शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गाको नाका पार गर्ने बहाना – ‘बुबा बित्नुभयो’

सोमबार, २९ भदौ २०७७, १२ : ३५
सोमबार, २९ भदौ २०७७

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले ११ चैत्रदेखि लकडाउन गरेको थियो । लगातार तीन महिनाको लकडाउन, काठमाडौँ उपत्यकामा जारी सटडाउन र पछिल्लो निषेधाज्ञाले जनजीवन अस्तव्यस्त छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन काठमाडौँ उपत्यकासहित मुलुकभर एक जिल्लाबाट अर्को जिल्लाको आवागमनमा रोक लगाइएको छ । स्थानीय प्रशासनले घर बाहिर ननिस्कन आदेश जारी गरेका छन् ।

लामो लकडाउन, उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा जारी सटडाउन तथा निषेधाज्ञाको आज १७५ औँ दिन हो । लकडाउन शुरु हुनुअघि ‘कोरोना त्रास’का कारण हजारौँ मानिसले उपत्यका छाडे । तर, उपत्यका बाहिरको तुलनामा काठमाडौँमा संक्रमणको दर कम देखिएपछि विस्तारै उपत्यका भित्रिनेको संख्या बढ्न थाल्यो । सुरक्षाकर्मीको आँखा छलेर नाका पार गर्नेहरु बढे ।

उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरेपनि काठमाडौँ उपत्यका छिर्ने विभिन्न ६ वटा नाकामा कडाइ गरिएको छ । पछिल्लो समय नागढुङ्गा चेकपोष्टमा सम्बन्धित जिल्लाबाट जारी गरिएको सहजीकरण पत्र देखाएर मात्र यात्रुहरु काठमाडौँ प्रवेश गर्न पाउँछन् । 

‘सहजीकरण पत्र’ बाहकको विस्तृत विवरण नाकामा खटिएका सुरक्षाकर्मीलाई टिपाउनुपर्छ । संक्रमण पुष्टि भएमा कन्ट्याक्ट ट्रेसिङका लागि गन्तव्यसम्मको विस्तृत विवरण राखिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले सहजीकरण पत्र बाहेक अत्यावश्यक काम परेकालाई उपत्यका प्रवेश गर्न दिइएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘साँच्चै अत्यावश्यक काम पर्नेहरु हप्ता दिनमा एकजना मात्र आउँछन् ।’

नाका पार गर्ने बहाना, ‘बुबा बित्नुभयो’

‘किन आउनुभो काठमाडौँ ?’ प्रहरीको प्रश्न । काठमाडौँ छिर्न बल गर्नेबाट उत्तर आउँछ– ‘बुबा काठमाडौँमा हुनुहुन्थ्यो, बित्नुभयो ।’ मृत्यु कर्मका लागि अवरोध नगर्ने जिल्ला प्रशासन कार्यालयको आदेश थियो । अनि, ‘बुबा बित्नुभयो’ भन्नेहरु काठमाडौँ छिरे । तर, कथा अर्कै थियो ।

लकडाउन शुरु भएदेखि पछिल्लो भदौ १५ गतेसम्म आधा दर्जन व्यक्तिले सो तरिका अपनाएर काठमाडौँ उपत्यकामा प्रवेश पाए । थानकोटका डीएसपी श्रेष्ठ भन्छन्–‘जिवित बुबालाई मृत्यु भयो भनेर यो बीचमा ६ जना मानिस काठमाडौँ उपत्यका छिरे ।’

त्यसरी प्रवेश गर्नेहरुले मोबाइलमा मृत शव देखाएर प्रहरीलाई कन्भिन्स गरे ।  डीएसपी श्रेष्ठले भने, ‘बुबाको मृत्यु भएको भनेर शवको फोटो देखाएपछि नछाड्ने कुरा भएन, व्यवहारिकता हेरेर छाड्यौँ ।’

इटहरीबाट आएका (नाम परिवर्तन) राकेशले प्रहरीसँग बुबा बितेको बहनामा काठमाडौँ प्रवेश गरे । प्रहरीले उनले दिएको नम्बरका आधारमा क्रस भेरिफाइ गर्दा थाहा भयो– ‘उनका बुबा जिवित नै रहेछन् ।’

राकेशले नाकामा आफ्नो ठेगाना चाहिँ गलत टिपोट गराएका रहेछन् । ‘राकेशले दिएको ठेगानामा बुझ्दा उनको बुबा जिवित नै रहेको पाइयो,’ डिएसपी श्रेष्ठले भने– ‘पछि राकेशलाई फोन सम्पर्क गरेँ ।’

डीएसपी श्रेष्ठले फोन गर्दा राकेशले आफ्नो बाध्यता रहेको बताए । काठमाडौँमा उनको पसल थियो । कोरोना संक्रमणका कारण ४ महिनादेखि उनी इटहरीमै रोकिएका थिए । फ्ल्याट भाडा १० हजार थियो । आम्दानीको अरु स्रोत नभएको हुनाले पसल खोल्न बहाना बनाएर उनी काठमाडौँ आएका थिए ।

लकडाउन केही सहज भएको समाचार पढेपछि उनले काठमाडौँ आउने निधो गरे । उपत्यका प्रवेश गर्न प्रहरीलाई ढाँट्नुको विकल्प थिएन । अन्ततः बुबा बितेको बहना बनाए ।

‘वुबा बितेको’ कथा बनाएर काठमाडौँ प्रवेश गर्ने मध्येका अर्का हुन्, स्याङ्जा घर भएका राज (नाम परिवर्तन) । उनको नयाँ बसपार्कमा मोबाइल पसल छ । लकडाउनको कारण पसल बन्द छ । ‘५ महिनादेखि पसलमा व्यापार नभएपछि कसरी भाडा तिर्ने ?’ ढाँटेको थाहा पाएपछि प्रहरीले सम्पर्क गर्दा उनले भनेका थिए– ‘त्यही भएर ढाँट्नुपरेको हो ।’

अन्य चारजनाले बुबा मरेको भन्दै ढाँटेर काठमाडौँ प्रवेशको अनुमति पाए । सबैको आ–आफ्नो पीडा रहेको डीएसपी श्रेष्ठले बताए । डीएसपी श्रेष्ठले भने, ‘ती मान्छेहरु कोही मातातीर्थ, बालाजु र चावहिलका थिए ।’ प्रहरीले त्यसरी ढाँट्नेलाई आइन्दा ‘त्यस्तो गल्ती नगर्न’ चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप