बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुध्रिने कि कोमिन्ताङ हुने ?

सोमबार, २२ भदौ २०७७, १२ : ५६
सोमबार, २२ भदौ २०७७

 जघन्य अपराध गरेका अपराधीहरूलाई मृत्युदण्ड दिनु अगावै उसको आखिरी इच्छा सुन्ने विश्वव्यापी प्रचलन हो । आँखा अगाडि अजङ्गको मुख उघारेर बसेको फाँसीको फन्दा र सम्मुखमा उभिएको मृत्युलाई देखेर मान्छेले बोल्ने अन्तिम वाक्य विशेष रूपमा सङ्ग्रहणीय हुन्छ । त्यस समय मृत्युको अवश्यम्भावी परिणाम देखेर उक्त व्यक्ति सम्पूर्ण लोभ, लालच र प्राप्तिको अपेक्षाबाट पूर्णतया मुक्त हुन्छ ।
उसले आफ्नो ब्रह्मले देखेको सत्य उद्घाटित गर्ने विश्वास गरिन्छ । तसर्थ मृत्युशय्याको सन्देश बृहत्तर महत्त्वको हुन्छ । अपराधीहरूको अन्तिम वाक्यलाई त उच्च सम्मान र अगाध कदर गरिन्छ भने महापुरुषहरूबाट निस्किएका अमृतमय विचारहरू सदासर्वदा आगामी पुस्ताको समुचित बाटोका निम्ति अनिवार्य रूपमा कदरयोग्य हुन्छन्, हुनैपर्छ ।

आफ्नो मृत्यु शय्याबाट जीवनको आखिरी दिनताका बीपीले भन्नुभएको छ, ‘प्रजातन्त्र आएपछि पार्टीमा सुकिलामुकिला र चम्किला चिल्ला गाडी चढ्नेहरूको बिगबिगी हुनेछ ।’ प्रजातन्त्र प्राप्तिपछिका यी भीषण दिनहरूमा नेपाली काँग्रेसको गर्वले उचालिएको शिरमाथि अपशकुनका धमिला बादलहरू मडारिएको याम हो ।
प्रजातन्त्रको रक्तमुछेल बाटोबाट अविचल अघि बढेको इतिहास बोकेको दक्षिण एसियाकै जातन्त्रको मसिहा लोकतन्त्रको हिमायती पार्टी आफ्नो महाधिवेशन गर्न नसकी आर्यघाट अगाडि मूर्छित अवस्थामा छ ।
 
लोकतन्त्रप्रतिको विश्वास र समर्पण सामु कहिल्यै लुला पाइला नगरेको प्रजातान्त्रिक मसिहा पार्टी यतिबेला कहाली लाग्दो प्रजातन्त्र विरोधी अतित अट्टहास गरिरहेको छ । त्यसैले नेपालि काङ्ग्रेसको झण्डामुनि गर्वसाथ गोलबद्ध भएको एउटा पहरेदार भएको नाताले म भन्न बाध्य छु– आजको दिनमा प्रजातान्त्रिक अभ्यासबाट सम्पूर्ण रूपले च्यूत हुन पुगेको दम्भ र आडम्बरको तानाशाही हेपाहा प्रवृत्तिले चुर अवस्थामा रहेको नेतृत्व अधिनायकत्व ग्रसित रहेको छ । 

यद्यपि लोकतन्त्रप्रति असिम आस्था राख्ने प्रजातान्त्रिक शक्तिको मूल घर पनि अन्ततोगत्वा नेपाली काङ्ग्रेस नै हो । अप्रजातान्त्रिक बाटोमा मडारिएको नेपालि काङ्ग्रेसमा नातावाद र निहित कार्यकर्तावादलाई कसरी प्रजातान्त्रिक बाटोमा फर्काउने ?
 
बीपीको चर्चित आहान भन्छ– ‘युवाहरूले विद्रोहको झण्डा उठाएनन् भने धनाढ्यहरू र चिल्ला सुकिलाहरूकै जगजगी कायम रह्यो भने पार्टी कोमिन्ताङ हुन्छ ।’ कोमिन्ताङ चिनियाँ काँग्रेस पार्टीको नाम थियो । जो आफू पनि पूर्ण रूपले बर्बाद भयो सँगसँगै कोमिन्ताङको नालायकीले देशसमेत कम्युनिस्टहरूको हातमा गयो । यस समयमा नेपाली काङ्ग्रेसभित्र बीपीको भाषाका ‘सुकिलामुकिला’को एकलौटी रजाइँ छ । बीपीले भन्ने गरेको ‘भुइँफुट्टा वर्ग’ नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक आलोकले चम्किएको झण्डालाई अपमान गर्न उद्यत छ ।
 
यतिका वर्षसम्म आफ्नो भ्रातृ संस्था (नर्सरी) जस्ता संवेदनशील र सकभर वर्षैपिच्छे सम्मेलन र अधिवेशन नियमित गरेर तरोताजा राख्नुपर्ने निकायलाई भूमिकाविहीन र पङ्गु बनाउने नेतृत्व पङ्क्ति असफल र निकम्मा हो कि होइन ? नेविसङ्घको विरासतबाट आएका र हाल पार्टीको नेतृत्वमा स्थापित नेताहरुले यस्तो रुग्ण अवस्थाप्रति किञ्चित चिन्तित नहुने पार्टी, यसका नेताहरूले प्रजातन्त्रको शिरोच्छेदन गरी भ्रातृ संस्थालाई भक्षण गरेको सजाय चुक्ता गर्नुपर्छ कि पर्दैन ? 
आफूलाई प्रजातन्त्रको हिमायती सम्झने पार्टीको आन्तरिक प्रजातान्त्र यति बिघ्न कमजोर किन ? दुनियाँले खिसिट्युरी किन गरिरहन्छ ? यसबारेमा पार्टीले गम्भीर ढङ्गबाट सोच्नु आवश्यक छ ! पार्टी सबैको जोडबलमा अघि बडेको हुन्छ । भ्रातृ सङ्घ सङ्गठन पनि यसका लागि महत्त्वपूर्ण हुन्छ । ऐतिहासिक शाख बोकेको नेविसङ्घ र नेपाल तरुणदल यति बिघ्न निम्छरो र लथालिङ किन ? जब कि पार्टीभित्र सबैभन्दा बढी सचेत युवा जनशक्ति कहाँ छ भनेर प्रश्न गरियो भने यी दुई भ्रातृ सङ्गठनमा भेट्टाइन्छ । नेपाली काँग्रेस त्यस्तो विशाल सूर्य बन्न सक्नुपर्छ, जसको आलोकमा कार्यकर्ताले आफ्नो जीवन र आफ्नो समयका अन्धकार पन्छाउन सकून् । कसैलाई उज्यालो दिन नसक्ने पार्टीको कुनै औचित्य छैन । कार्यकर्ताको जीवनसँग प्रत्यक्ष जोडिएका जटिल प्रश्नहरूको जवाफ पार्टीको दार्शनिकीले दिन सक्नुपर्छ । कुनै काँग्रेसी युवकका मनमा यो समय चलिरहेको हुन्डरी के हो र त्यससँग उसले कसरी जुध्नुपर्छ ? युवकका लागि काँग्रेससँग जवाफ हुनुपर्छ । राष्ट्रिय जीवनमा हस्तक्षेप गर्ने पार्टी भएकाले काँग्रेसको दृष्टि आफ्ना कार्यकर्तामा मात्रै सीमित भएर हुँदैन, साम्यवादको रुमानी सपनामा आफ्नो बैँस खेर फालिरहेका युवालाई वैचारिक दृष्टिभ्रमबाट मुक्त गर्न काँग्रेसले के गर्छ ? 

कम्युनिस्ट पार्टीका इमानदार तर वैचारिक दृष्टिभ्रमको सिकार युवाका लागि काँग्रेससँग जवाफ हुनुपर्छ । पानी पँधेरामा किन अझै पनि दलित कुटिइरहेका छन् र त्यसको समाधान के हो ? पार्टीले यो अमानवीयताको प्रतिकार ठोस रूपमा कसरी गर्छ ? दलितहरूका लागि काँग्रेससँग जवाफ हुनुपर्छ । असमानता चौतर्फी बढिरहेको छ, मुठ्ठीभर मान्छे मात्र धनी भइरहेका छन् । अहिले पनि श्रम गर्नेहरू अपमानित छन्, श्रम लुट्नेहरू शक्तिशाली कम्युनिस्ट सरकारका मन्त्री फेर्ने हैसियतमा छन्, दुई तिहाइको सत्तालाई कठपुतली बनाउने सामथ्र्य बनाइरहेका छन् । यो शोषण र दलालीको दुष्चक्रबाट मुक्ति कसरी सम्भव छ ? समाजवादी काँग्रेससँग श्रमिकहरूका लागि जवाफ हुनुपर्छ । उचित समाधान अन्तरकलहमा फँसेको पदलोलुप, कमजोर तथा विभाजित मनस्थिति भएको नेतृत्वले कदापि गर्न सक्तैन । यसको एकमात्र विकल्प नेपाली काँग्रेसभित्र नयाँ सोच र स्वच्छ छवि भएको सशक्त नेतृत्वको विकास गर्नु हो । यदि यी कुरामा नेतृत्वको ध्यान गएन र नयाँ सोचको विकास गर्न सकेन भने यसबाट नेपाली काँग्रेसलाई ठूलो क्षति पुग्नेछ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनलाई लिएर मौसम निकै गर्मागर्मी भइरहको छ ! यही बीचमा पार्टीको सैद्धान्तिक तथा कार्यनीतिको बारेमा बहस तथा समीक्षा निरन्तर चलिरहेको छ । साथै आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व कसले हत्याउने भन्ने स्वार्थ र त्यससँगै जोडिएर गठजोडको समीकरण पनि चलि नै रहेको छ ! यही सन्दर्भमा पार्टी अनि पार्टीको कार्यशैलीप्रति केही मेरा प्रश्नहरू र शुभेक्षा रहेका छन् ।
 
हाल सभापति पदका लागि मात्र करिब आधा दर्जन आकाङ्क्षी देखिएका छन् । दाबीका लागि सबैका आआफ्नै कारण छन् । पञ्चायती व्यवस्थासँग पौँठाजोरी खेलेको, निर्वासन भोगेको, निरङ्कुश पञ्चायती शासनलाई २०३६ को जनमत सङ्ग्रह गर्न बाध्य पारेको, ०४६ सालको जनआन्दोलनमा अग्रणी मोर्चामा खटिएको, ज्ञानेन्द्रको निरङ्कुशतासँग पौँठेजोरी खेलेको, ज्ञानेन्द्रको निरङ्कुश शासनविरुद्ध गिरफ्तारी दिएको, जेलनेल र यातना भोगेको पार्टी आज नेपाली राजनीतिक धरातल वा परिदृश्यमा जनमत गुमाएर घिस्रिरहेको अवस्थामा छ । यस पार्टीको ओलिएको गरीमाको भर्पाइ कसले गर्छ ? तत्कालीन नेविसङ्घ नेताले ०४६ सालको जनआन्दोलनमा आफ्नो नेतृत्व गर्दैगर्दा एक कक्षामा भर्ना भएको विद्यार्थी आज ३ दसकलाई नजिकबाट नियाल्दै छ । बेरोजगारी गरिबीको चपेटाले विदेशी भूमिमा रगत पसिना बगाउँदै छ । ०६२÷०६३ जनआन्दोलनको सिपाहीको कथा त्यही छ । आज स्वघोषणा गर्दै हिँडेका सभापतिका कथित उम्मेदवारले भर्खरै एसएलसी, उच्च माध्यमिक तहको परीक्षा दिएको फ्रेस युवाको मनोविज्ञान बुझेर उसलाई नेतृत्व गर्ने ल्याकत राख्छ ? बिल्कुलै राख्दैन ।

पार्टीको नेतृत्व गर्न ¥यालग्रन्थी रसिलो पारेर मैदानमा नाङ्गै दौडिएको हुल यतिबेला सामाजिक सञ्जाल कब्जा गरेर नाटक मञ्चन गरिरहेको छ । तर यो छ बर्षे अवधिमा नेपाली काँग्रेसभित्रको नैतिकता र संस्कारको हत्या गर्न कुनै न कुनै भूमिका निर्वाह गरेको त्यो अराजक हुलबाट जो कोही निर्वाचित भए पनि उसले आगामी लोकतान्त्रिक राजनीतिलाई दिशानिर्देश गर्छ भन्नेमा म जस्ता कैयौँ म जस्ता कैयौँ काँग्रेसी रत्तिभर विश्वस्त छैनन् । नेपाली काँग्रेसलाई पुनः आम जनताको निर्विकल्प किसानको पार्टी बनाउने हो भने तेत्तिस वर्षको उमेरमा प्रधानमन्त्री हुनुभएका बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको मूल धारामा समाहित पार्टी बनाउनु जरुरी छ । यस महानतम कार्य आज सडकमा नाङ्गो भएर “म हुँ आगामी सभापति” भन्दै हिँडेका योजनारहित र दुरदृष्टिविहीन व्यक्तिहरुको नेतृत्वबाट सम्भव होला भन्नु र पश्चिमबाट घाम उदाउला कि भनेर कुरेर बस्नु एकै हो ।

अहिले देशमा दुई तिहाइको कम्युनिस्ट सरकार छ । सरकारको नेतृत्व गरिरहेको ओलिको चौतर्फी विरोध भइरहेको छ या भनौँ उनले गरेका कामबाट जनताहरु खुसी छैनन् । जनताप्रति संवेदनशील, विनयशील, जवाफदेही हुनुपर्ने सरकार । भ्रष्टाचार, दण्डहीनता, कुशासन र हावादारी गफमा लठ्ठ परेर बसिरहेको छ । पछिल्लो समयमा त झन् कोभिड–१९ लाई व्यवस्थापन गर्न नसकेको भनेर चौतर्फी आलोचना खेपिरहेको छ । देशको संवैधानिक अङ्गहरुलाई ध्वस्त बनाइँदैछ । यति धेरै महाभारत हुँदा समेत प्रजातन्त्रको मूल्यमान्यतालाई सधैँ धर्म मानेर हिँड्ने नेपाली काँग्रेसको खै कहाँ छ भूमिका ? नाटकको राष्ट्रियताको खोल ओढेर, भ्रष्टाचारको दुर्गन्धले सरकार डुङ्डुङ्ती गन्हाउँदा पनि नेपाली काँग्रेसलाई किन अत्तर बास्ना आएको छ ? 

पछिल्लो निर्वाचनमा पराजय बेहोरेको नेपाली काँग्रेस । औपचारिक रूपमा नेतृत्वले हारप्रति जिम्मेवार लिएको देखिँदैन । उल्टै आफ्नो मत नघटेको तर कम्युनिस्ट पार्टीको समीकरणले नतिजा नआएको भनेर काइते तर्क प्रस्तुत गरिरहन्छ !

नेतृत्वले सधैँ सपनाहरू, कार्ययोजनाहरु लिएर कार्यकर्ता र जनता माझ जानुपर्ने हो । तर कार्यकर्ताहरु नै सधैँ नेताहरूको घरघरमा पुगिदिनुपर्ने ! पार्टी, नेतृत्वको दुरदृष्टि र कार्यक्रमले नभई तल्लो तहको कार्यकर्ताको भरथेगले चलिरहेकोछ । यही तालले धेरै परसम्म पुग्न कठिन प्राय हुनेछ ।

आगामी महाधिवेशनमा पुरानो कित्तालाई हराउनका लागि भने केही पुरानो संरचनाले अप्ठ्यारो पार्ने देखिन्छ । जस्तो क्रियाशीलहरुले केही प्रतिनिधि चुन्छन् । चुनिएकाले फेरि अर्को तहका लागि चुन्छन् । यस्तो पद्धतिमा पुरानै बोलवाला मान्छेहरु रहने छानिने सम्भावना बढी हुन्छ । यसरी सीमित सङ्ख्याका प्रतिनिधिहरुले केन्द्रीय सदस्य र पदाधिकारीहरु छनोट हुँदा, हरेक ढङ्गबाट प्रभावित हुन सक्छ । खासमा ग्रासरुटबाटै व्यापक क्रियाशील सदस्यहरुले नै छनोट गर्ने व्यवस्था भैदिए, नेतृत्वमा परिवर्तन अवस्यम्भावी हुन्छ । तर यहाँ क्रियाशील माथिबाट तल दिइन्छ अनि तलबाट चुनिने व्यवस्था हुँदै जान्छ । यो त व्यवस्थाको कुरा भयो । बाँकी पछिल्लो समयमा भएको विभागहरुको गठन अनि नियुक्ति, मनोनयनहरु जसले महाधिवेशनलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । जबकि यस्तो कुरा प्रजातान्त्रिक पार्टीमा सक्त रूपमा मनाही हुनुपथ्र्यो । 
 
हाम्रो स्थापना ती वीर युवाको हातबाट भयो जहाँ आदिवासी जनजाति मधेसी मुस्लिमको रगत पसिनाको आहुती थियो । जसले कुनैबेला दक्षिण एसियालाई प्रजातन्त्रको पाठ पढाउने ल्याकत राख्थ्यो । हामी चाहन्छौँ देशमा लागेको कम्युनिस्ट अधिनायकवादको कालो घेरा पनि हिजो १०४ वर्षे जहानिया राणाको अन्त्य जस्तो होस् । 

नयाँ संविधान जारी भएपछि देशको राजनीतिक कोर्स बदलिएको छ । सँगसँगै पार्टीको राजनीतिको प्राथमिकता, चरित्र र कार्यशैलीसमेत बदलिएको छ । निरङ्कुशतासँग जुध्दा ढुङ्गा हान्नु पथ्र्यो, जेलनेल झेल्नुपथ्र्यो, रगत उमाल्ने भाषण गर्नु पथ्र्यो र निर्माणभन्दा बढी ध्वंशलाई आदर्शसमेत मान्नु पथ्र्यो । अब ती अन्धकार युगका ध्वंशात्मक दिनहरू समाप्त भएका छन् ।
 
मन्द गतिमा रहेको पार्टीलाई गतिशील बनाउन सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । जसले आगामी आउने चुनावको नेतृत्व गर्दै पार्टीलाई विजयको शिखरमा पु¥याउन सक्छ । अहिले पार्टीलाई लिएर नेताहरू बलबहादुर केसी, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकासमान सिंह, गगन थापा, धनराज गुरुङ लगायतले पार्टीमा केही सुधार मात्र नभई एउटा क्रान्तिकै आवश्यकता छ भन्दै छन् । यसले पार्टीमा एउटा सशक्त पुनर्सँरचनाको टड्कारो खाँचो भएको औँल्याउँछ । युवा पुस्ताका नेताहरूको यो माग मूलतः सतहमा मात्रै नभएर गहिरो रूपमै यथास्थितिप्रतिको असहमति हो । आगामी महाधिवेशनले पार्टीलाई दीर्घकालीन गतिशीलता प्रदान गर्ने गरी नीति र कार्यविधि तय गर्नुपर्ने छ । साथै आगामी अधिवेशनले पार्टीभित्र रहेका विद्यमान विसङ्गति र बेथितिको चाङ पन्छाउने गरी सम्बोधन गर्न जरुरी छ । अन्यथा हामी नेपाली राजनितीमा एउटा कलङ्कित अनुहार लिएर इतिहाससँग मुख छोपेर हिँड्न तयार रहनु पर्छ । पार्टीभित्र संस्थाभन्दा पनि व्यक्ति हाबी हुने परिपाटीले पार्टीभित्र हुने आन्तरिक प्रजातन्त्र खुम्चिँदै गइरहेको छ । त्यसैले व्यक्ति हाबी हुने भन्दा पनि पार्टीभित्रको सामूहिकता र समग्रताको आधारमा निर्णय हुने व्यवस्था हुनुपर्छ । 

विचार, नैतिकता, सिर्जनशीलता र दुरदर्शीताको कष्टसाध्य बाटोबाट मात्रै नेपाली काँग्रेसको राजनीतिक आन्दोलनले आफ्नो यात्रा तय गर्नुपर्नेछ । त्यसैले अब नेपाली काँग्रेसलाई चलायमान बनाउन नेतृत्व नयाँ पुस्ताबाट छनोट हुनु अनिवार्य छ । हाल नेपाली काँग्रेसमा नेतृत्वसम्बन्धी भड्किएको बहसलाई वैकल्पिक सोचसहित मूल बाटोमा फर्काउनु आसन्न १४औँ महाधिवेशनको स्पष्ट कार्यभार हो । अन्त्यमा नेपाली काँग्रेसको गत महाधिवेशनमा काँग्रेसभित्रको अराजकतालाई इङ्गित गर्दै समाजवादी चिन्तक एवं काँग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले भन्नुभएको थियो– ‘काँग्रेसभित्र गुट होइन गिरोह सक्रिय छ । यस्ता गिरोहका घातक भाइरसहरू सल्बलाइरहेको विसाक्त अवस्थाबाट यसलाई मुक्ति दिने हो भने गणेशमान सिंहले आफ्नो भागमा आएको प्रधानमन्त्री पद सम्मानका साथ कृष्णप्रसाद भट्टराईलाई हस्तान्तरण गरेको स्मरण गर्न आवश्यक छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी आजीवन सम्मानित स्थान प्राप्त गर्ने ऐतिहासिक पहलकदमी लिएर कठिन घडीमा डुबिसकेको लोकतान्त्रिक जहाजलाई पार लाउने तत्परता देखाउन सक्छ कि सक्दैन हेर्न बाँकी नै छ ।

(लेखक आरआर क्याम्पसका नेविसङ्घ अध्यक्ष हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप