बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना र अनुभूति

बुधबार, २४ भदौ २०७७, २० : ०४
बुधबार, २४ भदौ २०७७

 

 

 

सडकहरु सुनसान बन्दै गए
आकाश शान्त छ
बस्तीहरु भयभित छन्
बजार बन्द छ
केही छैन
केही हुँदैन भन्दाभन्दै–
संसारको हावाले
किन छोड्थ्यो र
छोइहाल्यो, 
विदेशबाट आएकाहरु
सधैँजस्तो फक्रिएको फूल जस्तो 
मन लिएर फर्किएका थिएनन्–
उनीहरू ओइलाएर आए
प्रवेशद्वारको स्क्रिनिङबाटै अछुत बनाइए,
बाटोमा, परिवारमा र छिमेकमा–
आफैलाई लुकाए, 
बिमार किन लुक्थ्यो र ?
छल गर्यो बिमारले,
सधैँका लागि आफूलाई लुकाए
हावामै हराए ।
 चीन, इटाली र युरोपलाई
तहसनहस पारेको
श्रव्य–दृश्यले सुरुमा
सबैलाई अन्धो बनायो,
भयावह परिस्थिति जन्मायो,
लकडाउन भयो,
मान्छेहरु भित्रै कैद भए,
धेरै अस्पतालका गेटहरु बन्द भए ।
मान्छेलाई आफ्नो मात्र–
ज्यान प्यारो लाग्यो,
हुन पनि हो–
मान्छे जन्मिएको जीवन जिउन होस्
जिउने क्रममा–
कसैकसैलाई चेतनाबोधले अरूका लागि पनि हो
महसुस भए होला पनि 
समाजमा स्वार्थी मात्रै छैनन्
परोपकारी पनि छन्
कोही आफ्नो कामको प्रकृतिले होलान्
कोही कर्तव्यबोधले होलान्–
छन त छन् नि ।
दिनदिनै मृत्युको खबरलाई सनसनी बनाएर
ब्यापार बढाउने समाचार सञ्जालहरु
न त समवेदना छ न त जिम्मेवारी
सकारात्मक सोच भन्दा 
नकारात्मकताको छाल बढाउनेहरु
आशाभन्दा निराशा जगाउनेहरु
जीवनभन्दा मृत्युको पछि दगुर्नेहरु
आगोमा होमिएर उद्धार गर्नेहरुलाई
उत्साह दिनुभन्दा  दोष दिने गर्छन्
आफूलाई मात्र सुरक्षित देख्नेहरु
आकाश हेरेर थुक्ने गर्छन्
सबैलाई थाहा छ– देशको रोग के हो ?
कोभिड कस्तो हुँदो हो भोग्नेलाई थाहा होला
उपचारमा जुटौँभन्दा धेरै लुक्ने गर्छन् 
ज्वरो आउनु अपराध गरे जस्तो भयो
 खोकी र दम हुनु अभिशाप बोके जस्तो भयो
तिनैबाट  टाढा हुन– भागाभाग छ,
यस्ता बिरामीको नजिक नहुने– सबको कामना छ,
यसो गर्दा सुरक्षित भइन्छ कि भन्ने सङ्कीर्ण सोच छ
कोरोनाले प्रदर्शनी गरेर मात्र आउने रै’नछ–
केही नभएकोमा पनि हुँदो रहेछ ?
लक्षण नभएकाहरुसँगको सङ्गतले
सुरक्षा सावधानीमा त्रुटि भयो सायद
महामारीले तिनैलाई आक्रान्त पारेको छ
कसैलाई छोड्ने जस्तो देखिन्न त !
न जन्मोत्सवमा छोड्यो
न मलामीलाई छोड्यो
कोरोना बेइमान कि मान्छे बेइमान सोच्न परेको छ,
सोचे झै जिन्दगी रै’नछ
नेपथ्यको कल्याङ्मल्यङमा
गीत बजिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप