शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उज्यालो हुन नपाउँदै शोकमा डुब्यो ढोरपाटन

शुक्रबार, १९ भदौ २०७७, २२ : २९
शुक्रबार, १९ भदौ २०७७

गलकोट । बुधबार राती भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो ।  धेरै वस्तीहरु बगरमा परिणत भए । धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुप¥यो । 

ढोरपाटन नगरपालिका–७, ८ र ९ का गाउँलाई उजाड बनाएको भूजीखोलाले सबैभन्दा बढी क्षति वडा नं ९ मा पु¥याएको छ । मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको जनाइएको छ । 

ढोरपाटन –९ देउरालीडाँडाबाट खसेको पहिरो भूजि खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीले बगाउँदा हाल सम्म १४ जनाको शव फेला परेको छ भने अझै २४  वेपत्ता रहेका छन् । शवको सनाखत हुँन नसक्दा वेपत्ता मध्येका हुन् अथवा होईनन् भन्ने प्रहरीले एकीन गर्न सकेको छैन । 

बिहीबार बिहानैदेखि सुरक्षा निकाय तथा स्थानीय उद्धारमा जुटिरहेका छन्  । भूजी खोला आसपासका बस्ती अधिकांश बगरमा परिणत भएको स्थानीय रुपाल घर्ती मगरले जानकारी दिए । “कल्पना भन्दा बाहिरको बाढी आयो, रातको समयमा पहिरोले खोला थुनिएपछि तलाउँ बनेर फुटेको हुन सक्ने हाम्रो अनुमान छ” उनले भने, “मेरो घर भन्दा माथीका अधिकांश बस्तीनै उजाडिएको छ ।” पहिरोका कारण ढोरपाटन –९ सुप्राङका सुस्मिाता बिक र मशेह बिकले आफ्नो ८ जनाको परिवार गुमाउनुपरेको छ । उनीहरु अझै वेपत्ता रहेका छन् ।

यस्तै शेरु बिक, हुमे बिक, कृष्ण बिकको परिवारका सदस्यहरु खोसिएका छन् । प्रहरीको तथ्याङ्क एकीन नहुँदा झनै समस्या भएको छ । भेटिएका शव आफ्नै परिवारको भन्ने अवस्था नरहेको कृष्ण परियारले बताए । “कोहीको टाउको छैन, कोहीको हात खुट्टा छैन” उनले भने, “बाढीले बस्तीसंगै सबैलाई रित्तो बनायो, आफ्नै परिवार पहिचान गर्न नसक्नेगरी शव फेला परेको छ ।” 
 
मस्त निद्रामा परेको गाउँ बिहान हुन नपाउँदै रित्तिएपछि सिंगो बागलुङ नै शोकमा डुबेको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरीबल खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । “घटना निकै ठूलो भएका कारण उद्धार कार्यलाई निरन्तरता दिइनेछ, वेपत्ताको तथ्याङ्क एकीन नहुँदा उद्धारमा कठिनाई भएपनि निरन्तर सुरक्षा निकाए खटिएको छ ।” उनले भने– “घटनास्थलमा पुग्ने सडक समेत अबरुद्ध भएका कारण थप कठिनाई भएको छ ।” 
 
केहीले बाढी आएको सूचनाका आधारमा भागेर ज्यान बचाउन सफल भएपनि बाढीले घर, गोठ, पशु चौपाया र ओढ्ने ओच्छाउने बगाएको छ ।  भेटिएका शव मध्ये सात जनाको मात्रै पहिचान भएको छ । ढोरपाटन  ९ बाट सुरु भएको बाढीले वडा नं ८ र ७ मा पनि ठूलो क्षति पु¥याएको छ । भुजीखोलामा उर्लिएर जमिन थर्कने गरी आएको चर्को आवाजले विउझिएका स्थानीयले तल्लो बस्तीमा फोन गरेपछि भौतिक रुपमा क्षति भएपनि खोलाको तल्लो भेगमा मानवीय क्षति कम भएको ढोरपाटन– ७ का वडा अध्यक्ष दीपक थापाले जानकारी दिए । 

तेसैगरी बाढीमा ढोरपाटन –९ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन गम्भीर घाइते भएका छन् । उनीको शरीर र टाउकोमा चोट लागेको छ । यस्तै सोही ठाउँकी २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन सामान्य घाइते भएका छन् ।  घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण र करिब ७० घरमा आशिंक क्षति पुर्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप