शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा एकैछिन सहभागी भएर बाहिरिए ओली

शुक्रबार, २६ भदौ २०७७, १२ : १३
शुक्रबार, २६ भदौ २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिएका छन् । अर्का कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्न जिम्मा दिएर उनी बैठकबाट बाहिरिएका हुन् । स्थायी समिति सदस्य मणि थापाले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली एकैछिन बैठकमा बसी प्रचण्डलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर बाहिरिएको बताए । 

आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यो विचमा पार्टी नै फुटाउने तहसम्म पुगेका नेताहरुबीच पटक पटकको संवाद र विवाद समाधान गर्न कार्यदल गठन गरेर विवादलाई समाधानतर्फ लगेपछि बैठक पुनः बस्ने वातावरण बनेको हो । 

गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् । कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् । 

कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । तर कार्यदल हुँदै अध्यक्षले अन्तिम रुप दिएको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन्। यसैबीच समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई बालुवाटार प्रवेशमा अनुमति दिइएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप