शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिनावारी सुकिसकेपछि पनि रक्तश्राव हुनु खतराको घण्टी हो ?

बुधबार, ३१ भदौ २०७७, ०८ : ०६
बुधबार, ३१ भदौ २०७७

एक नीजि अस्पतालमा काम गर्ने ५५ वर्षीया सरला (परिवर्तित नाम) को महिनावारी रोकिइसकेको थियो । तर पछिल्लो तीन वर्षदेखि उनको थुप्रै पटक रक्तश्राव भइसकेको थियो । छोरीको विवाहको तयारी थियो र घरमा आफ्नो व्यस्तता, अर्कोतिर अस्पतालको काम ।

यसबारे सहकर्मीसँग कुरा गर्दा सरलालाई डाक्टरलाई देखाउन सल्लाह दिइयो । सरलालाई पनि थाहा थियो कि उनले डाक्टरलाई देखाउनुपर्छ तर आफ्नो घरेलु र अस्पताको कामबीच उनको यो समस्या सबैभन्दा गौण थियो ।

तर जब उनको समस्या बढ्यो तब उनले डाक्टरलाई देखाउने निर्णय गरिन् । परीक्षणपश्चात् थाहा भयो कि सरलाको पाठेघरभित्र एन्डोमिट्रिएल क्यान्सर छ जुन असाध्यै बढिसकेको थियो । डाक्टरले सरलाको शल्यक्रिया गर्नुपर्यो ।

सरलाले यदि आफ्नो उपचार पहिले नै गराएको भए सायल उनलाई क्यान्सर बन्नुअघि वा पहिलो चरणमा नै यसबारे थाहा हुन्थ्यो ।

सरला पढेलेखेकी थिइन् र आफैं एक अस्पतालमा काम गर्थिन् तर महिलाहरु आफ्नो स्वास्थ्यको विषयमा लापरवाही हुन्छन् र आपसमा कुराकानी गरेर नै समस्याको समाधान निकाल्न खोज्छन् । यस्तै कतिपटक त महिलाहरु लाजका कारण यस्ता विषयमा कुरा गर्न हिच्किचाउँछन् र डाक्टरलाई खुलेर आफ्नो समस्या बताउन रुचाउँदैनन् ।

तर के महिनावारी रोकिएपनि रक्तश्राव हुनु सामान्य हो ? यो प्रश्नको जवाफ थाहा पाउनुअघि महिनावारी सुक्नु भनेको के हो, यसबारे थाहा पाऔं ।

स्त्रीरोग विशेषज्ञ डाक्टर एसएन बसु भन्छन्, ‘महिनावारी त्यतिबेला सुक्छ जब तपाईंको शरीरमा डिम्बाशयले काम गर्न बन्द गर्छ, पाठेघरको झिल्ली पातलो हुन्छ र रक्तश्राव बन्द हुन्छ । कुनै महिलाको महिनावारी रोकिए नरोकिएको थाहा पाउनका लागि रक्त परीक्षण (एफएचएस लेभल) गरिन्छ । यदि यसको लेभल ३० भन्दा माथि हुन्छ भने महिलाको महिनावारी सुकिसकेको हुन्छ ।’

महिनावारी सुक्यो भनेर कसरी मान्ने ?

संसारभरी महिलाको महिनावारी औसतमा ४९ देखि ५१ वर्षको उमेरमा सुक्ने गर्दछ ।

यद्यपि, डाक्टरका अनसार कुनै पनि महिलाको गर्भावस्था एकै किसिमको हुँदैन महिनावारी पनि सबैको एउटै हुँदैन । महिनावारी सुक्नु अघि केही महिलामा सामान्य महिनावारी हुन्छ र पछि एक्कासी बन्द हुन्छ । यस्तै केही महिलामा रक्तश्राव बिस्तारै बिस्तारै कम हुन थाल्छ । यस्तै केहीमा परियड्स साइकलमा परिवर्तन हुने गर्छ र त्यसको अन्तराल बढ्ने गर्छ ।

यो समयलाई पेरिमेनोपज भनिन्छ र यसको अवधि केही महिनादेखि तीन चार वर्षसम्म हुनसक्छ । यदि कुनै महिलाको अन्तिम महिनावारीपछि १२ महिनासम्म महिनावारी नभए महिलाको महिनावरी सुक्यो भनेर बुझ्नुपर्छ ।

तर महिनावारी रोकिएपछि पनि कुनै महिलामा रक्तश्राव हुन्छ भने त्यो असामान्य हो ।

क्यान्सरको आशंकाः

भारतकी स्त्री रोग विशेषज्ञ भावना चौधरीले महिनावारी रोकिएपछि पनि हुने रक्तश्रावको कारणबारे जानकारी दिएकी छिन् । उनका अनुसार उमेर बढेसँगै महिलाको यौनाङ्ग सुख्खा हुने, पाठेघरको मुख रसिलो हुने, औषधीको साइड इफेक्ट वा संक्रमण हुनसक्छ ।

महिनावारी सुकेपछि रक्तश्राव हुनुको कारण कहिलेकाँही सामान्य पनि हुनसक्छ तर कहिलेकाँही यो खतरनाक रोगको संकेत पनि हुन्छ सक्छ जसमध्ये क्यान्सर पनि एक हो ।

डा. एसएन बसु भन्छन्, ‘महिनावारी सुकेपछि हल्का दाग देखियोस्, अत्यधिक रक्तश्राव होस् वा कुनै पनि प्रकारको रक्तश्राव भए तपाईंले तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ । किनभने यस्तो मामिलामा १० प्रतिशत क्यान्सरको आशंका हुन्छ । यो क्यान्सर पाठेघर वा त्यसको मुखमा हुनसक्छ अथवा यौनाङ्गमा पनि हुनसक्छ ।’

यस्ता केही लक्षण देखिए डाक्टरले तुरुन्त परीक्षण गराउन सल्लाह दिन्छन् ।

डाक्टरका अनुसार महिला दुई–तीन पटक महिनावारी नहुँदा उनीहरुले महिनावारी रोकिएको ठान्छन् र उनीहरु गर्भनिरोधकको साधन वा सावधानी अपनाउन बन्द गर्छन् । जसका कारण महिलाहरु यस्तो उमेरमा गर्भवती हुने गर्छन् जब उनको परिवार पूरा भइसकेको हुन्छ ।

यस्तै, कोही श्रीमान्–श्रीमती यस्तो समस्यासहित आउँछन् जसमा गर्भपतन गराउन पनि मुश्किल हुने गर्छ तसर्थ उनीहरुका लागि स्थित िनिकै असहज हुने गर्छ ।

तसर्थ मेडिकल्ली पुष्टि नभइकनै महिलाको महिनावारी रोकिएको छ भने पनि कुनै पनि जोडीले सावधानी अपनाउनुपर्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप