शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियार प्रमुख घिमिरेको बिदाइ आज, आयुक्त बन्न रस्साकस्सी

आइतबार, २८ भदौ २०७७, १० : ५०
आइतबार, २८ भदौ २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे अनिवार्य अवकास पाएर बिदा हुँदैछन् । आइतबार मध्यान्ह आयोगको मुख्यालय टंगालमा घिमिरेको बिदाइ कार्यक्रम राखिएको छ ।

 ०७५ असोज ४ मा उनि प्रमुख आयुक्त नियुक्त भएका थिए । २३ महिने कार्यकाल पूरा गरेका घिमिरेले ६५ वर्षे उमेर हदका कारण अवकास पाएका हुन् ।

प्रमुख आयुक्तको रुपमा पदभार ग्रहण गर्दा घिमिरेले भनेका थिए, ‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचार हो, सानो–ठूलो कसैलाई पनि छाड्दिनँ ।’

भ्रष्टाचार नियन्त्रणमा इमान्दार प्रयास गर्ने उद्घोष गरेर आफ्नो इनिङ शुरु गरेका घिमिरेले राज्यसत्ताले संकेत गरेका केही ठूला भ्रष्टाचार बाहेक अन्यमा हात हाल्न चाहेनन् । घिमिरेको कार्यकालमा ‘दुई रुपैयाँ खाने’ वर्गका साना माछा मात्रै निशानामा परे ।

अख्तियारले पछिल्लो २३ महिनामा ठूला भ्रष्टाचारका फाइल धमाधम तामेलीमा राखेको छ । स–प्रमाण संचार मध्यममा घुस लिएको कुरा प्रकाशन भएपछि मात्र तत्कालिन आयुक्त राजनारायणपाठक बिरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 बालुवाटार जग्गा घोटाला प्रकरणमा राज्यसत्ताको ईशारामा मात्र अख्तियारले मुद्दा चलाएको आरोप लागेको छ । अख्तियार प्रमुख घिमिरेले त्यस्ता अरु ठूला भ्रष्टाचारमा राज्यले ईशारा नगर्दा धेरै फाइल तामेलिमा राखेका थिए ।

३ जना आयुक्त नियुक्त हुँदै

घिमिरेको अवकास सँगै अख्तियारमा तीनजना आयुक्त नियुक्ति गर्ने तयारी छ । आयोगमा अहिले दुई आयुक्त डा. सावित्री थापा गुरुङ र डा. गणेशराज जोशी कार्यरत छन् । संविधान अनुसार आयोगमा एकजना प्रमुख आयुक्त र ४ जना आयुक्त रहने ब्यवस्था छ ।

३ जना रिक्त सिटमा आयुक्त बन्न पूर्व गृहसचिव प्रेम कुमार राई, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दीलिपकुमार रेग्मी र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दबीच प्रतिस्पर्धा छ ।

पूर्वगृहसचिव राई प्रधानमन्त्री केपी ओली निकट छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख रेग्मी र चन्दमध्ये एक जनालाई प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा आयुक्त नियुक्त गर्न लागिएको बताइएको छ ।

 केही पूर्वसचिवहरु पनि आयुक्त बन्न ठुला नेतालाई लविङ गरिरहेका छन् ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको नियुक्ति हुन्छ । 

अख्तियारका आयुक्त डा. गणेशराज जोशीलाई प्रमुख आयुक्त नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । डा. जोशी प्रमुख आयुक्त नियुक्त भएमा आगामी चैतसम्म बहाल रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप