शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कार्यालयमा ठेलमठेल भीड, सेवा दिने कि कोरोना संक्रमण बढाउने ? (भिडियो रिपोर्ट)

आइतबार, २८ भदौ २०७७, १९ : ०४
आइतबार, २८ भदौ २०७७

 आइतबार दिउँसो ११ बजे । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको निकै ठूलो भीड थियो । चर्को घाममा एक घण्टादेखि उनीहरु ठेलमठेल गर्दै लाइनमा बसिरहेका थिए ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २१ दिनसम्म जारी निषेधाज्ञा खुकुलो गरेपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्स नविकरण र सवारी कर तिर्नका लागि कार्यालय खुलाएको थियो । 

भदौ मसान्तभित्र कर तिर्नुपर्ने अन्यथा जरिवाना लाग्ने भनिएकोले सर्वसाधारणहरु आफ्नो काम सक्न कार्यालयमा ठेलमठेल गरी लाइनमा बस्न बाध्य थिए ।  स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सरकारी तथा गैरसरकारी कार्यालय खोल्न पाइने प्रावधानसहित निषेधाज्ञा खुकुलो गरेपनि यातायात व्यवस्था कार्यालयको दृश्य भने फरक थियो । 

कोरोना संक्रमणदर बढिरहेका बेला भीडभाड नगर्न, दूरी कायम राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हरेक दिन ‘लेक्चर’ दिने गरेपनि सेवाग्राहीको धेरै भीड हुने कार्यालयमा न सुरक्षाकर्मीले न त सोही कार्यालयका कर्मचारी दूरी कायम गराउने काममा खटिएका थिए । अर्को कुरा जाने बुझेका सेवाग्राही पनि भीडमा मिसिएर आफ्नो काम छिटो गराउन तम्सिरहेका थिए । 

यातायात व्यवस्था कार्यालय सानो भर्याङ स्वयम्भुको दृश्य पनि उस्तै थियो । त्यहाँ पनि कर तिर्नका लागि बैंकमा होस् वा यातायात व्यवस्था कार्यालयमा होस दूरी कायम नगरी सेवाग्रहीहरु लाइनमा बसेका थिए । 

सरकारलाई कर पनि तिर्नुपरेको छ, जोखिम मोलेर पनि बस्नुपरेको छ : सर्वसाधारण 

कुपण्डोलका प्रमेश कार्की लाइसेन्स नविकरणका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका थिए । सरकारले कार्यालय खोलेपनि दूरी कायम गराउने काम नगरेको, टोकन प्रणालीबाट सहज तरिकाले काम नगराएको गुनासो गरे ।  उनले भने– ‘सरकारलाई पैसा कर पनि तिर्नुपरेको छ । दूरी कायम नगरी यसरी भीड गरिदिएको छ । यस्तो भिडले यहाँ कोरोना हुन्छ, घरमा गएपछि मरणा हुन्छ । कर मात्र लिएर हुन्छ ? कर लिने मान्छे मार्ने, घण्टौ घण्टा लाग्छ यसरी लाइन लगाएर हुन्छ ?’

अनन्तप्रसाद गौतम नार्गाजुन नगरपालिकाबाट लाइसेन्स नविकरणका लागि आएका थिए । उनले अहिलेको समयमा भीड गराउनुको साटो अनलाइन माध्यमबाट काम गराउनुपर्ने बताए । उनले भने– ‘अहिले समयमा कर नतिर्ने हो भने दोब्बर जरिवाना तिर्नुपर्ने सरकारले भनेको छ । जनतालाई कर तिर्न सुविधा दिनुपर्ने ठाउँमा नेपाली जनता सोझा देखेर यिनीहरुले दुःख दिइरहेका छन् ।’

लाइसेन्स नवीकरणका लागि आएका यादव गिरीले आफूले १ घण्टादेखि लाइनमा बसेको मान्छेको भीडभाड रहेको दूरी कायम नभएको बताए ।  अर्का सेवाग्राही रुद्रप्रसाद गिरी पनि चर्को घाममा लाइन बसेका थिए । दूरी कायम गरेर लाइन बस्नुपर्नेमा मानिसहरु टाँस्सिएर लाइन बस्न बाध्य भएको बताए । उनले अहिलेको समयमा अनलाइन माध्यमबाट कसरी सेवा दिन सकिन्छ सरकारले त्यतातिर ध्यान दिनुपर्ने उल्लेख गरे । 

यता यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा मोटर साइकलको कर तिर्न पुगेका बालाजुका ज्ञानेन्द्रबहादुर निरौला भीडको छेउमा मास्क, चस्मा र भाइजरसहित हेल्मेट लगाएर बसेका थिए । उनले यसरी सरकारी कार्यालयमा भीडभाड गर्ने हो भने कोरोना संक्रमण दर बढ्ने चिन्ता ब्यक्त गरे । उनले कर तिर्न आउँदा जेष्ठ नागरिकलाई कुनै सुविधा नभएको पनि गुनासो गरे । 

सुदिप पौडेल यातायात कार्यालय सानो भर्याङ स्वयम्भु पुगेका थिए । कोरोना संक्रमणका बेला सेवाग्राही र कार्यालयका कर्मचारी दुबै पक्ष भीड कम गर्न दूरी  कायम गर्न सचेत रहनुपर्ने बताउँछन् । 

पर्याप्त सुरक्षाकर्मी भएनन्, सेवाग्राही पनि टेर्दैनन्: कार्यालय प्रमुख कार्की

सिसी क्यामेराले खिचिरहेको सेवाग्राहीको भीडभाडको दृश्य कार्यकक्षमा रहेको कम्प्युटरको मोनिटरमा हेर्दै कार्यालय प्रमुख सम्मरबहादुर कार्की काम गरिरहेका थिए । निषेधाज्ञा खुकुलो भएपछि आजदेखि लाइसेन्स नवीकरणको काम र कर लिने काम सुरु गरेको उनले बताए । 

अहिले सेवाग्राहीको चाप बढेको र सुरक्षाकर्मीको माग बढेको बताए । उनले एउटा काउन्टरबाट मात्र सेवा दिँदा भीड बढ्ने भएकोले दुईवटा काउन्टरबाट सेवा दिइरहेको बताए ।  उनले कार्यालयले स्वास्थ्य सुरक्षा प्रोटोकल अनुसार नै दूरी कायम गर्न गोलो घेरा बनाएको, स्यानिटाइजरको व्यवस्था गरेको भएपनि सेवाग्राहीले मापदण्ड पालना नगरेको बताए । यस्तै कार्यालयमा धेरै सेवाग्राही आउने भएकोले दूरी  कायम गर्न लगाउन जिल्ला प्रशासन कार्यालयलाई थप संख्यामा प्रहरी पठाउन आग्रह गरिएको उनले बताए । 

आज मात्रै काठमाडौ उपत्यकामा एकैदिन ५ सय ९७ जना कोरोना संक्रमित फेला परेका छन् । निषेधाज्ञा खुकुलो पर्दा कार्यालय, पसल, बजार व्यवसाय, यातायात क्षेत्र खोल्नका लागि तय गरिएको मापदण्ड विपरित सञ्चालन हुँदा काठमाडौं उपत्यका संक्रमणको ठूलो जोखिमका परेको छ । सँधै यसैगरी भिडभाड गरेर कार्यालय सञ्चालन गर्दा कारोना संक्रमण बढ्दैन र ? भीडभाड रोक्ने, दूरी कायम गर्ने जिम्मेवारी कस्को ? को बढी सचेत हुने ? सरकार वा नागरिक वा दुबै ? 

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप