शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

असोज १ देखि लामो रुटका सवारीसाधन सञ्चालन होला ?

व्यवसायी भन्छन्– चलाउन नदिए सडकमा सवारी साधन ल्याएर विद्रोह गर्छौं
बिहीबार, २५ भदौ २०७७, १३ : ३२
बिहीबार, २५ भदौ २०७७

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः सरकार एउटा निर्णयमा पुगेको छ । उपत्यकामा सार्वजनिक यातायात सेवालाई सरकारले बिहीबारदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बुधबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकाभित्र १६ सिटभन्दा माथिका सार्वजनिक यातायातका साधन र ट्याक्सीलाई जोरविजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो । 

बैठकलगतै निर्णय सार्वजनिक गरेको काठमाडौं जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेका निजी सवारी साधनलाई समेत सञ्चालन गर्न दिइने जनाएको छ । तर सार्वजनिक सवारी साधनभित्रै पर्ने भाडाका सवारी साधन (१६ सिट भन्दा कम क्षमताका) माईक्रो, टेम्पो, अटो रिक्सा, लगायतका साधन भने अझै चल्न पाउने छैनन् ।

पहिलो चरणमा उपत्यकाभित्र ठूला सार्वजनिक यातायातबाट यातायात सेवा खुला गर्ने निर्णय गरेको सरकारले उपत्यका बाहिर अन्तर जिल्ला तथा अन्तर प्रदेश यातायात सेवाका बारेमा भने स्पष्ट पारिसकेको छैन । आगामी असोज १ गतेदेखि सम्पूर्ण लामा तथा छोटा दुरीका सार्वजनिक सवारी साधनहरु चल्न दिने यसअघिको निर्णय कार्यान्वयन हुने हो या फेरि प्रतिबन्ध बढाइने हो भन्नेबारे अन्योल कायम छ । यातायात व्यवसायीहरु भने असोज १ गतेबाटै सम्पूर्ण लामा तथा मध्यम दुरीका (अन्तर जिल्ला÷प्रदेश) यातायात सेवासमेत खोल्नु पर्ने माग गरिरहेका छन् । 

असोज १ गतेबाट नखुले आन्दोलन गर्ने चेतावनी

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अब पनि रोकिएर बस्न सक्ने अवस्था नरहेको बताए । ‘महिनौंदेखि सवारी साधन त्यसै थन्किएका छन् । गाडीहरु कुहिन थालिसके,’ उनले भने, ‘सरकारी निर्णय अनुसार नै असोज १ गतेदेखि सबैखाले सार्वजनिक यातायात सञ्चालन गर्न दिने भनिएको छ । त्यही अनुसार हामी यातायात व्यवसायीहरु तयारी अवस्थामा छौं ।’  सिटौलाले असोज १ गतेबाट पनि गाडी चलाउन नपाइने हो विद्रोहमा उत्रिने चेतावनीसमेत दिए । ‘सम्पूर्ण गाडी सडकमा उतारेर विद्रोह गर्छौँ,’ उनले भने ।

आगामी असोज १ गतेबाट स्वास्थ्य मन्त्रालयले जारि गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलको पूर्ण पालन गर्दै सार्वजनिक यातायात सञ्चालन गरिने महाचिव सिटौलाको भनाइ छ । विगत ६ महिनादेखि ठप्प व्यवसायले व्यवसायी, मजदुर र सर्वसाधारणलाई समेत ठूलो समस्यामा पारेको भन्दै व्यवसायीहरुले अविलम्ब सार्वजनिक यातायात खोल्न सरकारसँग माग गरेका हुन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीनवटै यातायात मजदुर संगठनहरुले बुधबार नै विभागका महानिर्देशक गोगनकुमार हमाललाई भेट गरी यसबारे ध्यानाकर्षण गरिसकेका छन् । 
५–६ महिनादेखि लगातार यातायात क्षेत्र ठप्प रहदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १६–१७ लाख यातायात मजदुरहरुको विचल्ली भएको र सो समयमा यातायात क्षेत्रले अर्बौँको नोक्सानी व्यहोरिसकेको व्यवसायीहरुको भनाइ छ । 
अब पनि यातायात क्षेत्रलाई रोक्ने काम भए आन्दोलनमा उत्रनुको विकल्प नभएको नेपाल अखिल यातयात मजदुर संगठनका केन्द्रिय अध्यक्ष रामचन्द्र कार्कीले बताए । 

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र मात्र सार्वजनिक यातायात खोलेको सरकारले अब असोज १ गतेबाट उपत्यका बाहिरका लामो तथा छोटो दुरीका सवारी साधनसमेत सञ्चालनमा ल्याउनुपर्ने कार्कीको भनाइ छ । अन्यथा सम्पूर्ण गाडी सडकमा निकालेर विद्रोह गर्नुको कुनै विकल्प नहुने उनले बताए ।

त्यसो त पूर्व–पश्चिम यातयात व्यवसायीहरुले समेत अब यातायात नरोकिने संकेत गरेका छन् । आगामी असोजबाट भने जसरी पनि गाडी चलाई छाड्ने योजनामा उनीहरु छन् । 
महाकाली यातायात व्यवसायी संघले असोज १ गतेबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ । झण्डै ५–६ महिनादेखि बन्द रहेको व्यवसायबाट ११ लाख मजदुर प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको भन्दै अब यातायात सेवा खोल्नुको विकल्प नभएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए ।

आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै असोज १ गतेदेखि नै पश्चिम क्षेत्रमा यातायात सेवा सञ्चालन गर्ने आफुहरुको तयारी रहेको पन्तको भनाइ छ ।  यता, मेची बस व्यवसायी संघले पनि असोज २ गतेदेखि पूर्वतिरका सम्पूर्ण लामा रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । 

असोज १ गते विश्वकर्मा पूजा गर्ने र २ गतेबाट जसरी पनि सार्वजनिक यातायात सञ्चालन गर्ने गरी योजना बनाएको पूर्व मेची बस व्यवसायी प्रालिका अध्यध्य विष्णु श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । अहिले प्रालिले अन्तरप्रदेश लामा रुटमा पनि सार्वजनिक सवारी साधन सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । हाल पूर्व प्रदेश नम्बर १ तर्फमात्र करिब २ हजार ६ सयको हाराहारीमा सार्वजनिक सवारी सञ्चालनमा छन् ।

माथिको निर्णय आउनुपर्छ : विभाग


यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहँदा सरकार भने अझैं अन्योलमा देखिन्छ । अन्तरजिल्ला तथा अन्तरप्रदेश लामो तथा मध्यम दुरीका सवारी साधन सञ्चालनका लागि माथिबाटै (केन्द्रको) निर्देशन आउनु पर्ने यातायात व्यवस्थापन विभागको भनाइ छ । 

स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै उपत्यका बाहिर लामो दुरीका सार्वजनिक यातायात संचालन गर्न पाउनुपर्ने व्यवसायीको मागप्रति विभाग सकारात्मक भए पनि माथिल्लो निकायको निर्णय नभई आफूहरुले खुलाउन नसक्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमालको भनाइ छ । असोज १ गतेदेखि नै सार्वजनिक यातायात चल्न पाउने कि नपाउने भन्नेबारे चाँडै नै प्रष्ट हुने हमालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप