शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैङ्कसँगको ३० वर्षे सम्बन्ध अन्त्य गर्न खोज्दै पाकिस्तानको हबिब बैङ्क, सेयर बेच्न लगानीकर्ताको खोजी

मङ्गलबार, ३० भदौ २०७७, १५ : ०५
मङ्गलबार, ३० भदौ २०७७

हिमालयन बैङ्कको स्वामित्व रहेको पाकिस्तानको हबिब बैङ्कले सो बैङ्कमा भएको संस्थापक सेयर बिक्री गर्न खोजेको छ । त्यसका लागि नेपाली लगानीकर्तासँग छलफलसमेत गरेको छ । सञ्चय कोष र  बेलायतको कमन वेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी ग्रुप) सँग हबिबले छलफल समेत गरेको छ ।

सीडीसीले डिसेम्बरपछि मात्र थप छलफल गरेर निर्णय लिने भने पनि हबिबले सञ्चयकोषलाई सेयर खरिदका लागि प्रस्ताव गरेको छ ।  सञ्चय कोषका प्रशासक तुलसी गौतमका अनुसार हबिबले नेपाली लगानीकर्तासँग छलफल गरेको छ । कोषले भने महामारी न्यूनीकरण भएपछि छलफल गर्ने भन्दै हबिबलाई फर्काएको छ । गौतम हिमालयन बैङ्कका अध्यक्ष पनि हुन् ।

हबिबको हिमालयन बैङ्कमा २० प्रतिशत सेयर स्वामित्व छ । सो २० प्रतिशत नै सेयर स्वामित्व खरिद गर्न सक्ने अवस्थामा कोष छैन । कोषको बैङ्कमा १५ प्रतिशत सेयर स्वामित्व छ । यसकारण उसले बढीमा १० प्रतिशतसम्म सेयर खरिद गर्न सक्छ ।

प्रशासक तुलसी गौतम भन्छन, ‘हबिबले लिखित प्रस्ताव पठाएको छैन । उनीहरुले बेच्न खोजिरहेका छन्, त्यसका लागि छलफल गरेको हो । हामीले सबै किन्न सक्दैनौँ किनभने २५ प्रतिशतसम्म सेयर किन्न पाउने भएकाले बढीमा १० प्रतिशतमात्र खरिद गर्न सक्छौँ । अरू मानिसहरुले किन्न सक्ने भए भने प्रस्ताव पठाउँला ।’ हबिबले हिमालयन बैङ्कसँगको ३० बर्षे सम्बन्ध अन्त्य गरेर आफ्नो लगानी फिर्ता लैजान चाहिररहेको छ ।

सञ्चय कोषका प्रशासक गौतम हिमालयनका अध्यक्ष पनि हुन् । बैङ्क मर्ज भएको अवस्थामा एकजना सञ्चालक पठाउनका लागि पनि कोषले थप सेयर खरिद गर्नुपर्ने हुन्छ । सेयर खरिदका लागि उसले सकारात्मक सङ्केत गरेको छ ।

हिमालयन बैङ्कको चुक्तापुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६सय रुपैयाँ छ । बैङ्कमा हबिबको १ करोड ८७ लाख ४४ हजार ५ सय ६३ कित्ता सेयर छ । हिमालयन शमशेर राणा र खेतान ग्रुपको पनि यस बैङ्कमा स्वामित्व छ । कोरोना महामारीका कारण हिमालयन बैङ्कको यस पटक नाफा ८ प्रतिशतले खुम्चिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को ब्यालेन्ससिट अनुसार यस बैङ्कले बाँड्न मिल्ने नाफा १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।  यस बैङ्कको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा छ भने  अहिले यस बैङ्कको सेयर मूल्य ५६६ रुपैयाँ  प्रतिकित्ता रहेको छ ।

हिमालयन बैङ्कको स्थापना नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणाको पहलमा भएको थियो । अहिले पनि हिमालय शमशेर बैङ्कको सञ्चालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन् । उनका छोरा अशोक राणा दुई दशकदेखि बैङ्कको प्रमुख कार्यकारी अधिकृत छन् ।

मर्जरको चर्चा

हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग मर्जरमा जाने चर्चा नौलो होइन । निवर्तमान गर्भनर डा. चिरञ्जीवी नेपालले ल्याएको मर्जर नीति र त्यसपछिको बिग मर्जर चर्चामा बिग बैङ्कहरु बीचको मर्जरलाई निकै चासोका साथ हेरियो ।

तर वाणिज्य बैङ्कहरु एकआपसमा गाभिन आनाकानी गरिरहेका छन् । यद्यपि ग्लोबल आईएमई र जनता बैङ्कहरु गाभिइसकेका छन् । तर पछि अन्य बैङ्कहरु गाभिन पहल सुरु गरेका छैनन् । पछिल्लो समय बिग मर्जको चर्चामा हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्क छन् । हिमालयन बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाण्डे हिमालयन शमशेर राणाका ज्वाइँसमेत हुन् । उनीहरु मर्जमा जाने हो भने एक आपसको उत्तम पार्टनर भएको दुवै बैङ्कले स्वीकारिसकेका छन् ।  हिमालयन बैङ्कका अध्यक्ष गौतम र इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे बीच पटक पटक मर्जरको विषयमा छलफलसमेत  भइसकेको छ ।  नेपाल इन्भेस्टमेन्ट बैङ्क र हिमालयन बैङ्क बीच प्राय साझा लगानीकर्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप