शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेशनल आईसीटी स्कलरसिप २०७७’ का लागि आवेदन खुल्यो, कसरी दिने आवेदन ?

मङ्गलबार, ३० भदौ २०७७, १७ : ५८
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत २८ वर्षदेखि कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत दुई बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रवृतिको ‘नेशनल आईसीटी स्कलरसिप २०७७’ को लागी आवेदन खुल्ला गरेको छ । 

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृद्धि प्रदान गर्दै आएको छ । यो छात्रवृति काठमाडौंको मैतीदेविमा रहि विगत दुई दशकदेखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा शुरु गरिएको बताउको छ । यो छात्रवृतिमार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृति प्रदान गर्ने क्यानले जनाएको छ ।

‘नेशनल आईसीटी स्कलरसिप २०७७’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृति र बांकी ४२ जनालाई आंसिक छात्रवृति प्रदान गर्ने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुर्याउनमा यस कार्यले टेवा पुर्याउँदै आएको छ । विगत २ वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तर्गत हालसम्म २८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।  

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई पूर्ण छात्रवृति प्रदान गरिनेछ । क्यान महासंघ र कलेज बीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९६ लाख ४२ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनका सम्बन्धनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि.एस.सी. आईटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारवाट मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन । छात्रवृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने छन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ । 

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेशन फाउण्डेसनको वेबसाइट www.lbef.org मार्फत २०२० सेप्टेम्बर २५ तारिखभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १२ उत्तिर्ण गरिसकेकाहरुले कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि तथा कक्षा १२ को परिक्षा नभैसकेकाहरुले, कक्षा  १२ मा अध्ययनरत रहेको प्रमाण का साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेस गर्नुपर्ने छ ।

यस छात्रवृतीमार्फत कोविड महामारी वाबजुत पनि विपन्न वर्गका विद्यार्थीहरुलाई आफ्नो करियर बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले व्यक्त गरे ।

यो छात्रवृत्तिका निम्ति क्यान महासंघसँगको सहकार्यले डिजिटल (डिभाईड कम गर्न मद्दत पुग्ने र भविस्यमा यस्तै कार्यमा सार्वजनिक) नीजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले वताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप