाकुमारीको अप्रशेन सुरु हुनेछ ।

अस्पतालबाट गौशाला फर्कदै गर्दा उनले गुनासो पोखे–‘छोरीको आँखा खराब भइसक्यो । अब कहिले अप्रेशन हुने हो थाहा छैन । हिँड्दा हिँड्दा दुई जनाको खुट्टा पनि थाकिसक्यो अब भोलि फेरि हिँडेर आउनुप-यो । फेरि रिपोर्ट लिन पनि हिँडेरै आउनुप-यो ।’

रामसागरले तिलगङ्गा आँखा अस्पतालमा कोरोनाको रिपोर्ट पेश गर्न ३ दिन गौशाला–टेकु–गौशाला ओहोरदोहोर गर्नुपर्ने भएको छ ।

कुनै एउटा स्वास्थ्य समस्या भएर उपचारका लागि अस्पताल जाने विरामी कोरोनाको परीक्षणको रिपोर्टका लागि भौतारिँदा भौतारिँदा बिग्रिएको स्वास्थ्य झन् जटिल बन्ने देखिएको छ ।

यसबारेमा हामीले अस्पतालका निर्देशक डा.सागर राजभण्डारीलाई जेष्ठ नागरिक, अत्यावश्यक अवस्थामा रहेकाहरुलाई तत्काल पीसीआर परिक्षण गरेर दिन सकिँदैन भनेर सोध्यौँ । उनले सो अस्पतालले इर्मजेन्सी सेवा नदिने, जस्तो सुकै अवस्थाको विरामी वा समस्या परेको मान्छे आएपनि दैनिक ३ सय भन्दा बढीको स्वाब संकलन र परीक्षण गर्न नसकिने बताए । अस्पतालको क्षमता ३ सय मात्र भएको बताउँदै टिकट सकिएपछि परीक्षण नहुने जानकारी दिए । 

सांसदको हातमा १६ जनाको टिकट

अस्पतालको हाताभित्र १६ जनाको एउटा समूह बसेको थियो । मुगुका नेकपा सांसद गोपालबहादुर बमले मुगु जाने १६ जना जम्मा पारेर बिहानै आएर टिकट खरिद गरिसकेका रहेछन् । 

उनीहरु पीसीआर रिपोर्ट आएपछि १६ जनाको टोली काठमाडौँबाट तारा एयरको विमान चार्टर गरेर सिधै मुगु जाँदै रहेछन् । प्रतिव्यक्ति १५ हजारका दरले काठमाडौँबाट मुगु जाने तरखरमा रहेको सुनाए ।

जनताकौ एउटा जनप्रतिनिधिको हैसियतले सांसद बमलाई महोत्तरीबाट सोध्दै खोज्दै घाइते छोरीलाई लिएर आएको एकजना बृद्ध परीक्षण गर्न नपाई फर्कनुपरेको अवस्थालाई कसरी लिनुहुन्छ भनेर जिज्ञासा राख्यौँ । केहीबेर पछि आफ्नो परीक्षण हुनेमा ढुक्क भएर बसेका सांसद बमले नेपाल देश गरिब रहेको, सरकारको पनि समस्या रहेको र स्वास्थ्यकर्मीको पनि अभाव भएको तर्क दिँदै पीसीआर परीक्षण अनिवार्य गर्ने हो भने गरिब जनताका लागि छिटो र सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्ने बताए ।

काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टिकट शुल्क बाहेक कोरोना परिक्षणको शुल्क लाग्दैन । सिमित मात्रामा मात्र परीक्षण गर्ने भएका कारण हरेक दिन दिउसो १ बजेपछि जानेहरु परीक्षण नगराइ फर्कने गरेका छन् ।

गम्भीर प्रकृतिका विरामी, दुर्घटनाका घाइते, तत्काल उपचार गर्नुपर्ने अवस्थाका विरामीका लागि तत्काल पीसीआर परीक्षण र रिपोर्ट दिने व्यवस्था नगर्दा विरामी र उनीहरुका आफन्तले हैरानी पाइरहेका छन् ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप