शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

सोमबार, २२ भदौ २०७७, १० : २४
सोमबार, २२ भदौ २०७७

कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न ।
साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले बताए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीहरुको भनाइ छ ।

    “पितृपक्ष समेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा वैशाख १ गतेका दिन मनाइने बिस्केट जात्रा र भाद्र शुक्ल पक्षदेखि आश्विन कृष्ण पक्षसम्म मनाइने इन्द्रजात्रा समेत रोकिएका बेला रातो मच्छिन्द्रनाथको जात्रा मनाउनै पर्ने कारण के हो ?”, पञ्चाङ्गकार पन्तले भने ।

  ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेलले इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहत्संहिता लगायत ग्रन्थमा उल्लेख भए पनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताए । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभए पनि सामान्यरूपमा साइत दिन नहुने समयकै साइत आइतबार दिइएको पाइएको उनले जानकारी दिए । तिथिको हिसाबले शनिबार वा सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेलले बताए। भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि उस्तै दिइनु गलत भएको ज्योतिष शास्त्रीहरु बताउँछन् ।

    किन आइतबारकै साइत रथ तान्न र भदौ २६ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजु र साइत निकाल्ने समूहका ज्योतिषी कीर्तिमदन जोशीसँग पटकपटक सम्पर्क गर्दा पनि उनीहरु उपलब्ध भएनन् ।

    प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप