शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासनको निर्णयसँगै राजधानीका सडकमा गुड्न थाले गाडी, चहलपहल पनि बढ्यो (फोटोफिचर)

बिहीबार, २५ भदौ २०७७, १२ : १४
बिहीबार, २५ भदौ २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गरेर सार्वजनिक यातायातका साधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएसँगै आज राजधानीका सडकमा चहल पहल बढेको छ । 
काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारी साधन र १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै ट्याक्सी पनि जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको छ । 

ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ । जोर गते जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका यातायातका साधन सञ्चालन गर्न पाइनेछ । 

‘गतेका आधारमा जोर बिजोर लागू गरेका छौं’ प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भने, ‘आज बिजोर गते भएकाले बिजोर नम्बरका सवारी चल्न पाउँछन् ।’ 

ट्राफिक प्रहरीले बिजोर गतेका दिन सञ्चालित जोर नम्बरका सवारीलाई भने नियन्त्रणमा लिएको छ । जोर–बिजोर प्रणालीमा संचालन हुने सवारीसाधनले स्वास्थ्य सम्बन्धी मापदण्ड पनि पालना गर्नुपर्छ । 

यसैगरी उपत्यकामा पसल व्यवसाय पछि छिटपुटरुपमा सञ्चालन भएको छ भने मानिसहरुको चहलपहल पनि बढेको छ । 


प्रशासनको निर्णयअनुसार अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने छ । यस्तै खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछा मासु, विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ । 

यस्तै निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ भने टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पूरा गरी मध्यान्ह १२ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। 

यस्तै,  सहकारी संस्थाहरु बिहान ११ देखि ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ भने भाँडा र भान्साजन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ । 

यस्तै फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलोक्ट्रोनिक र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । यस्तै सवारीसाधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ देखि राति ८ बजेसम्म खोल्न सकिने गरी निर्णय भएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप