शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवाविरुद्धको मोर्चाबन्दीमा सिटौला नखुल्नुको रहस्य के ?

यस्तो छ सिटौलाको आफ्नै स्वार्थ
सोमबार, २२ भदौ २०७७, १८ : ४१
सोमबार, २२ भदौ २०७७

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी कसिलो बनाइरहँदा अर्का नेता कृष्णप्रसाद सिटौला भने अझै पनि ‘पर्ख र हेर’ कै अवस्थामा देखिएका छन् । पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपलगायत विषयलाई मुद्दा बनाएर पार्टीभित्र संघर्ष गरिरहेको बेला सिटौला भने ‘करिब मौनता’ कै अवस्थामा रहेका हुन् । 

गत फागुनको तेस्रो साता सभापति देउवाले सहमतिवेगर ४७ विभाग मध्ये २० वटा विभाग गठन गरेपछि पौडेल समूह निरन्तर संघर्षमा छ । देउवालाई रोक्न सुरुमा पौडेल समूहले साउन १ मा राधेश्याम अधिकारी नेतृत्वको पार्टी निर्वाचन समितिको साहरा खोजेको थियो ।

पार्टी विधान विपरीतका गतिविधि रोक्न र पहिलो गरिएका निर्णय खारेजीको मागसहित निर्वाचन आचारसंहिता देखाउँदै पौडेल र महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका थिए । उक्त उजुरीको समितिबाट कुनै सुनवाइ भएन ।

त्यसपछि नेता पौडेल र महामन्त्री कोइरालाले १५ साउनमा लिखित रुपमै विरोधपत्र पनि दिएका थिए । त्यसपछि सोही दिन उनीहरुले सभापतिका पछिल्ला निर्णय फिर्ता हुनुपर्ने भन्दै पार्टी कार्यालयमा पत्रकार सम्मेलननै गरी सार्वजनिक रुपमा विरोध जनाएका थिए । 

त्यसयता पनि पौडेल समूहले विभिन्न फोरमबाट देउवाको विरोध गर्दै आएको छ । तर सभापति शेरबहादुर देउवाले पौडेल समूहको मागको सुनुवाइ गर्नुको साटो विभागहरु गठन र विस्तारलाई जारी नै राखेका छन् । 
देउवाले पौडेल समूहको आवाजलाई नसुनेपछि इतर समूहले थप दवाव दिनलाई चरणबद्ध संघर्षमा उत्रिने अन्तिम रणनीति बनाइरहेको छ । त्यसका लागि पौडेल समूहले पार्टीमा तेस्रो धारको नेतृत्वकर्ता समेत भनेर चिनिने सिटौलाको साथ खोजेपनि अपेक्षाकृत नतिजा नदेखिएको हो । 

पौडेल समूहको भेलामा अनुपस्थित 
देउवाविरोधी मोर्चालाई सशक्त बनाउनकै लागि पौडेल समूह सिटौला समूहको साथको खोजीमा छ । सोही अभिप्रायका साथ पौडेल समूहले शनिबार गरेको भर्चुअल बैठकमा निम्तो पठाएको थियो ।
पौडेल समूहको आमन्त्रणअनुसार सिटौला समूहबाट नेता गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीले मात्र सहमति भए । पौडेलले एसएमएस र फोनमार्फत सिटौलालाई पनि बैठकमा सहभागी हुन आग्रह गरेका थिए । तर गृहजिल्ला झापामा रहेका सिटौलाले पौडेल समूहको बैठकमा उपस्थित हुन अनिच्छा देखाए । पौडेल समूहसँग एजेण्डागत सहकार्य गर्ने मुडमा गगन र प्रदीप देखिएपनि उनीहरु पनि अन्तिममा सिटौलाकै इशारामा अघि बढ्ने निश्चित छ ।  


शनिबारको सो भर्चुअल बैठकपछि गगन–प्रदीपले सिटौलासँग कुराकानी गरेका थिए । पौडेलले भने, ‘इस्युगत हिसाबमा उहाँ असहमत हुनुहुन्न तर सँगै जाने कुरामा प्रारम्भदेखि नै छलफल हुनुपथ्र्यो नि ? यो खालको तयारीले अधिवेशन हुँदैन भन्ने कुरामा उहाँ पनि सहमत हुनुहुन्छ ।’

उनले अगाडि भने, ‘उहाँहरुको छलफल एउटा स्टेपमा पुगिसकेकाले संयुक्त रुपमा दबाब दिन सम्भव छैन । म एक्लै सहभागी हुने एउटा कुरा भयो । सबै समूह सहभागी हुने माहोल बनेको छैन ।’ 
यसअघि सिटौलाले देउवाको निर्णयमा मौन समर्थन जनाएपछि उनीहरु खुलेर आउन सकेको अवस्था थिएन । सिटौला अझै पनि खुलेर विरोध गर्ने पक्षमा देखिँदैनन् । तर थापा र पौडेलको भने देउवाको कदममा सुरु देखिनै विरोध छ । 

सिटौलाको स्वार्थ

पौडेल मनोनयनको विरोधमा रहेको बेला सिटौला भने देउवाद्वारा गरिएका मनोनयनको विपक्षमा जान नहुने पक्षमा देखिएको पाइन्छ । 
सिटौला समूहभित्रै पनि पछिल्लो समय केन्द्रीय सदस्य र विभाग सदस्य मनोनयको विषयमा मौन रहनुपर्ने मत बलियो छ । केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाई र सांसद भीससेनदास प्रधानले विभागमा आफू निकट मान्छे भर्ती गरिरहेका छन् । हुमागाई आफै पनि श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख समेत हुन् ।

यता केन्द्रीय सदस्य र जेष्ठ राजनीतिज्ञसभा सदस्यामा सिटौलाले पनि केही मान्छे भर्ती गराएका छन् । पौडेल समूहले उक्त निर्णय फिर्ता लिनुपर्ने माग गरिरहेको छ । त्यसैले पनि गगन र प्रदीप बाहेक सिटौला समूहका नेताहरु देउवाको पक्षमा देखिएको पाइन्छ । सिटौला समूहबाट हुमागाई, चौधरी र प्रधानले पार्टी विभागमा करिब ५० जना कार्यकर्ता भाग मागिरहेको अवस्था छ ।

देउवाले २० विभागमा करिब ९ सय मनोनय गर्दा ३५ /४० जना सिटौला समूहबाट समावेशन गरिएको छ । सिटौला समूहबाट ६ महिनाअघि नै आफ्नो तर्फबाट विभागमा बस्ने कार्यकर्ताको नाम पठाइएको थियो ।  
सिटौला समूहका नेता भीमसेनदास प्रधानले गगन–प्रदीप जुम मिटङमा सहभागी भएपनि पौडेल समूहका कुरा मान्न नसकिने बताए ।
पौडेल समूहको विरोधलाई प्रधानले महाधिवेशनको मुद्दाको संज्ञा दिँदै  सिटौला समूहसँगै जान नसक्ने बताए । 

तर महामन्त्री शशांक कोइराल, नेता अर्जुननरसिंह केसीलगायतका नेताहरुले सिटौलालाई सभापतिविरुद्धको मोर्चाबन्दीमा समेट्नुपर्नेमा जोड दिँदै आएका छन् ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले सिटौलालाई देउवाविरोधी मोर्चामा समेट्न प्रयास भइरहेको बताए । ‘सिटौलाजीलाई पनि जोड्ने प्रयास भइरहेको छ । उहाँले पहिला हामीले तयार पारेको प्रतिवेदन अध्ययन गर्छु भन्नुभएको छ । त्यसपछि म आफू निर्णय दिन्छु भन्नुभएको छ,’ उनले भने । गगन थापाले सिटौलालाई यस विषयमा समावेश गराउने प्रयासको जिम्मा पनि लिएको घिमिरेको दावी छ । 

बैठकमा थापाले सभापतिबाट भएका बदमासीविरुद्ध सबै एक ठाउँमा आएर सभापतिलाई दबाब पुग्ने गरी अगाडि बढ्नुपर्ने बताएका थिए । थापाले भनेका थिए,‘सभापतिले हाम्रो विरोधलाई कम आक्नुभएको छ । स्थिति भयावह छ । सबै एकै ठाउँमा आएर दबाब महसुस हुनेगरी जानुपर्छ ।’

थप बार्गेनिङमा सिटौला समूह ?
देउवासँग सिटौला समूह थप बार्गेनिङमा रहेको उनीनिकट नेताहरुकै अभिव्यक्तिबाट बुझिन्छ । प्रधानका अनुसार आफूले पठाएको नाम मध्ये थोरैलाई मात्र विभागमा समेटिएको भन्दै चौधरी आइतबार देउवा निवास पुगेका थिए ।
प्रधानले भने, ‘अहिले उहाँहरुको पार्टी सभापतिसँग लडाइ होला । भोलि हामीले यहाँ चुनाव लड्नुपर्छ । साथीभाइलाई पार्टीको विभाग, नेविसंघ र तरुण दलमा जिम्मेवारी दिनुपरेन ? रामचन्द्र दाइ र शेरबहादुर दाइ, प्रकाशमान दाइको विभागको विषय लडाइँ होला । उहाँका कार्यकर्ता आफ्नो कहाँबाट हुन्छ भनेर दौडिराख्नु भएको छ । कुन गुटको भन्ने कुरा होइन नि ! कार्यकर्ताले पार्टीमा नियुक्त पाइपछि खुसी भइहाल्नुहुन्छ ।’ देउवाले पौडेल निकट मानिने धेरै कार्यकर्तालाई पनि विभागीय जिम्मेवारी दिइएको प्रधानले बताए ।

यतिबेला विभाग गठन गरेर पार्टीका लागि काम गर्न नसके पनि व्यक्तिको प्रोफाइल बन्ने उनको भनाइ छ । उनले भने, ‘फेसबुकमा बधाइ आइरहेको छ । त्यसमा उहाँहरु खुसी हुनुहुन्छ । लडाइँमाथि होला । कार्यकर्तालाई त मतलब छैन नि ? कार्यकर्ता कसैको दास पनि होइन ।’


यस्तै हुमागाईले विभाग गठन सभापतिको अधिकारको कुरा भएको भन्दै ढिला हुनुमा वरिष्ठ नेता पौडेलको पनि हात रहेको बताए ।

उनले भने, ‘विभाग गठन गराउनेमा रामचन्द्र दाइ र अन्य पदाधिकारीको पनि हात छ । यो बारेमा हामी सहमत हुनुपर्छ कि रामचन्द्र दाइको चुनावी मुद्दा मात्रै हो । सभापतिका कारण मात्र ढिला नभएकाले विभाग गठन गर्न पाउँदैनौँ भन्न मिल्दैन ।’

विभाग गठन गर्न नपाउने हो भने निर्वाचन समितिले भन्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो चुनावी मुद्दा हो । बोल्नेलाई पनि अधिकार छ । गर्नेलाई पनि अधिकार छ । विधानले दिएको अधिकारलाई केन्द्रीय समितिका केही साथीहरुको बैठकले खारेज गर्न सक्छ ?’
गगन र प्रदीप रामचन्द्र पौडेल समूहमा सहकार्य गर्न नगएको भन्दै उनले इस्युबेसमा आफ्नो कुरा मात्र राखेको हुमागाईको भनाइ छ । कार्यकर्तालाई दिइएको जिम्मेवारी फिर्ता गर्नुपर्छ भन्ने कुरामा आफूहरु सहमत नरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप