केन्द्रीय संस्करण

व्यक्तिको घरझगडामा युट्युबरको प्रवेश : यो कस्तो खालको पत्रकारिता हो ?

person explore access_timeभदौ २५, २०७७ chat_bubble_outline0

उदाहरण १ :

उर्मिलाकी आमा मिडियामा कुटाकुट, मुखामुख, आमा छोरीको रुवाबासी । हिमेश न्यौपाने न्यु भिडियो ।

दुई दिन पहिले टाइम्स खबर नेपाल नामक युट्युब च्यानलमा राखिएको भिडियोको शीर्षक हो यो ।

भिडियोको हाइलाइट्समै आमा छोरीको झगडा र भनाभन राखिएको छ । सो भिडियोमा छोराछोरी छोडेर दोस्रो बिहे गरेकी एक महिला, उनका दोस्रो पति र उनका छोराछोरीबीचको वादविवाद समेटिएको छ ।  युट्युबरले आमाले अर्को पुरुषसँग बिहे गरेर गएको घरमा ती महिलाका पूर्वपति तर्फका छोराछोरी लिएर गएको र त्यहाँ भनाभन भएको देखिन्छ ।  भिडियोमा बालबालिका र उनको आमाको भनाभन मात्र राखिएको छैन उनीहरूको परिचय पनि खुलाइको छ । ती महिलाको सुत्ने खाटमा गएर बसेका युट्युबरले महिलाले बोल्न नमान्दा नमान्दै पनि बोल्न बाध्य पारेका छन् ।

युट्युबरले पीडामा रहेका बालबालिकाको नाम खुलाएका छन्, उनीहरूको पारिवारिक झगडालाई सार्वजनिक गरेका छन् । सो भिडियो विभिन्न फेसबुक ग्रुपहरूमा सेयर भइरहेको छ । त्यो भिडियोका कारण भोलिका दिनमा ती बालबालिकालाई कस्तो असर पुग्छ ? ख्याल गरिएको छैन ।

उदाहरण २ :

श्रीमान् विदेशमा हँुदा घरमै वेश्यालय बनाएर छोरीकै अगाडि सम्पर्क गर्ने उनकी श्रीमती र उनकै दिदी

खुलदुली मिडिया अफिसियल च्यानल नाम गरेको युट्युब च्यानलमा अपलोड गरिएको भिडियो शीर्षक हो यो ।

भिडियोमा एक युट्युबरले ३ वटा माइक समाएका छन् । सन्तोष सापकोटा नाम गरेका ती युट्युबरले श्रीमतीले छाडेका श्रीमान र उनका झन्डै दस बाह्र वर्ष उमेरका बालबालिकालाई बाबु घरमा नभएको बेला उनीहरूकी आमाले कोको ल्याएर यौन सम्बन्ध राख्थिन्, राति उनीहरूले केके गर्थे ? कण्डम कहाँ भेटाएको जस्ता प्रश्न गरेका छन् । उनीहरूले लाज मान्दै त्यसको उत्तर बताएका छन् ।

मनोविश्लेषक बासु आचार्य यसरी बालबालिकालाई यौनसम्बन्धी, पारिवारिक समस्यासम्बन्धी प्रश्न गरेर त्यसलाई मिडियाबाट सार्वजनिक गर्दा तत्काल कुनै असर नपरे पनि दीर्घकालीन रूपमा त्यो भिडियोको कारण उनीहरूमा मनोवैज्ञानिक असर पर्ने बताउँछन् । ती बालबालिका सधैँ नराम्रो अवस्थामा त रहँदैनन्, भोलि राम्रो ठाउँमा पनि पुग्छन् तर त्योबेला यस्ता भिडियोको कारण उनीहरूमा मानसिक समस्या पर्ने बताउँछन् ।

उदाहरण ३ :

एक्सक्लुसिभ : यति ठूलो सफलता : आफ्नै छोरी भगाउने सानो बाउ फिल्मी शैलीमा झापामा छापा मारेर समातिए

भिडियोको थम्बनेलमा लेखिएको छ– ‘एक्सक्लुसिभ झापामा सन्तोषको छापा, छोरी भगाउने सानो बाउ प्रहरीको खोरमा’

दुई हप्ताअघि कपुरबोट टीभी नामक युट्युब च्यानलमा युट्युबर सन्तोष देउजाले अपलोड गरेको भिडियोको शीर्षक हो ।

थम्नेलमै युट्युबरले आफूले निकै ठूलो साहासिक काम गरेको झैँ सगौरव छापा मारेको लेखेका छन् । थम्नेलमा लेखिएजस्तै व्यक्तिको कोठाभित्र पसेर उनले छापा मारेका छन् । घटना हो परशुराम नाम गरेका एक व्यक्तिले श्रीमतीको दिदी अर्थात दिदीसासूकी छोरी नाम परिवर्तन (सीता) लाई भगाएर झापामा गएर कोठा लिएर बसेका रहेछन् । एकजना प्रहरीसहित उनीहरूको कोठामा पसेर थर्काउने शैलीमा युट्युबर देउजा चोर आँैला देखाएर केरकार गर्छन् र त्यहाँबाट हिँड्नका लागि निर्देशन गर्छन् ।

उनीहरूले के अपराध गरे, त्यो हेर्ने जिम्मा पाएको न्यायिक निकाय नेपाल प्रहरी र अदालतभन्दा अगाडि नै उनले २ मिनेटमै केरकार गरेर फैसला गरिदिन्छन् । रोचक कुरा त के छ भने प्रहरीले जघन्य अपराधीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दासमेत मास्कले मुख छोपेर सार्वजनिक गर्छ, घटनामा पीडित वा आरोपित महिला छन् भने अदालतमा सबैको सामु बयान दिन असजिलो हुन्छ भनेर बन्द इजलासको समेत व्यवस्था गरिएको हुन्छ । तर युट्युबरले ती सबै कुराको धज्जी उडाएको महसुस हुन्छ । त्यो पुरुषले गरेको अपराधको आधारमा ऊ त भोलि जेल जाला तर ती १६ वर्षकी युवतीको सम्पूर्ण परिचय र उनको भिडियो सार्वजनिक गरेपछि त्यसबाट उनले जिन्दगीभर कति मानसिक यातना खप्नुपर्ला ? दोस्रो भिडियोमा त युट्युबरले गाडीभित्र राखेर उनीहरू दुई जनाबीच कसरी सम्बन्ध बस्यो भनेरसमेत अन्तरवार्ता गरेका छन् ।

उदाहरण ४ :

कोठमा मोज गर्दागर्दै रङ्गे हात समातियो, म निदाएको बेला आमा र अङ्कल पल्लो खाटमा, ८ वर्षीय छोराको बयान

२७ अगस्टमा अपलोड भएको सिलिचुङ्ग टेलिभिजन नाम रहेको युट्युब च्यानलमा अपलोड गरिएको माथिको शीर्षक रहेको भिडियोमा ३ लाख ६४ हजार भ्युज रहेको छ ।

भिडियोको थम्नेलमा रोइरहेका बालक, तिलहरी लिएका उनका बाबु र दोस्रो बिहे गरेर गएकी महिलाको फोटो राखिएको छ । जहाँ लेखिएको छ– ‘छोरालाई बाहिर राखी ढोकामा चुकुल लगाई आमा र अङ्कल भित्र मस्ती, श्रीमती पोइला जाँदा बुडा बेहोस, सेयर गरिदिनुहोला, छोडेर जाने आमा ।

माथिका उदाहरण जस्तै यो भिडियोमा पनि दोस्रो बिहे गरेर जाने महिलाको चरित्रबारे उनका श्रीमान र बालकसँग कुराकानी गरिएको छ । बालकलाई उनकी आमाको यौन व्यवहारबारे प्रश्न सोधिएको छ ।

बालअधिकार, बाल मनोविज्ञानमा पर्ने असरको कुनै ख्याल नगरी युट्युबबाट व्यक्तिको घर परिवारको निजी मामिलामा प्रवेश गरी यसरी बालबालिकासँग अन्तरवार्ता गरेर सार्वजनिक गर्दा भोलिका दिनमा उनीहरूलाई त्यो भिडियोले मानसिक समस्या दिने मनोविद बासु आर्चाय बताउँछन् । अधिवक्ता लोकेन्द्र ओली कोही कमजोर चरित्रको छ भने पनि त्यसमा कसैले प्रश्न गर्न नपाउने र उसको गोपनीयताको हकलाई हनन गरिदिने व्यक्तिलाई जेलसम्मको सजाय हुने बताउँछन् ।  

माथि प्रस्तुत गरिएका युट्युबमा आउने पारिवारिक, व्यक्तिगत समस्या र झगडामा आधारित भिडियोका केही नमुना मात्र हुन यी । अहिले युट्युबमा एक जमात युट्युबर व्यक्तिको पारिवारिक समस्याको मामिलामा हात हालेर भिडियो बनाउँदै युट्युबबाट आर्थिक उपार्जनमा लागेका छन् ।

प्राय गाउँघरका मिडिया, कानुन र त्यो भिडियोले दीर्घकालीन असर के पर्छ भन्ने नबुझ्ने तप्काका व्यक्तिहरूको पारिवारिक समस्या युट्युबमा छताछुल्ल पार्ने गरिएको छ । उनीहरू युट्युबरलाई ठूलो मिडिया र आफ्ना लागि केही हुन्छ कि भन्ने सोचाइमा आफ्नो झगडा, समस्या युट्युबरलाई खिचाइरहेका देखिन्छन् ।  

पत्रकारिताको पाठ्यक्रममा समाचारको विषयवस्तु वा समाचार स्रोत रूपमा ‘व्यक्तिको घरझगडा’ सायदै उल्लेख भएको होला । तर नेपाली युट्युबरहरू आफैले आफैलाई पत्रकार घोषणा गरेर व्यक्तिगत सम्बन्ध, श्रीमान् श्रीमतीको घर झगडा जस्ता विषयमा पीडक, पीडित, उनीहरूका नातेदार, छिमेकी लगायतसँग धाराप्रहार अन्तरवार्ता गर्ने नौलो शैलीको विकास गरेका छन् । व्यक्तिको चोटा, कोठा र ओछ्यानसम्म पुगेर अन्तरवार्ता गरेर भिडियो सार्वजनिक गर्ने युट्युबरले व्यक्तिको गोपनीयकताको हक, स्वतन्त्रताको हक उल्लङ्घन गरेको आरोपसमेत लाग्ने गरेको छ  ।

युट्युबका एक दर्शकसमेत रहेका शिक्षक किरण रूपाखेती भन्छन्– ‘मिडिया, कानुनबारे सामान्य जानकारी नभएका सोझा, सीधा नागरिकलाई घर झगडा खिच्न आएको क्यामेरा उनीहरूको समस्या समाधान गर्न नभई युट्युबबाट व्यापार गर्न आएको उनीहरूलाई थाहा नै हुँदैन । पीडितले आफ्नो कुरा सुनाएर मन शान्त पार्छन्, हेर्नेहरूले कोहीले रमाइलो मान्लान्, कोहीले दुःख मान्लान् । युट्युबरले आफ्नो कमाइ गर्छ जान्छ ।’

पछिल्लो समय विकास भइरहेको युट्युबकारिताको शैली, त्यहाँ समेटेर अन्तरवार्ता लिने विषयवस्तु आदिका बारेमा कानुनी रूपमा, प्रत्रकारिताको दृष्टिकोणबाट र मनोविश्लेषणको दृष्टिकोणबाट कसरी लिन सकिन्छ ? यसबारेमा विषयविज्ञसँग कुराकानी गरेका छौँ ः 

साइबर क्राइम, गोपनीयता हनन, बिना अनुमति भिडियो खिचेको अभियोगमा जेल जान सक्छन् : अधिवक्ता लोकेन्द्र ओली

कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने फौजदारी कानुनको सर्वमान्य सिद्धान्त छ । व्यक्तिको शरीर उसको जीवन हो, कुनै महिला वा पुरुष जसले पनि निजी जीवन आफूले चाहेजसरी जिउन पाउनु उसको प्राकृतिक प्रदत्त अधिकार हो । त्यसमा कसैले प्रश्न गर्न पाउँदैन र प्रश्न गर्ने कसैलाई अधिकार पनि हुँदैन । शरीर निजी भएको हुनाले त्यहाँ गोपनीयताका कुराहरू आउँछन् । संविधानको धारा २८ मा गोपनीयताको हकलाई मौलिक हकका रूपमा सुरक्षित गरेको छ । कुनै पनि व्यक्तिलाई आफ्नो जिउ तथा चरित्रसम्बन्धी विषयमा गोपनीयताको अधिकार हुन्छ भनी मौलिक हकमा भनिएको छ । त्यसकारण गोपनीयता हनन् गरिदिने व्यक्तिलाई जेलसम्मको सजाय हुन्छ ।

यो मौलिक हक प्राप्त गर्न २०७५ सालमा नै वैयक्तिक गोपनीयतासम्बन्धी ऐन लागू भइसकेको छ । यस ऐनको दफा ३ ले व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयतासम्बन्धी व्यवस्था गरेको छ । कुनै पनि व्यक्तिको निजी जीवन, यौन तथा यौनिकताको गोपनीयताको अधिकार हुन्छ । कुनै व्यक्तिलाई असर पर्ने, आघात पुग्ने र बेइज्जती हुने गरी प्रकाशन गर्न वा विद्युतीय माध्यमबाट प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

त्यस्तै ऐनको दफा १६ ले व्यक्तिको मन्जुरी बिना तस्बिर खिच्न तथा उसको सामाजिक प्रतिष्ठामा क्षति पु¥याउन तथा मन्जुरी नलिई तस्बिरको व्यापारिक प्रयोग गर्ने नियतले सार्वजनिक गर्न रोक लगाएको छ । यी कार्यहरू गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै मुलुकी अपराध संहिता २०७४ मा वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरअन्तर्गत दफा २९५ मा अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नपाइने व्यवस्था छ, त्यसविरुद्ध कार्य गर्नेलाई एक वर्षसम्म कैद वा दस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै दफा २९८ मा कसैले विद्युतीय माध्यमबाट गोपनीयता भङ्ग गर्न नहुने भनिएको छ । यदि गरेमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने भनिएको छ । 

अहिले एक जना व्यक्तिको नेतृत्वमा उसैले खिच्ने र बोल्ने गरेर युट्युब चलाएको देखिन्छ । कतिपय युट्युबरले जबर्जस्ती क्यामेरा तेस्र्याएर सोध्न नमिल्ने अश्लील प्रश्नहरू पनि सोधेका देखिन्छन् । व्यक्तिको आफ्नो जीवन हुन्छ, भिडियोसहित युट्युबमा राखिँदा उनीहरूको गोपनीयता समेतको गम्भीर उल्लङ्घन भएको हुन्छ । पीडितलाई थप पीडा दिने गरी भिडियोमार्फत् सार्वजनिक गर्नु फौजदारी कसुर हो । त्यो कसुर कानुनको शासन भएको राज्यमा छुट हुँदैन । भिडियो खिच्नेहरूसँग सामान्य ज्ञानसमेत भएको देखिँदैन । कस्तो प्रश्न सोध्न मिल्छ, त्यो कुरा सार्वजनिक गरियो भने व्यक्तिको सामाजिक प्रतिष्ठामा के कस्तो क्षति पुग्छ भन्ने कुरा सोच्दै नसोची अनुमति बिना प्रसारण गर्नु कसुर हुन जान्छ ।

युट्युबलाई नियमन गर्ने छुट्टै कानुन छैन, कानुन छैन भन्दैमा कसुरदारले छुट पाउँदैन । किनकि माथि उल्लेख गरिएका कानुनबाट गोपनीयता सार्वजनिक गरिदिएमा कसुरदारलाई सजाय गर्न मिल्छ । सरकारले चाँडोभन्दा चाँडो युट्युबलाई नियमन गर्ने कानुन ल्याउनु पर्दछ । विधिवत रूपमा दर्ता गर्ने, त्यसपछि मात्र सञ्चालनको अनुमति दिने, के कस्ता विषयहरू प्रकाशन गर्न पाइने भन्ने प्रस्ट कानुनी व्यवस्था भयो भने युट्युबहरू सही मार्गमा हिँड्नेछन् ।     

पीडितलाई थप पीडा थप्ने काम मिडियाबाट हुन्छ भने त्यो झन् अर्को अपराध हो : लक्ष्मी पुन, सचिव, नेपाल पत्रकार महासङ्घ

मिडिया सम्बन्धी विभिन्न संस्थाहरू र नेपाल पत्रकार महासङ्घको सहभागितामा धेरै पहिलेदेखि नै पत्रकार आचारसंहिता बनेको छ । पत्रकारले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर बुकलेट नै निकालेका छौँ । पत्रकार भनेको आवाजविहीन र सीमान्तकृत समुदायका मानिस जो वास्तवमा पीडामा हुन्छन् ।

उनीहरूको आवाज उठाउन पत्रकारले कलम चलाउनुपर्छ । तर अहिले पछिल्लो चरणमा क्यामेरा लिएर कुद्ने, न्यु मिडिया फेसबुक युट्युबमा प्रचारबाजी गरेपछि त्यो मान्छे पत्रकार ठानिन थालेको छ । नबुझेको ठूलो जनसमूहले पनि उनीहरूलाई पत्रकार भनेर बुझ्न थालेका छन् । क्यामेरा बोकेर भिडियो खिचेर युट्युबमा हाल्दैमा कोही पत्रकार हुँदैन । पत्रकार हुनका लागि कुनै न कुनै मिडियामा आबद्ध भएको हुनुपर्छ । स्वतन्त्र छ भने पनि ऊ मर्यादामा बस्नुपर्छ । मिडियाका मूल्य, मान्यता र सिद्धान्तलाई हुबहु पालना गरेको हुनुपर्छ ।

पछिल्लो समय पत्रकार भन्दै आएका युट्युबरले न्याय हैन झन प्रताडित बनाउने काम गरेका छन् । रुकुम चौरजहारी घटनाकै उदाहरण लिनुस् । त्यहाँ सब जलिरहेको ठाउँमा एउटा पीडितको बुवालाई घिसारेर लगेर प्रश्न सोधिरहेको छ ।

पत्रकारिता नीतिअन्तर्गत कोही पीडित छ भने समाचारमा उसको नाम दिन वा सार्वजनिक गर्न पाइँदैन । भारतमा सामूहिक बलात्कार गर्नेहरूलाई मृत्युदण्ड भइसकेको छ तर अझै पनि निर्भयाको वास्तविक नाम सार्वजनिक गरिएको छैन । उनको वास्तविक नाम वकिललाई थाहा होला, कतिपय प्रहरीलाई थाहा होला तर बाहिरका आम जनतालाई निर्भयाको वास्तविक नाम के थियो थाहा छैन ।

यहाँ त कस्तो भइरहेको छ भने घटना घट्न पाएको छैन प्रहरीभन्दा अगाडि नै गुटुटु कुदेर जो पीडित छ, उसको जुन परिवार छ, पीडितको आफन्त छन्, सबैलाई घिसारेर बुम उनीहरूको मुख नजिक लगेर बोल्न बाध्य पारिरहेका छन् । जो पीडामा परेको छ, उसको हुलिया, नाम खुलाउँदै उनीहरूलाई नै सार्वजनिक गरिरहेका छन् ।

अलिकति पढेको छ, चेतनाको स्तर छ भने उसले चाहिँ प्रतिकार गर्छ । मलाई जबरजस्ती बोल्न बाध्य पार्ने तपार्इंहरू को हो ? भनेर उसले प्रश्न सोध्न सक्छ र ऊ बोल्न चाहँदैन । तर अधिकांश विचरा गाउँघरका दूरदराजका पहाडी इलाकामा बस्ने मानिसहरू पढे लेखेका छैनन् । डराई डराई अभिव्यक्ति दिन उनीहरूलाई बाध्य पारिन्छन् ।

अहिले युट्युबमा आउने कतिपय केस हेर्दा यस्तो लाग्छ, कतिपय कुराहरू व्यक्तिगत स्वतन्त्रताका कुराहरू पनि आउँछन् । कुनै महिलाले घरपरिवार छोडेर गयो भने उसको इच्छाले गयो त । त्यसलाई खोजेर ल्याएर बहादुरी गरेजस्तो, कसैले कहीँ गर्न नसकेको ठूलो काम गरेजस्तो देखाउने गरेका छन् । कतिपय युट्युबरहरूको नाम एकदमै चर्चामा आइरहेको छ ।  रातारात सेलिब्रेटी जस्तो बनिरहेका छन् । बालबालिका त्यही हेर्छन्, उनीहरूको मनोविज्ञानमा के परहेको छ भने यसरी भिडियोमा मान्छेको पाखुरा तानेर प्रश्न गरेपछि चर्चित भइँदो रहेछ । भोलि म पनि यस्तै युट्युबर बन्ने भन्ने मानसिकतामा परेको छ । यो तरिका अहिले गलत बाटोतर्फ गइरहेको छ ।

पत्रकारिताको आफ्नै खालको एउटा स्ट्यान्डर्ड हुन्छ । जेसुकै कुरालाई पनि उछालेर ल्याएर, घरपरिवारको झगडा परेको छ भने पनि त्यसलाई युट्युबमा ल्याउने क्रम बढेको छ । गम्भीर प्रकृतिको घटना छ र पीडितलाई थप पीडा नहुनेगरी प्रहरी अनुसन्धानपछि त्यसको फलोअप गर्नु सामान्य हो । त्यसमा पनि पीडितको नाम नखुलाएर हुन्छ कि उसको फोटो ब्लर गरेर हुन्छ कि त्यसरी गर्दा केही हदसम्म त ठीक होला पनि तर ससाना झिना मसिना कुराहरू कोट्याउँदै हिँड्नु ठीक होला जस्तो लाग्दैन । अदालतले निर्णय नगर्दै युट्युबरहरू आफै निर्णय गर्दै हिँड्ने, आफै फैसला सुनाउने तरिकाले प्रस्तुत भइदिने यस्तो प्रवृति गलत हो ।

व्यक्तिको आफ्नो स्वतन्त्रता पनि हुन्छ, कसैले आफूखुसी बिहे ग¥यो भने तिमीले किन बिहे गरेको भनेर उसलाई बाध्य बनाएर सार्वजनिक गर्नु गलत हो । मान्छेको आफ्नो स्वतन्त्रताको कुरा हुन्छ, गोपनीयताको पनि कुरा हुन्छ । तपाईंसँग क्यामेरा छ भन्दैमा व्यक्तिका निजी जीवनका कुराहरूलाई छताछुल्ल पारिदिनुपर्छ भन्ने कुनै आवश्यकता छैन ।

पत्रकार महासङ्घको तर्फबाट मैले भन्नुपर्दा पत्रकारिता पीडितको पक्षमा हुनुपर्छ । पीडितलाई थप पीडा दिने, उनीहरूलाई थप मनोवैज्ञानिक असर पु¥याउने तरिकाले थप त्रसित बनाउने, उसलाई झन् पीडा थप्ने काम मिडियाबाट हुन्छ भने त्यो झन् अर्को अपराध हो ।

पीडामा युट्युबमा बोलेकाहरू पछि झन् मानसिक समस्यामा पर्छन् : बासु आचार्य, मनोविश्लेषक

युट्युबमा बालबालिका तथा महिलाहरू कुनै पीडा परेको बेलामा आवेशमा आएर आफ्ना दुःख पीडा खोल्ने गर्छन् । पछि गएर त्यही भिडियो हेर्दा उनीहरूलाई गाह्रो पार्न सक्छ । अहिले बाल्यकालमा रहेका उनीहरूको भोलिको जीवन फरक हुन्छ । पछि कुनै पेसा अँगालेको हुन्छ । उनीहरूको श्रीमान श्रीमती हुन्छन् । भोलि उनीहरूको भविष्य राम्रो पनि हुन सक्छ । यतिबेला लिएको भिडियो उनीहरूको जीवनसाथीले हेर्दा, अरू साथीभाइले हेर्दा उनीहरूलाई त्यो भिडियोले धेरै दुःख दिन सक्छ । मानसिक रूपमा, सामाजिक रूपमा हरेक रूपमा उनीहरूलाई दुःख दिन सक्छ ।

दोस्रो कुरा भनेको अहिले आवेशमा आएर, उक्साहटमा आएर उनीहरूले जसरी बोलेका छन्,  भविष्यमा त्यसले मानसिक समस्या नित्याउन सक्छ । पीडामा परेका महिलाले आफै बोलाएर वा छिमेकीले बोलाएर वा युट्युबर आफै पुगेर विभिन्न घरेलु, सामाजिक हिंसामा परेका बालबालिका, महिलाहरूलाई युट्युबमा बोल्न लगाइन्छ भोलि समाजले उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँछ ।

घटना, दुर्घटना भएपछि सबैभन्दा पहिला त कानुनी उपचारका लागि प्रहरी प्रशासन, जननिर्वाचित प्रतिनिधिहरूकोमा जानुपर्छ । एकछिनको शान्तिको लागि पीडितले सबै विवरण मिडियामा बोल्न, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जो आफ्नो विवेकमा परिपक्व नभएकाहरूलाई मिडियामा त्यसरी एक्सपोज गर्नुहुँदैन । बालबालिकालाई उक्साहटमा युट्युबमा ल्याउनु युट्युबरहरूको पनि कमजोरी हो । 

बालबालिकाहरूको मस्तिष्क पूर्ण रूपमा विकास भएको हुँदैन । उनीहरू कच्चा माटो जस्तै हुन्छन् । पारिवारिक समस्याका विषयमा बालबालिकालाई बोल्न लगाएर युट्युबबाट सार्वजनिक गर्दा स्वयं त्यो बालकको भविष्यमा असर पर्छ । त्यस्तो भिडियो हेर्ने पनि सबै दुःखी कहाँ हुन्छन् र ? क्षणिक रमाइलो लिनका लागि हेर्ने न हुन् । युट्युबरले आफ्नो स्वार्थका लागि मानिसको संवेदनामा त्यसरी खेल्नु हुँदैन ।

माथि उदाहरणमा प्रस्तुत गरेका एउटा भिडियो हेर्दा त्यसमा कति तुच्छ तर्क कति असभ्य कुराहरू बोलिएका छन् । युट्युबर को हुन् म चिन्दिनँ घरझगडामा माइक प्रयोग कति असुहाउँदो देखिएको छ । 

त्यस्तो भिडियो हेर्ने हाम्रा बालबालिकामा पनि जिन्दगी भनेको त यस्तो पो हँुदोरहेछ भन्ने पर्छ । कतिपय मानिसलाई कुनै पनि दर्दनाक घटना देख्दा, सुन्दा पनि पछिसम्म असर पार्छ । यसले नकारात्मक सन्देश दिइरहेको हुन्छ ।

जस्तो सामाजिक संरचना हुन्छ सोहीअनुसार मानसिकता पनि विकास भइरहेको हुन्छ । बोको हरामले नियन्त्रण गरेको क्षेत्रमा त्यहाँमा मान्छेहरूले बन्दुक बोक्नुलाई नराम्रो मान्दैनन्, त्यसलाई सामान्य रूपमा लिन्छन् । अफगानिस्तान, इराक जस्ता देशका समाजमा बन्दुक बमलाई सामान्य मान्ने अवस्था थियो । नेपालमा युद्धकालमा दैनिक दुई चार जना मान्छे मरेको नौलो लाग्दैनथ्यो । भनाइको मतलब समाज जुन अनुरूपको छ, त्यही किसिमको मानसिकता विकास भइरहेको हुन्छ । हामीकहाँ घरायसी झगडाको भिडियो हेरेर मनोरञ्जन लिने आदत बढ्दै गएको छ । भिडियो हिट भएको देख्दा घरझगडा, हत्या, हिंसा, जोगी, मुकुन्दे, कोरोनालाई गाली गरेका, अश्लील शब्द राख्दै भिडियो बनाएका यस्तै खालका भिडियो मेरो मनोरञ्जनको साधान हो भनेर अपनाउन नेपाली समाज तयार भइरहेको देखिन्छ । 

अविकसित देशका हामी नागरिक पनि मानसिक रूपमै अविकसित हुन्छौँ । नेताहरूले पनि हाम्रो मानसिकता हेरेर नै आफ्नो रणनीति बनाएका हुन्छन्, त्यहीअनुसार खर्च गरेका हुन्छन् । हामीलाई शिक्षामा खर्च गरिदिने कि रक्सीमा खर्च गरिदिने उनीहरूले बुझेका हुन्छन् ।

खुलामञ्च सडकमा खाना खाइरहेको बालक र उसको बाबुलाई क्यामेराहरूले घेरेर भिडियो खिचेको एउटा दर्दनाक फोटो सामाजिक सञ्जाललमा आएको छ ।

अचेल मान्छेको संवेदना बेचेर पैसा कमाउन खोज्दैछन्, यो गलत अभ्यास भइरहेको छ । यस्तोमा साँचो पत्रकारिता पनि ओझेलमा पर्ने हुन्छ । सत्य कुराहरू पछाडि पर्ने र असत्य कुराहरू अगाडि आउने हुन्छ । अर्काको पीडामा अन्तरवार्ता गर्नु गलत हो । यी विषयमा मिडियाले झक्झक्याउने, मिडियाले, आफन्तले, साथीसङ्गीले झक्झक्याउनुपर्छ ।

जो बच्चा आफूलाई के भन्नुपर्छ थाहा छैन, जसलाई नाबालिक भनिन्छ, क्षणिक आवेशमा आएका बालबालिकाको भिडियो बनाएर सार्वजनिक गर्नु उचित हैन । अन्तर्राष्ट्रिय सङ्घ संस्था एनजीओ, आईएनजीओ यहाँ आएर हामीलाई हेर्न बसेका छन् । ठूलो आर्थिक लगानीमा नेपालीको मनोविज्ञान कुन रूपमा अघि बढेको छ भनेर हेर्न बसेका छन् । हामी नौटङ्की भिडियो बनाउने र हेर्ने गरेर बसेका छौँ ।

नियमनकारी निकाय पर्खने कि युट्युबर आफै सच्चिने ?  

पत्रकारिता पेसा सम्बद्ध मिडिया, पत्रकार, सञ्चारकर्मीलाई नियमन गर्नका लागि नियमनकारी निकायका रूपमा प्रेस काउन्सिल नेपाल रहेको छ । तर पछिल्लो समय विकास भएको युट्युबकारितालाई नियमन गर्न भने पर्याप्त कानुनी व्यवस्था नभएको काउन्सिलका पदाधिकारी बताउँछन् ।

। पारिवारिक झगडाको समस्या वा पीडामा रहेका बालबालिका हुन् वा महिला, जसरी उनीहरूलाई पूर्ण विवरण खुलाएर युट्युबमा सार्वजनिक गरिन्छ । त्यो भिडियोका कारण भोलि समाजमा उनीहरूको थप बदनामी त हुँदैन ? उनीहरूमाथि कस्तो व्यवहार गरिएला र त्यसले उसमा कस्तो मानसिक समस्या पर्ला ? पारिवारिक समस्या पीडित बालबालिकालाई यसरी सार्वजनिक गर्दा उनीहरूको साथीहरूले, समाजले हेर्ने र गर्ने व्यवहार कस्तो होला ? त्यसले उनीहरूमा कस्तो मानसिक समस्या उत्पन्न गर्ला ? घर घटनाका बारेमा अरूलाई प्रश्न गरेर भिडियो बनाउने युट्युबरले यस्ता प्रश्नहरू पहिला आफैलाई सोधे कसो होला ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.