बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मैले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउँछः माधव नेपाल

बुधबार, ३१ भदौ २०७७, १७ : ४६
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पारेका छन् । पार्टीभित्र सहमति भइसक्दा समेत असन्तुष्टि जनाएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझबढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताएका हुन् । बुधबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित र मौखिक रुपमा सुझावहरु दिएको उल्लेख गर्दै आफुले राखेका विषयहरुलाई पनि सुझावका रुपमा लिनुपर्ने बताए ।

आफुले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न सहयोग गर्ने बताए । अधिकतम उद्देश्यलाई पुरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफुले सहमतिलाई मजबुत बनाउन र अझ बढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको स्पस्ट पारे । 

यस्तै नेता नेपालले महाधिवेशन पछि बन्ने पार्टीका संरचनाहरु छरितो हुनुपर्ने बताएका छन् । उनले पार्टीका विभिन्न संगठन तथा कमिटीहरु छरितो भएमात्रै संगठन गतिशिल हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताए ।

उनले भने– ‘जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थालेहुन्छ । टाउको ठूलो भूडि ठूलो भयो भने त्यो मान्छे रोगि हो भनेर बुझ्नुभएहुन्छ । जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तो सुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतिको सामना गर्नसक्छ । पार्टीको हकमा पनि त्यही लागू हुन्छ । पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुपर्यो, जिउ सिलिम हुनुपर्यो, कमिटीहरु सिलिम हुनुपर्यो ।’ 

वरिष्ठ नेता नेपालले भदौ २५ गते स्थायी कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे । साथै आफुले लामो समयदेखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएको समेत बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप