केन्द्रीय संस्करण
कोरोनाभाइरस

जोखिम भत्ता त परै जाओस्, मासिक तलब र पीपीई समेत पाएका छैनन् नर्सले

person explore access_timeभदौ २०, २०७७ chat_bubble_outline0

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस विरुद्धको युद्धमा ‘फ्रन्ट लाइनका लडाकु’ मानिन्छ । देश–देश बीचको युद्धमा सेनाको जस्तो भूमिका हुन्छ, अदृष्य कोरोना भाइरसविरुद्धको युद्धमा चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका त्यति नै महत्त्वपूर्ण मानिएको छ । बिरामीको स्वास्थ्य परीक्षण एवं उपचारका क्रममा कयौं चिकित्सक तथा स्वास्थ्यकर्मी आफै पनि कोरोनाबाट संक्रमित भएका छन् । विश्वमा कोरोना भाइरसविरुद्धको युद्धका क्रममा कयौं स्वास्थ्यकर्मी एवं चिकित्सकले ज्यान गुमाएका छन् । त्यसैले पनि विभिन्न मुलुकले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशेष सुविधा तथा भत्ताको व्यवस्था गरेर कोरोनाविरुद्धको युद्धमा परिचालन गरेको पाइन्छ ।

नेपालले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको घोषणा गरेको छ । तर चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) मा कोरोना संक्रमितको हेरचाह तथा उपचार खटिएका नर्सले जोखिम भत्ता त परै जाओस्, दुई महिनादेखि मासिक तलबसमेत नपाएको गुनासो गरेका छन् ।

आइसोलेशनमा संक्रमितको उपचारमा दिनरात खटिने नर्सहरूलाई अस्पतालले बेवास्ता गरेको त्यहाँ कार्यरत एक नर्सले बताइन् । कोभिड र नन्–कोभिडको उपचारमा खटिने नर्सहरूले मासिक तलबसँगै जोखिम भत्ता र सुरक्षात्मक सामग्री ‘पीपीई’को माग गरे पनि अस्पताल प्रशासनबाट सुनुवाई नभएको उनले सुनाइन् ।

६ महिना अघिदेखि प्रयोगमा ल्याएको पीपीई नै धोइपखाली गरेर पुनः प्रयोग गरी आइसोलेनमा रहेका संक्रमितको हेरचाह गर्न बाध्यको भएको सो अस्पतालका नर्सहरूको भनाइ छ । हालसम्म उक्त अस्पतालमा ३० जनाभन्दा बढी नर्सहरू कोरोना संक्रमित भइसकेका छन् ।

अस्पतालले आइसोलेशन खटिने स्वास्थ्यकर्मीलाई व्यक्तिगत रुपमा पीपीईको व्यवस्थापन गर्न सकेको छैन । पुराना पीपीई लगाउँदा हातखुट्टामा चिलाउने, छालामा स–साना फोका निस्कने गरेको नर्सहरु बताउँछन् । 
जोखिम भत्ता र सुरक्षात्मक सामग्री पीपीईको माग गर्न जाँदा अस्पताल प्रशासनले ‘कोरोनाको बिमा’ गराइदिन्छु भनेर टार्न खोजेको उनीहरुको गुनासो छ । तर कोरोनाभाइरस संक्रमण नेपालमा फैलिएको ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा प्रायः सबै नर्सले व्यक्तिगत रुपमा बिमा गरिसकेका छन् ।

अस्पतालमा कार्यरत नर्सहरूले जोखिम भत्ता र पीपीईको व्यवस्था गरिदिन आइतबार माग गरे पनि प्रशासनले चार÷पाँच दिनपछि छलफल गरेर अगाडि बढ्ने आश्वासन दिएको एक नर्सले रातोपाटीलाई बताइन् । तर चार÷पाँच दिन बित्दा पनि मागको कुनै सुनुवाइ हुन नसकेको उनको भनाइ छ । राजधानीमै पनि जोखिम भत्ता नपाएकाे गुनासाे नर्सहरुबाट आउने गरेको छ ।

नेपालमा कोरोनाभाइरसको बिरामी बढ्न थालेसँगै स्वास्थ्यकर्मीमा पनि संक्रमण दर बढ्न थालेको छ । निजी तथा सरकारी अस्पतालहरूले कोभिड तथा नन्–कोभिड बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई गुणस्तरीय सुरक्षात्मक सामग्री ‘पीपीई’ उपलब्ध नगराएको कारण झन् जोखिम बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई  पीपीई तथा जोखिम भत्ताको व्यवस्थापन समयमै गर्न नसक्दा स्वास्थ्यकर्मीको मनोबल घट्दै जाने चेतावनीसमेत जनस्वास्थ्यविद्हरूले बेलाबेलामा दिइरहेका छन् ।

अस्पतालमा नन्–कोभिड बिरामी भनेर उपचार गर्न आए पनि तीमध्ये परीक्षणका क्रममा दिनमा ३/४ जना कोरोना संक्रमित फेला पर्ने गर्छन् । नन्–कोभिड बिरामी भनेर पीपीई नलगाइकन उपचारमा संलग्न हुँदा झन् जोखिम बढेको नर्सहरूको भनाइ छ ।

नन्–कोभिड भनेर उपचार गर्न आएका बिरामीको स्वाब रिपोर्ट चार/पाँच दिन पछि आउने र कतिपय संक्रमितसमेत हुने गरेका कारण उक्त अवधिमा स्वास्थ्यकर्मी तथा नर्सहरू घरमा जाने–आउने गर्दा परिवार तथा समुदायका मानिस झन् जोखिम बढ्ने गरेको उनीहरु बताउँछन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलाका अनुसार मापदण्ड पुरा नगरिकन निर्माण गरिएको पीपीई पुनः प्रयोगमा ल्याएमा समस्या तथा जोखिम बढ्न सक्छ ।
पछिल्लो समय नेपालमै उत्पादन गरिएको पीपीईलाई विभिन्न अस्पतालले धोएर पुनः प्रयोग गर्दै आएका छन् । धोइपखाली गरेर पुनः प्रयोगमा ल्याइएका पीपीई लगाउँदा स्वास्थ्यकर्मीहरूले छाला सम्वन्धी विभिन्न समस्या भोग्नुका साथै संक्रमणको जोखिममा परेको सुनाउँदै आएका छन् ।

हालसम्म विश्व स्वास्थ्य संगठनले होममेड पीपीईको बारेका केही भनेको छैन । पछिल्लो समय पीपीईको सेटमध्ये गाउन् पुनः प्रयोग गर्ने गरिएको छ । धोएर घाममा सुकाएर फेरि प्रयोग गर्न मिल्ने गरी गाउन् निर्माण भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । कोभिड तथा नन्–कोभिड बिरामीको उपचार संलग्न स्वास्थ्यकर्मीले पुनः प्रयोग गर्ने गाउन् सही तरिकाले नधोएको वा सफा नभएको अवस्थामा कोरोना संक्रमणको जोखिम बढ्ने उनी ठान्छन् । 

उता कोरोना महामारीका कारण लकडाउन, सटडाउन र निषेधाज्ञा आदिले गर्दा अस्पतालले चाहेर पनि नर्सहरूलाई महिनावारी रुपमा तलब दिन नसकेको अस्पतालकी नर्सिङ सुपरिटेन्डेन्ट सिता पराजुलीले स्वीकारिन् । विगतमा नन्– कोभिड बिरामीको उपचार गर्दै आएको मेडिकल कलेज लगायतका अस्पताललाई सरकारको आदेशपछि एक्कासी कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्दा केही समस्या देखिएको उनले बताइन् ।
नर्सहरूका के–के समस्या छन् र ती समस्या समाधानका लागि कसरी पहल गर्ने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्न अझै १५÷१६ दिन लाग्न सक्ने उनी बताउँछिन् । 

कोरोना संक्रमित नर्समध्ये होमआइसोलेशनमा बस्न चाहनेलाई घरमै पठाउने गरेको र असम्भव हुनेलाई अस्पतालको आइसोलेशनमा राखेको उनले बताइन् । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा संलग्न नर्स र नन्–कोभिडको उपचारमा संलग्न नर्सहरूको मागका बारेमा सम्बन्धित निकायसँग छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.