शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानसँग १० गुणा बढी युरेनियम रहेको तथ्य खुल्यो, अब के गर्दैछ तयारी ?

सोमबार, २२ भदौ २०७७, ०० : २९
सोमबार, २२ भदौ २०७७

एजेन्सी । इरानले अन्तर्राष्ट्रिय आणविक सम्झौता (मापदण्ड) विपरित १० गुणाभन्दा बढी युरेनियम भण्डार गरेको छ । संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले इरानले सम्झौताविपरित  १० गुणाभन्दा बढी युरेनियम संकलन गरेको जनाएको हो । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईईए) का अनुसार इरानको भण्डारमा अहिले २१०५ किलो युरेनियम रहेको छ । जबकि सन् २०१५ को सम्झौतमा यहाँ ३०० किलोग्रामभन्दा बढी युरेनियम देखिएको थिएन ।

इरानले गतवर्ष जुलाईमा युरेनियम संवद्र्धनका लागि नयाँ र उन्नत सेन्ट्रीफ्युज उपकरणहरु प्रयोग गर्न थालेको बताएको थियो । सेन्ट्रीफ्युज रासायनिक कणहरु एक अर्काबाट अलग गर्न प्रयोग गरिन्छ । इरानका दुई स्थान नटानज र फोर्डोमा युरोनियको सम्बद्र्धन र उत्पादन गरिन्छ । सम्बद्र्धनपछि यो आणविक शक्ति वा आणविक हतियार विकास गर्न प्रयोग गरिन्छ । यद्यपि, इरानले आफ्नो आणविक कार्यक्रम केवल शान्तिपूर्ण उद्देश्यका लागि भएको प्रस्ट पार्दै आएको छ ।


अब एक स्थान (आणविक अड्डा)को परीक्षण बाँकी
इरानले आईएईका पर्यवेक्षकहरुलाई दुई स्थानका शंकास्पद आणविक सेन्टर (अड्डा) मध्ये कुनै एकको छानविन गर्न अनुमति दियो । तर अर्को एक स्थानको नमूना लिन बाँकी रहेको र यो महिना त्यहाँबाट नमूना लिन तयारी भैरहेको सर्वेक्षणको जिम्मा  लिएको एजेन्सीले जनाएको छ । गतवर्ष सन् २०१५ मा इरानले जानीजानी खुलारुपमा आणविक सम्झौताको उल्लंघन गरेको आरोप खेपिरहेको छ ।

उक्त आणविक सम्झौतामा इरानसहित अमेरिका, बेलायत, रसिया, जर्मनी, फ्रान्स र चीनले पनि हस्ताक्षर गरेको थियो । त्यसको ४ वर्षपछि इरानले सन् २०१९ मा अनुमतिभन्दा बढी युरेनियम उत्पादन गर्न सुरु गरेको थियो । यद्यपि, यो उत्पादन आणविक हतियारहरु निर्माण गर्न आवश्यक स्तरभन्दा निकै कम थियो ।

इरानले योसँगै आणविक हतियार बनाउन सक्ला ? 
इरानलाई परमाणु हतियार निर्माण गर्न तत्काल ३.६७ प्रतिशत संबद्र्धन गरिएको १,०५० किलो युरेनियम आवश्यकता पर्दछ । तर एक अमेरिकी समूह ‘आम्स कन्ट्रोल एसोसियसन’ का अनुसार यसलाई पछि ९० प्रतिशतको हाराहारीमा बढाउनुपर्छ । कम संबद्र्धन गरिएको तीनदेखि ५ प्रतिशत घनत्व  भएको  युरेनियमबाट आइसोटोप यु–२३५ को इन्धनको प्रयोग गरेर विद्युत शक्ति निर्माण गर्न सकिन्छ ।

हतियार बनाउनका लागि जुन युरेनियम प्रयोग हुन्छ, त्यो ९० प्रतिशत वा त्योभन्दा बढी संवद्र्धित (राम्रो) हुनुपर्छ । विज्ञहरुका अनुसार यदि इरानले यो प्रक्रियामा जान चाहेको रहेछ भने पनि यो प्रक्रिया पुरा गर्न लामो समय लाग्छ ।

पछिल्लो हप्ता इरानले भनेको थियो कि ‘सद्धभाव’ का लागि पनि हामीले हतियार पर्यवेक्षकहरुलाई जाँच गर्न दिएका हौं, ताकि यसले आणविक सुरक्षासम्बन्धी मुद्धाहरुको समाधान गर्न सकियोस् ।  तर आईएईले इरानको यो दाबीको आलोचना गर्दै आएको छ । सो एजेन्सीले इरानले दुई अड्डाहरुमा अनुसन्धानको अनुमति नदिएको तथा गोप्य आणविक सामाग्री र त्यससँग सम्बन्धित गतिविधिहरुको बारेमा प्रश्नहरुको उत्तर नदिएको आरोप लगाउँदै आएको छ ।

सो अनुगमन एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘इरानले एजेन्सीका पर्यवेक्षेकहरुलाई नमूना उपलव्ध गराएको छ । ती नमूनाहरु एजेन्सीको नेटवर्क प्रयोगशालामा परीक्षण गरिनेछ ।’ इरानले पछिल्ला वर्षदेखि अन्तर्राष्ट्रिय परमाणु सम्झौतासँग जोडिएका शर्तहरुको पालना गर्न छाडेको छ । इरानले सो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौता फिर्ता लिने घोषणा गरेपछि उठाएको थियो । श्रोतः बीबीसी  (अनुवाद- रङ्गलाल रिमाल)
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप