शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाकामा निरीह बन्यो प्रहरी, ‘मेरो मान्छे आउँदैछ छाडिदिनू’

‘भनसुन’ गरेर काठमाडौँ उपत्यकामा धमाधम प्रवेश
सोमबार, २९ भदौ २०७७, २० : ३३
सोमबार, २९ भदौ २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो क्रममा छ । सोमबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १० हजार २८ पुगेको छ । यसैगरी भक्तपुरमा १ हजार ३२ र ललितपुरमा ११ सय ९० जनामा संक्रमण पुष्टि भएको छ। 

कोरोना संक्रमण तीव्र गतिमा फैलिएकै कारण उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न प्रशासनले निर्देशन दिएको छ । तर, राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा त्यस्तो देखिँदैन । साधारण मानिस प्रवेशमा सकस भएपनि पहुँचवाला सानका साथ उपत्यका प्रवेश गरिरहेका छन् ।

न उनीहरुसँग कोरोना नेगेटिभ भएको रिपोर्ट हुन्छ न त कुनै पास नै । उनीहरु भनसुन र पहुँच प्रयोग गरेर उपत्यका प्रवेश गरिरहँदा निर्देशन पालना गराउन खटिएको प्रहरी भने निरीह भएको छ । अर्थात प्रहरीले चाहेर पनि उपत्यका प्रवेश गर्न चाहनेहरुलाई रोक्न सकेको छैन । 

संक्रमण दर बढेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ ४ बाट निषेधाज्ञा जारी गरिएको थियो भने नाकामा पनि कडाइ गर्न भनिएको थियो ।


नाकामा चेकजाँच गर्दै एक प्रहरी

नाममात्रैको कडाइ, निरीह प्रहरी
स्थानीय प्रशासनको निर्णयबाट काठमाडौँभित्र यातायातमा जोर–बिजोर प्रणाली लागू गर्नुका सँगै आवागमन सहज बनाइएपनि उपत्यका छिर्ने नाकामा भने थप कडाइ गर्ने भनिएको छ । गृह मन्त्रालयले पनि पीसीआर रिपोर्ट बिना उपत्यका प्रवेश अनुमति नदिन सर्कुलर जारी गरेको छ ।

तर, संक्रमणको शंका भएकाहरु नै भनसुन गरेर उपत्यका प्रवेश गरिरहेका छन् । नाम नखुलाउन आग्रह गर्दै नागढुंगा नाकामा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पछिल्लो समय तराईबाट आएका मान्छेहरु पीसीआर रिपोर्ट बिना छिरिरहेका छन् ।’ 

प्रदेशगत हिसाबमा कोरोना संक्रमणदरको तथ्यांङ केलाउँदा प्रदेश–२ मा संक्रमण दर उच्च छ । तर सोही प्रदेशबाट पछिल्लो समय काठमाडौँ उपत्यकामा प्रवेश गर्नेहरु धेरै छन् । प्रहरीले नागढुंगा चेकपोष्टमा सम्बन्धित जिल्लाबाट जारी गरिएको सहजीकरण पत्रका आधारमा यात्रुलाई छाड्ने गरेको छ । तर, सोर्स लगाएर उपत्यका प्रवेश गर्नेहरु धेरै छन् । 

‘गृह मन्त्रालयको निर्णयमा अडिग भएर काम गर्न खोज्दा नहुँदो रहेछ,’ ती प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘मन्त्रालयका कर्मचारी र अन्य उच्चपदस्थले नै फोन गरेर मेरो मान्छे आउँदैछ, छाड्दिनु भन्दै सवारी नम्बर टिपाउँछन् ।’

आइतबार रातोपाटी पुग्दा पनि उस्तै दृश्य देखिन्थ्ये । पहुँचवालाहरु सहज रुपमा उपत्यका भित्रिरहेको देखिन्थ्यो भने उनीहरुले उपत्यका भित्रन पनि तोकिएको नियम पालना गरेका थिएनन् । यसो त रातिको समयमा थप लापरवाही रहेको बताइएको छ ।


विदेश जानका लागि काठमाडौँ आउनेहरुको संख्या पनि उत्तिकै छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले टिकट र भिषा देखाएपछि विदेश जान आउनेलाई उपत्यका प्रवेशमा अनुमति दिइएको बताए ।

‘कसैले पीसीआर जाँच रिपोर्ट लिएर आउनुहुन्छ,’ डीएसपी श्रेष्ठले रातोपाटीसँग भने, ‘पीसीआर रिपोर्ट नभएकाहरुले यही परीक्षण गराउँछन् ।’ विदेश जानेहरु धेरै प्रवेश गर्ने हुनाले नागढुंगामा भीड नै लाग्ने गरेको छ । 

लकडाउनको अवधिका साथै अहिले निषेधाज्ञाको समयमा नाकामा भीड बढी भएको महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर हेमन्त विक्रम थापाले बताए । उनले साना सवारी साधनका साथै ठूला मालवाहक सवारी साधन समेत गुड्ने भएकाले भीड बढेको बताए ।  

प्रहरीका अनुसार शनिबारमात्रै नागढुंगा नाका भएर साना सवारी साधन १९९, एम्बुलेन्स  ७८, होल्डिङ सेन्टरको पासबाहक बस ९, मालबाहक सवारी साधन  १,२००, मोटरसाइकल १०० भित्रिएका छन् भने त्यसमा यात्रा गर्ने ६०० जना भित्रिएका छन् । 

यस्तै प्रहरीले नाकाबाट साना सवारीसाधन ५७, मोटरसाइकल ४२ र मानिस १९८ जनालाई फिर्ता पनि पठाएको छ । तर, चोर बाटोहरुबाट सर्वसाधारण भित्रिए उत्तीकै भित्रिरहेका पनि छन् । नाकामा कडाइ नभएकै भएर उपत्यका नगरपालिका फोरमले नाकामा सेना परिचालन गर्नुपर्ने समेत माग गर्दै आएको छ । 

बिरामीको बहानामा एम्बुलेन्सको दुरुपयोग
कोरोना संक्रमणको महामारीमा एम्बुलेन्सले पनि मौका छोपेर बदमासी गर्ने गरेका छन् । लकडाउन, सटडाउन र जारी निषेधाज्ञाको बीचमा प्रहरीले ‘बहाना बनाएर’ उपत्यकामा प्रवेश गर्न खोज्ने १९ वटा एम्बुलेन्सलाई कारवाही गरेको छ । 

बिरामी बोकेर ल्याएको भन्दै मान्छे ओसारपोसार गर्न खोज्ने १९ वटा एम्बुलेन्सलाई कारवाही गरिउको महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त विक्रम थापाले रातोपाटीलाई बताए । 

उपत्यका छाड्न सहज 
यसैबीच काठमाडौँ बाहिर जान गन्तव्य स्थानको सिफारिस अनिवार्य चाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । तर, बिना सिफारिस मानिसहरु उपत्यका बाहिर गइरहेका छन् । 

उपत्यकामा कोरोनाभाइरसको संक्रमण दर बढिरहेको बेला प्रहरीले नागढुंगा नाकामा उपत्यका बाहिर जाने मानिसहरुलाई कुनै रोकतोक गरेको छैन । गाडी नम्बरको रेकर्ड राखेर उपत्यका बाहिर जान दिइएको छ । 

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढिरहेको बेला अन्यत्र जिल्लामा जान रोक लगाउनुपर्ने चन्द्रागिरी नगरपालिकाका समाजसेवी देवेन्द्र प्रधान बताउँछन् । ‘उपत्यका भित्रिन जति कडाइ छ, बाहिर जान पनि त्यति नै कडाइको आवश्यक छ,’ प्रधानले भने ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप