मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा सरकारमा जाने चर्चा: राजेन्द्र महतोलाई प्रधानमन्त्री ओलीले किन गरे बेवास्ता ?

आइतबार, २८ भदौ २०७७, १६ : ५३
आइतबार, २८ भदौ २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल गठन भएको ६ महिना नपुग्दै सो पार्टी सरकारमा सहभागी हुने विषयमा चर्चा शुरु भएको छ ।  नेकपासँग राम्रो सम्बन्ध बनाएर जसपा नेपाललाई सरकारमा लैजाने पहल सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गरिरहेका छन् । जसपा नेपालको पदाधिकारी बैठकमा नेता महतोले पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने प्रस्ताव लगेको सो पार्टीका एक नेताले बताए ।

पदाधिकारी बैठकमा महतोले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीसँग आफ्नो रामो सम्बन्ध रहेको हुनाले आफू यसका लागि पहल गर्ने धारणा बैठकमा राखेको स्रोतका दावी छ । यद्यपि यसका बारेमा अन्य पदाधिकारीले कुनै ठोस प्रतिकृया दिएका छैनन् ।

नेता महतोले प्रधानमन्त्री अ‍ोलीसँग प्रतिनिधिसभाको चुनावदेखि नै आफ्नो राम्रो सम्बन्ध रहेको र सोही सम्बन्धका कारण राष्ट्रियसभाको चुनावमा दुई बुँदे सम्झौता गरी गठबन्धन बनाउन सफल भएको कुरा बैठकमा राखेका थिए ।

राष्ट्रियसभाका लागि गठबन्धन बनाउने बेलामा पनि प्रधानमन्त्री ओलीले सरकारमा आउनुस् मिलेर काम गरौं भनेको र आफू सोहीअनुसार पहल गर्न लागेको कुरा उनले बैठकमा राखेका थिए । उनले नेकपा तथा सरकारसँग जसपाको बिग्रेको सम्बन्धलाई आफूले सुधार गर्ने कुरा पनि बैठकमा राखेको बताइएको छ ।

जसपा नेपालका एक नेताले भने– ‘राजेन्द्र महतोजीले सरकारमा जान धेरै इच्छा देखाउनुभएको छ, त्यसैले होला उहाँले सुरु देखिनै संसदीय दलको नेता बन्ने चाहना राख्नुभएको छ । तर सरकारमा जाने मुडमा अहिले कुनै नेता हुनुहुन्न् । तर महतोजीले प्रयास गरिरहनुभएको छ ।’

नेता महतोले बैठकमा सरकारसँग सम्बन्ध सुधार गर्ने कुरा राखेपनि हालसम्म प्रधानमन्त्री ओलीसँग भेट्ने समय मिलाउन सकेका छैनन् । उनले प्रधानमन्त्री ओलीसँग भेट्नका लागि पटक–पटक प्रयास गरिरहेका छन् तर उताबाट कुनै समय दिइएको छैन ।

जसपा नेपालको तर्फबाट प्रधानमन्त्रीसँग महतोलाई भेटाउने प्रयासमा केशव झा समेत लागेका छन् । उनले प्रधानमन्त्रीको सचिवालयमा फोन गरि राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेट्न चाहेको भन्दै समय माग गर्दा उताबाट प्रधानमन्त्रीले समय दिएपछि मात्र खबर गरिने जवाफ आएको जनाइएको छ । तर अहिलेसम्म प्रधानमन्त्री कार्यालयले खबर नपठाएको ती नेताले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप